काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज कात्तिक १८ मंगलबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू..
निर्वाचनमैत्री समाचार सामग्रीलाई प्राथमिकता दिन सरकारी सञ्चारमाध्यमलाई सञ्चारमन्त्री खरेलको आग्रह
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने गरी क्रियाशील रहेकाले यस कार्यमा सहयोग पुग्ने समाचार सामग्रीलाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ ।
आज सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा सरकारी स्वामित्वमा रहेका सञ्चारमाध्यमका सम्पादकीय नेतृत्वसँग छलफल गर्दै उहाँले यस कार्यमा सरकारी सञ्चारमाध्यम थप जिम्मेवार र जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो ।
अर्थमन्त्री खनालसँग लगानीकर्ता संघहरूको भेट : पुँजी बजार सुधारका माग अघि सारिए
काठमाडौं । पुँजी बजारमा देखिएका समस्या र सुधारका बुँदाहरूको शीघ्र कार्यान्वयनका विषयमा ध्यानाकर्षण गराउन मंगलबार पुँजी बजारसँग सम्बन्धित पाँच वटा संघ–संस्थाका प्रतिनिधिहरूले अर्थमन्त्री रामेश्वर प्रसाद खनालसँग भेट गरेका छन्। नेपाल शेयर धनी संघ, जनरल इन्भेस्टर एसोसिएसन, साधारण लगानीकर्ता संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र नेपाल शेयर बजार लगानीकर्ता संघका प्रतिनिधिहरूले मन्त्री खनाललाई भेट्दै पूँजी बजार सुधार सुझाव कार्यदलले दिएको प्रतिवेदनका सिफारिसहरू अझै पूर्ण रूपमा कार्यान्वयन नभएको र सम्बन्धित निकायहरूबीच समन्वयको अभाव रहेको भन्दै ज्ञापनपत्र बुझाएका हुन्।
भेटका क्रममा लगानीकर्ता संघका प्रतिनिधिहरूले बजारमा देखिएको अन्योल र लगानीकर्ताबीच फैलिएको भ्रम तत्काल अन्त्य गर्न सरकारसँग माग गरेका थिए। उनीहरूले दोहोरो आईजीन प्रणालीको कार्यान्वयनमा ढिलाइ, नेप्से र धितोपत्र बोर्डबीचको विवाद, संस्थापक सेयरको सामूहिक बिक्री प्रवृत्ति नियन्त्रण, तथा टीएमएस र सीडीएससी प्रणालीमा देखिएका प्राविधिक समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।
पुनर्निर्माण कोषमा नेशनल लाइफले एक करोड र एनएलजी इन्स्योरेन्सले २५ लाख सहयोग
काठमाडौँ ।गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रू एक करोड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड रू २५ लाख सहयोग गरेका छन् ।
आज नेशनल लाइफका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले नेपाल सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा रकम सहयोग प्रदान गर्नुभयो ।
कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री र सहमहामन्त्रीद्वारा महाधिवेशनका दुई फरक प्रस्ताव पेस
पाटन ।नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री र सहमहामन्त्रीद्वारा महाधिवेशनका दुई फरक प्रस्ताव पेस भएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी गराउनुभएको छ ।
“महाधिवेशन कार्यतालिका सहमति निर्माण हुन सकेन, महाधिवेशनका विषयमा पार्टीमा दुई खालका मतलाई एउटै हुनेगरी साझा धारणा हुन सकेको छैन, पुस १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने महामन्त्री गगन थापाको प्रस्ताव आएको छ, वैशाख २७ गतेदेखि ३० गतेसम्म गरौँ भन्ने सहमहामन्त्री महेन्द्र यादवको अर्को प्रस्ताव आएको छ, एउटै बनाउने प्रयास जारी छ, पुस १६ मा हुने भयो भने तीव्र तयारी आवश्यक छ,” सहमहामन्त्री पाण्डेले भन्नुभयो ।
जनार्दन शर्मा र राम कार्कीको नेतृत्वमा प्रगतिशील अभियान सुरुआत
ललितपुर । ‘विद्रोह जायज छ, विद्रोह अधिकार हो’ भन्ने नारासहित माओवादी केन्द्रका पूर्वमहासचिव जनार्दन शर्मा र पूर्वसचिव राम कार्कीले समाजवादी ऐक्यबद्धताको आह्वानसहित प्रगतिशील अभियानको सुरुआत भएको घोषणा गर्नुभएको छ ।
प्रगतिशील अभियानले नेपालमा दशकौँदेखि चल्दै आएका जनआन्दोलन, जनयुद्ध र जनविद्रोहका सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै, देशलाई नयाँ समाजवादी दिशातर्फ उन्मुख गराउन सबै प्रगतिशील शक्तिहरू एकजुट गराउने विश्वास व्यक्त गर्नुभएको छ ।
डेडिकेटेड र ट्रंकलाइन विद्युत महसुल विवाद समाधान गर्न तीन बुँदे सहमति
काठमाडौँ । डेडिकेटेड र ट्रंकलाइन विद्युत महसुल विवाद समाधान गर्न तीन बुँदे सहमति भएको छ ।लामो समयदेखि चल्दै आएको डेडिकेटेड र ट्रंकलाइन विद्युत महसुल विवाद तीन बुँदे सहमतिको आधारमा गरिएको नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले जनाएको हो ।महासंघले मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गरी सरकारसँग तीन बुँदे सहमतिमा हस्ताक्षर गरेको जनाएको छ ।
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनाका साथै यसलाई निःशुल्क गर्नेतर्फ नीतिगत पहलकदमी आवश्यक भएको बताउनुभएको छ । वैदेशिक रोजगार बोर्डको १८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले वैदेशिक रोजगारीलाई पारदर्शी, सम्मानजनक बनाउन अपरिहार्य भएको बताउनुभयो । साथै उहाँले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको परिवारमा सम्मानजनक एकीकरण तथा सामाजिक सुरक्षा सुनिश्चित गर्नेतर्फ अग्रसर हुन बोर्डलाई निर्देशन दिनुभयो । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं बोर्डको अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री कार्कीले वैदेशिक रोजगारीमा जानेहरूलाई सीप सिकाएर दक्ष बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले वैदेशिक रोजगारीबाट आर्जन भएको पुँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने नीति सरकारले अवलम्बन गरेको बताउनुभयो ।
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अनुमति नदिएर ६ दर्जन बढी कम्पनीको आईपीओ निष्काशन थन्किएर बसेको छ । आईपीओ निष्काशन अनुमति करिब दुई महिनादेखि ठप्प भएर ७५ कम्पनीको आईपीओ थन्किन पुगेको हो । धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि, २०७१ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ तत्काल खारेज गर्ने निर्णय विरुद्ध सेबोनका कर्मचारी आन्दोलनमा उत्रिएपछि निष्काशन गर्ने काम बन्द भएको हो ।
काठमाडौँ । आज सोमबारको नेप्से बजारमा समग्र गिरावट देखा परेको छ। नेप्से सूचक २७.६४ अंकले घट्दै १.०५ प्रतिशतले तल झरेको छ र अन्ततः २,५९५.२४ अंकमा बन्द भएको छ। आजको कारोबारमा कुल ५ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने करिब १ करोड ३ लाख कित्ता सेयर किनबेच भएका छन्। बजारमा जम्मा ३३ कम्पनीका सेयर मूल्य वृद्धि भएका छन् भने २१३ कम्पनीका सेयर घटेका छन् र ३ कम्पनीका सेयर स्थिर रहेका छन्।
काठमाडौँ । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले आईपीओ निष्कासनको प्रस्तावसहित साधारण सभा बोलाएको छ। कम्पनीले कात्तिक २४ गते गर्न लागेको वार्षिक साधारण सभाबाट यो प्रस्ताव पारित गराउन लागेको हो।
कम्पनीले साधारण सभामा वित्तीय विवरणमाथि छलफल तथा चुक्ता पुँजीको १९ प्रतिशतले हुन आउने ९ करोड ७८ लाख ५० हजार रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव पारित गर्दैछ।
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि ६ करोड २४ लाख रुपैयाँ सङ्कलन
काठमाडौ । गत भदौ २३ र २४ गते देशभर भएका जेन–जी प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र अतिक्रमणका कारण क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’मा हालसम्म रू छ करोड २४ लाख सङ्कलन भएको छ ।
मितेरी डेभलपमेन्ट बैंकको नाफामा उल्लेख्य वृद्धि, पहिलो त्रैमासमै २४२ प्रतिशतले बढ्यो मुनाफा
काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेड ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार बैंकको खुद नाफा उल्लेखनीय रूपमा वृद्धि भएको छ।
बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा २ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको ७३ लाख ६१ हजार रुपैयाँ नाफाको तुलनामा २४२.६६ प्रतिशत बढी हो। खुद ब्याज आम्दानीको उल्लेख्य वृद्धिले बैंकको नाफामा सकारात्मक प्रभाव पारेको छ।
यातायात र भान्छालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार लागिपरेको छः मन्त्री घिसिङ
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको बताउनुभएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २९औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री घिसिङले केही काम भएको र अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । उहाँले विद्युतीय गाडीको प्रयोग बढिरहेको र भन्सामा प्रयोग भइरहेको ग्यासलाई विस्थापित गरेर इन्डक्सन अथवा वैकल्पिक ऊर्जाको प्रवद्र्धनका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । मन्त्री घिसिङले अहिले चार्जिङ स्टेशनको सहजीकरणका लागि यसको नीति परिवर्तन गर्न लागिरहेको जानकारी दिनुभयो । सिँचाइको क्षेत्रमा सोलारको प्रयोगलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउन सकिन्छ भनेर कार्यायोजना बनाइरहेको जानकारी दिँदै उहाँले सरकारको नीति सोलारको प्रवद्र्धन रहेको स्पष्ट पार्नुभयो ।
मंगलबार सुनको मूल्य घटेर प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ कायम
काठमाडौंँ । मंगलबार सुनको मूल्य घटेर प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ कायम भएको छ । तोलामा १४ सय रुपैयाँ घटेर सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ कायम हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको भाउ प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ तोकेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij