Logo

Jun 29 2025 | २०८२, असार १५गते

Jun 29 2025 | २०८२, असार १५गते

images

राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रपति , प्रधानमन्त्री , मन्त्रीलगायतले शुभकामना व्यक्त

राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रपति , प्रधानमन्त्री , मन्त्रीलगायतले शुभकामना व्यक्त

  • काठमाडौँ । राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रपति , प्रधानमन्त्री , मन्त्रीलगायतले शुभकामना व्यक्त गरेका छन् ।राष्ट्रपति रामचन्द्र पौडेलले विकास गरी श्रम शक्ति तथा अन्य जनशक्तिलाई स्वदेशमै क्रियाशील गराइ आधुनिक कृषि प्रविधिको विकास तथा विस्तार गर्नुपर्ने खाँचो औल्याउनुभएको छ । राष्ट्रिय धान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले धानसँग सम्बन्धित खाद्य प्रविधिको विस्तार गर्न आग्रह गर्दै धान एवं चामल आयात बर्सेनि बढ्दै जानु चिन्ताको विषय हो भन्नुभयो । राष्ट्रपति पौडेलले जमिन बाँझो रहने अवस्थाको अन्त्य गरी श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुनेगरी हाम्रो प्रयासहरूलाई केन्द्रित गर्नुपर्ने खाँचो औँल्याउनुभयो । शुभकामनामा भनिएको छ, “धान बालीमा जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गर्दै धान एवं चामलको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन, खाद्य सुरक्षाको सुनिश्चितता र कृषि श्रमको सम्मान गर्ने संस्कृति बसाल्न आजको दिनले थप प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।” नेपालमा कृषिको महत्त्व बढाउँदै राष्ट्रिय खाद्य सुरक्षामा धानको भूमिकालाई महत्त्व दिनेगरी धानको उत्पादन वृद्धि गर्न तथा यसलाई आधुनिकीकरण र व्यवसायीकरण गरी किसानको मनोबल वृद्धि गर्ने उद्देश्यले २०६१ सालदेखि प्रत्येक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन सुरू गरिएको हो । यस वर्ष ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने आदर्श वाक्यका साथ राष्ट्रिय धान दिवस, २०८२ मनाइँदै छ । नेपालको संविधानले प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हकको व्यवस्था गरेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि धानखेतीको प्रवर्द्धन गर्नु आवश्यकता औँल्याउनुभएको छ । सन्देश भनिएको छ, “नेपाल कृषिप्रधान देश हो । यहाँका अधिकांश जनताको प्रमुख खाद्यान्न बाली धान हो । त्यसैले धानखेती नेपाली समाज र जीवनसँग अभिन्न भएर रहेको छ । यसले हाम्रो जीवनमा आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक एवं पर्यटकीय महत्त्व पनि राख्दछ ।” विश्वव्यापी जलवायु परिवर्तनले धानखेतीमा पारेको र पर्न सक्ने नकारात्मक असरलाई न्यूनीकरण गर्न सरकार, किसान र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाई धानको उत्पादन एवं उत्पादकत्व बढाउँदै धानबालीको विविधिकरण गर्नुपर्ने आजको आवश्यकता भएको उहाँको भनाइ छ । राष्ट्रपति पौडेलले नेपालमा धानखेतीका लागि पर्याप्त सिँचाइको व्यवस्था भइनसकेको सन्दर्भमा वर्षा राम्रो नभएको वर्ष धान उत्पादन घट्ने र वर्षा राम्रो हुँदा उत्पादन बढ्ने गरेको तथ्यहरूले देखाउने बताउँदै धानखेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्न राज्यको ध्यान केन्द्रित हुन जरुरी रहेको बताउनुभयो । “धान एवं चामल आयात बर्सेनि बढ्दै जानु चिन्ताको विषय हो । जमिन बाँझो रहने अवस्थाको अन्त्य गरी श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुनेगरी हाम्रो प्रयासलाई केन्द्रित गर्नुपर्ने खाँचो छ”, सन्देशमा भनिएको छ ।

    यसैगरी  प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानुपर्ने बताउनुभएको छ । राष्ट्रिय धान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “आज असार १५, हाम्रो उत्पादन र पसिनाको पर्व, धान दिवस, माटोमा जीवनको सुगन्ध, पानीमा पसिनाको पूजा र यसबाट धानका बाला झुलाउने सपना यो हाम्रो परम्परादेखि चल्दै आएको रोपाइँ संस्कृति हो, आज देश बाहिर भए पनि बाल्यकालदेखिका रोपाइँको सम्झना आइरहेको छ ।” प्रधानमन्त्री ओलीले सन्देशमा रोपाइँ र समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउनका लागि सरकारले कृषि आधुनिकीकरणको कार्यक्रम ल्याएको पनि उल्लेख गर्नुभएको छ । सन्देशमा भनिएको छ, “कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन बढाउँ, असार १५, दही चिउरा खाने दिन तथा धान दिवसको सबैलाई शुभकामना ।”

    यसैगरी   कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले धानबालीको प्रवर्द्धन गर्न मन्त्रालयले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ का अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उहाँले धान बालीको अनुसन्धान र विकास, सहुलियत दरमा गुणस्तरीय बीउबिजन तथा मलखादको व्यवस्था, प्रविधि विस्तार र किसानलाई प्राविधिक सहायता एवं ज्ञान उपलब्ध गराउने, न्यूनतम समर्थन मूल्यको कार्यान्वयन गर्नेजस्ता विषयहरू मन्त्रालयको प्राथमिकतामा रहेका उल्लेख गर्नुभएको छ । ‘धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता’ भन्ने मूल नाराका साथ आज देशभरि राष्ट्रिय धान दिवस मनाइँदै छ । मन्त्री अधिकारीले भन्नुभयो, “नेपाली समाजमा परापूर्वकालदेखि नै धानको सांस्कृतिक, आर्थिक र सामाजिक महत्व रहँदै आएको छ । वर्तमान परिवेशमा अधिकांश नेपालीको आधारभूत खाद्यान्न धान नै हो र नेपाली समाजमा यसलाई खाद्य सुरक्षाको मानक मानिएको छ । यसै महत्वलाई दृष्टिगत गरी बर्सेनि धानबालीको प्रवर्द्धनात्मक तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइरहेका छौँ ।” उहाँले धान नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गर्ने र कुल ग्राहस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिने बाली रहेको जनाउँदै कृषि विकास रणनीति, आवधिक योजना र अन्य नीतिहरूमा पनि धानमा आत्मनिर्भरताका लागि प्राथमिकता दिइएको छ भन्नुभएको छ । विज्ञप्तिमा भनिएको छ “त्यसकै आधारमा मन्त्रालयअन्तर्गतका निकाय तथा आयोजना एवं सङ्घीय सशर्त वित्तीय हस्तान्तरणमार्फत प्रदेश तथा स्थानीय तहहरूबाट धान प्रवर्द्धनका लागि विविध कार्यक्रम सञ्चालन भइरहेका छन् । धान बालीको अनुसन्धान र विकास, सहुलियत दरमा गुणस्तरीय बीउबिजन तथा मलखादको व्यवस्था, प्रविधि विस्तार र किसानलाई प्राविधिक सहायता एवं ज्ञान उपलब्ध गराउने, न्यूनतम समर्थन मूल्यको कार्यान्वयन गर्नेजस्ता विषयहरू मन्त्रालयको प्राथमिकतामा रहेका छन् ।” उत्पादन प्रविधिको विकास र अनुशरण तथा जलवायुमैत्री सिँचाइ प्रविधि विकासमा थुप्रै प्रयासहरू भएका छन् । तथापि बढ्दो जनसङ्ख्या, जलवायु परिवर्तनका असरहरू र खाने बानीमा आएको परिवर्तनका कारण विभिन्न प्रयासका बाबजुद धान तथा चामलको आयात गर्नुपरेको छ । संविधानतः कृषि उत्पादन व्यवस्थापनका लागि स्थानीय तह र प्रदेश सरकार बढी जिम्मेवार रहेको सन्दर्भमा खाद्य सुरक्षा र आत्मनिर्भरताको राष्ट्रिय लक्ष्य प्राप्तिको दिशामा तीनै तहका सरकारबीचको सहकार्य र समन्वय थप मजबुद हुनुपर्ने आवश्यकता देखिएको मन्त्री अधिकारीले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ “जलवायु परिवर्तनको प्रतिकूल असरलाई न्यूनीकरण गर्दै धानको उत्पादन तथा उत्पादकत्वलाई दिगो बनाउन र धान चामलमा आत्मनिर्भरता हाँसिल गर्न आजको दिनले सम्बन्धित सबैमा थप ऊर्जा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु । ‘धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता’ भन्ने नारालाई सार्थक तुल्याउन तीनै तहका सरकारी निकाय, गैरसरकारी सङ्घसंस्था, कृषि प्राविधिक, विकास साझेदार तथा विभिन्न सरोकारवाला निकायहरूलगायत सम्पूर्ण किसान दिदीबहिनी तथा दाजुभाइहरूमा आह्वान गर्दछु । ”

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij