
काठमाडौँ । माबिलुङ्ग इनर्जी लिमिटेको आइतबारदेखि आईपीओ खुला गरिएको छ । कम्पनीले असार २२ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको जनाएको हो ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको जनाएको हो।
कम्पनीले जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा ३ करोड ८५ लाख ८२ हजार ४०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ८५ हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको जनाएको हो। सो शेयर खरिदका लागि संखुवासभा जिल्लाको मादी नगरपालिका वडा नं. ७, ८, ९ र चैनपुर नगरपालिका वडा नं. २, ३, ७, ८, ९ मा स्थायी बसोबास गर्ने स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्ने जनाइएको छ ।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ५० लाख ४७ हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ५० हजार ४७१ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको जनाइएको हो।सो आईपीओमा न्यूनतम १० कित्ताका लागि र अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिने जनाइएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा साउन ४ गते हुने जनाइएको छ । ढिला गरी बन्द भए साउन १९ गते हुने जनाइएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ४ गतेभित्र आवेदन दिनु पर्नेछ।
इक्रा नेपालले आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी प्लस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत जनाउँछ ।कम्पनीले सञ्चालन गरेको ४.९५ मेगावाटको माथिल्लो पिलुवाखोला–३ जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब १३ करोड ६० लाख रुपैयाँ रहेको जनाएको छ । साथै प्रतिमेगावाट लागत २२ करोड ९५ लाख रुपैयाँ रहेको अनुमान छ । सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र ३१ वर्ष बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.४३ वर्ष रहेको छ । डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १७.०९ वर्ष रहेको जनाइएको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंक, चैनपुर, हिमालयन बैंक मादी नगरपालिका, लक्ष्मी सनराइज बैंक, खाँदबारी र आयोजनाको पावरहाउस रहेको संखुवासभा जिल्ला, मादि नगरपालिका वडा नं. ७ बाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्ने जनाइएको छ।वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सी आस्बा प्रणाली मार्फत आवेदन दिन सक्ने जनाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij