
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार २३ सोमबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
त्रिविको उपकुुलपतिमा तीन जनाको नाम सिफारिस
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले आज तीन जनाको नाम सिफारिस गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तको संयोजकत्वको सो समितिले प्रधानमन्त्री एवं कुलपति ओली समक्ष ती नाम सिफारिस गरेको हो । सिफारिस भएकाहरुमा वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्रा डा खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्रा डा विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुुख प्रा डा दीपक अर्याल रहनुुभएको छ ।
नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौँ ।प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्राकृतिक रूपमा सुन्दर, भौगोलिक रूपमा उर्बर, ज्ञान र संस्कृतिले सम्पन्न नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न आग्रह गर्नुभएको छ ।
पार्टीको केन्द्रीय पर्यटन तथा नागरिक उडड्यन विभागद्वारा आज यहाँ आयोजित ‘नेपालमा पर्यटनः अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा उहाँले नेपाल पर्यटन बोर्ड, पर्यटन विभागजस्ता संस्थाबाट परम्परागत शैलीमा नभई आधुनिक ९डिजिटल० शैलीमा नेपालका वैभव र रमणीय स्थलबारे आक्रामक प्रचार हुनुपर्नेमा जोड दिनुभयो ।
आगामी आवको मौद्रिक नीतिबारे योजना आयोग उपाध्यक्ष र राष्ट्र बैंकका गर्भनरबीच छलफल
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिबारे राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलबीच छलफल भएको छ ।
आज आयोगमा भएको छलफलका क्रममा बजेटसँग समन्वय हुनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारीबारे कुराकारी भएको उपाध्यक्ष अधिकारीको सचिवालयले जनाएको छ । यस्तै, राष्ट्रिय विकास समस्या समाधान समितिको ५४औँ बैठकमा लैजानुपर्ने एजेन्डाका विषयमा पनि छलफल भएको जनाइएको छ ।
प्रतिनिधिसभामा विभिन्न विधेयक टेबुल, राष्ट्रिय खेलकुद विकास विधेयक प्रस्तुत
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल भएको छ । बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले उक्त विधेयक टेबुल गर्नुभएको हो ।
यस्तै, सभाका सचिव राईले क्रमशः विनियोजन विधेयक, २०८२, आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनुभयो ।
त्यसअघि बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको बेहोरा पढेर सुनाउनुभएको थियो ।
करिब चार लाख ५० हजार अफगानी इरानबाट स्वदेश फिर्ता : आइओएम
काबुल ।इरानले आवाश्यक कागजात नभएका व्यक्तिहरूलाई जुलाई ६ सम्म देश छोड्न आदेश दिएपछि जुन महिनाको सुरुदेखि करिब चार लाख ५० हजार अफगानीहरू इरानबाट फर्केको संयुक्त राष्ट्रसङ्घको आप्रवासन एजेन्सी (आइओएम) ले सोमबार बताएको छ ।
गत मे महिनाको अन्त्यमा, इरानले जुलाई ६ सम्ममा कागजातविहीन अफगानहरूले देश छोड्नुपर्ने बताएको थियो ।
ट्रम्पको कर लगाउने धम्कीपछि चीनले भन्यो– ब्रिक्सले ‘टकराव’ खोजिरहेको छैन
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्ससँग जोडिएका देशहरूमा थप १० प्रतिशत कर लगाउने वाचा गर्नुभएपछि चीनले सोमबार ब्राजिल, रुस र भारत समेत समावेश भएको समूह ब्रिक्सले ‘टकराव’ नचाहेको बताएको छ ।
“कर लगाउने सन्दर्भमा, व्यापार र भन्सार शुल्क युद्धको कुनै विजेता हुँदैन र संरक्षणवादले अगाडि बढ्ने कुनै बाटो दिँदैन भनेर चीनले बारम्बार आफ्नो स्थिति स्पष्ट पारेको छ”, विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भन्नुभयो ।
ट्रम्पले व्यापारिक साझेदारहरूलाई सम्झौतामा पुग्नका लागि आफ्नो समयसीमा समाप्त हुनुभन्दा केही दिनअघि सोमबार विभिन्न देशहरूलाई पहिलो भन्सार शुल्क पत्र पठाउने बताउनुभएको छ ।
संघीय निजामती सेवा विधेयकमा त्रुटि : छानबिनका लागि संसदीय विशेष समिति गठन
काठमाडौँ ।सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको विषयमा अध्ययन तथा छानबिन गर्न संसदीय विशेष समिति गठन भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले समितिको घोषणा गर्नुभएको हो । प्रतिनिधिसभा नियमावलीबमोजिम संसदीय विशेष समितिको संयोजकमा नेपाली कांग्रेसका जीवन परियार, सदस्यहरूमा कांग्रेसका सुशीला थिङ, नेकपा (एमाले) का नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेकपा (माओवादी केन्द्र) का माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रोशन कार्की रहनुभएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ आवेदन अवधि घट्यो, अब न्यूनतम ४ दिनमै सकिने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आइपीओमा आवेदन दिने अवधि घटाएको छ। बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी नवौं संशोधन निर्देशिका, २०८२ लागू गर्दै अबदेखि न्यूनतम ४ दिनमै आवेदन अवधि सकिने व्यवस्था गरेको हो।
नयाँ संशोधनअनुसार, साउन १ गतेदेखि लागू हुने यो व्यवस्था अन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले ४ दिनभित्र आइपीओमा आवेदन दिनुपर्नेछ। यद्यपि, सो समयमा सबै सेयर बिक्री नभएमा आवेदन अवधि अधिकतम १५ दिनसम्म लम्ब्याउन सकिनेछ।
हिमालयन बैंकलाई एफपीओ निष्कासनको अनुमति, १ अर्ब ४५ करोड बराबरको सेयर बिक्री हुँदै
काठमाडौं । हिमालयन बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट एफपीओ निष्कासन गर्न अनुमति पाएको छ। बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले कुल ९२ लाख ५० हजार ४६९ कित्ता सेयर बिक्री गर्नेछ।
यो एफपीओबाट बैंकले करिब १ अर्ब ४५ करोड २३ लाख रुपैयाँ बराबरको पूँजी संकलन गर्ने लक्ष्य लिएको छ। एफपीओ निष्कासनको प्रमुख उद्देश्य संस्थापक र सर्वसाधारण सेयरधनीबीचको सेयर स्वामित्व अनुपात ७०:३० कायम गर्नु हो।
कामना सेवा विकास बैंकद्वारा ४०,३३० कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । कामना सेवा विकास बैंकले कुल ४० हजार ३३० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यो सेयरमा बैंकका वर्तमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्।
बैंकले जानकारी दिएको अनुसार, इच्छुक संस्थापक सेयरधनीहरूले आज (असार २३) गतेदेखि ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौं, ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।
भन्सार नियमावली संशोधन पछि आयात–निर्यात गर्ने कम्पनीहरूको एक्जिम कोड जमानत फुकुवा गरिने
काठमाडौँ । सरकारले भन्सार नियमावलीलाई १६औं पटक संशोधन गरेको छ । संशोधन गर्दै एक्जिम कोड प्रदान गर्दा भन्सार विभागको नाममा राख्दै आएको तीन लाख रुपैयाँ बराबरको जमानतसम्बन्धी व्यवस्थालाई सरकारले हटाएको हो । अब पैठारीकर्ताहरुले जमानत राखेको बैंक जमानत फुकुवा हुनेछ । भन्सार विभागले हालै वाणिज्य बैंकहरुलाई एक पत्र लेखेर बैंक तथा शाखाहरुमा विभिन्न पैठारीकर्ताहरुले निकासी पैठारी संकेत नम्बर (एक्जिम कोर्ड) लिनका लागि राखेको ३ लाख रुपैयाँ बराबारको बैंक जमानत फुकुवा गरिदिन भनेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक्जिम कोड लिँदा राख्नुपर्ने धरौटी हटाउने घोषणा बजेटमार्फत गरेका थिए । त्यसैगरी भन्सार विभागले लेखेको पत्र कार्यान्वयनका लागि सहजीकरण गर्न भन्दै राष्ट्र बैंकसम्म पुगेको छ ।
शेयर बजार : नेप्से परिसूचकमा २१.६० अंकले घटेर २६८४.७६ बिन्दुमा, ८ अर्ब ३७ करोडभन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा २१.६० अंकले घटेर २६८४.७६ बिन्दुमा आएको छ । आज ८ अर्ब ३७ करोडभन्दा बढीको कारोबार आएको छ ।
यस दिन ३११ कम्पनीको १ करोड ९४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८० करोड ७० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल रिइन्सुरेन्स कम्पनी अग्रस्थानमा परेको छ ।आज दोस्रो र तेस्रो स्थानमा क्रमशः गार्डियन माइक्रो लाइफ र एनआरएन इन्फ्रास्ट्रक्चर रहेका छन् ।
साउनमा पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिजस्तै भीड व्यवस्थापन, पत्रकारका लागि मिडिया सेन्टर स्थापना हुने
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी गरेको छ ।
साउनमा पशुपति क्षेत्रमा भक्तजनको धेरै भीड लाग्ने गर्छ । साउन महिनाको पनि सोमबार र शनिबार धेरै भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शन एवं पूजाआराधनाका लागि आउने गर्छन् । यस महिनामा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्यलाई पनि अनुगमनमा खटाउने गरी तयारी गर्न लागिएको निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिनुभयो ।
आन्दोलनको क्रममा काठमाडौंको न्यूरोडमा सुनचाँदी व्यवसायीहरुद्वारा प्रदर्शन
काठमाडौँ । आन्दोलनको क्रममा काठमाडौंको न्यूरोडमा सुनचाँदी व्यवसायीहरुले प्रदर्शन गरेका छन् । सरकारले आर्थिक वर्ष २०८२/८३ देखि सुनचाँदीमा लगाएको कर खारेज हुनुपर्ने लगायतका माग राख्दै सुन चाँदी व्यवसायीहरुले प्लेकार्डसहित एक घण्टा प्रदर्शन गरेका हुन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त रुपमा घोषणा गरे अनुसार आन्दोलनको कार्यक्रम अन्तर्गत उक्त प्रदर्शन गरेका हुन् । आन्दोलनको पूर्वनिर्धारित तालिका अनुसार उनीहरुले आज असार २३ गते पनि एक घण्टा प्रदर्शन गरेका हुन् ।
सहारा नेपाल सहकारीको ‘जीवन बरदान’ कार्यक्रमद्वारा ४२ करोड बराबरको उपचार सेवा, १७ हजारभन्दा बढी सदस्य लाभान्वित
झापा । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले स्वास्थ्य बिमा कार्यक्रम जस्तै नयाँ अवधारणाबाट सदस्यहरुको उपचारमा सहयोग पुर्याउँदै आएको छ ।
सदस्य बिरामी हुँदा उपचारमा कठिनाइ नहोस् भन्ने उद्देश्यले संस्थाले विसं २०७२ मा ‘जीवन बरदान’ कार्यक्रम लागू गरेको थियो । सहकारीका सदस्यले वार्षिक रु तीन हजार ४७५ बुझाएपछि ‘जीवन बरदान’ कार्यक्रमको सदस्य बन्न पाउँछन् ।
त्यसरी सदस्य बनेकाहरुले बिरामी हुँदा संस्थाले तोकेका अस्पतालबाट वर्षमा एकपटक लाखौँ रकम बराबरको उपचार सेवा लिन पाउँछन् । रोगको अवस्था हेरी कतिपय सदस्यले रु १० लाखसम्मको उपचार पाउने गरेको संस्थाले जनाएको छ ।
दोर्दी खोला जलविद्युत लिमिटेडको सेयर लिलामी असार २४ देखि, न्यूनतम मूल्य १०० रुपैयाँ
काठमाडौं । दोर्दी खोला जलविद्युत लिमिटेडले यही असार २४ गते (मंगलबार)देखि ९३,६२९ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याउने भएको छ। कम्पनीले सर्वसाधारण समूहमा लक-इनमा नरहेका सेयरहरू प्रतिस्पर्धात्मक बोलकबोल प्रक्रियामार्फत लिलामी गर्न लागेको हो।
लिलामीमा सहभागी हुन चाहने लगानीकर्ताले न्यूनतम मूल्य १०० रुपैयाँ तोकी बोलपत्र पेश गर्नुपर्नेछ। इच्छुक व्यक्ति, कम्पनी, संघ वा संस्थाहरूले गोप्य शिलबन्दी आवेदन यही असार ३२ गतेसम्म दिन सक्नेछन्।
अभियान लघुवित्तको १५ लाखभन्दा बढी सेयरको ‘लक-इन’ अवधि साउन २९ मा समाप्त, भदौ १ देखि कारोबार योग्य
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको कुल १५,३७,५०० कित्ता सेयरको ‘लक इन’ अवधि आगामी साउन २९ गते सकिने भएको छ। यस अवधिको अन्त्यसँगै, संस्थापक सेयरधनी र कर्मचारीहरूले होल्ड गरेका सेयर भदौ १ गतेदेखि सेयर बजारमा कारोबारका लागि योग्य हुनेछन्।
हाल संस्थाका १५ लाख २५ हजार कित्ता सेयर संस्थापक सेयरधनीको स्वामित्वमा रहेका छन् भने १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुको नाममा रहेको छ। यी सबै सेयरहरू हालसम्म ‘लक इन’ अवस्थामा रहेकोले कारोबार गर्न मिल्दैनथ्यो।
गर्जाङ उपत्यका हाइड्रोपावरले ल्याउँदै १० लाख कित्ता आइपीओ, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त
काठमाडौं । गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ। यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ। सम्झौतामा गर्जाङ हाइड्रोपावरका अध्यक्ष अरुणकुमार सुवेदी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।
कम्पनीले कुल ५० करोड रुपैयाँको जारी पूँजीमध्ये २० प्रतिशत, अर्थात् १० करोड रुपैयाँ बराबरका १० लाख कित्ता साधारण सेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी गरेको हो। उक्त सेयर प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा निष्कासन गरिनेछ।
आज देशभर आंशिकदेखि सामान्य बदली, पश्चिमी पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौं । देशभर हाल मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। साथै, भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा विकसित भएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा पनि देखिएको महाशाखाले जनाएको छ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको हुँदा देशका अधिकांश भागहरूमा बदली भएको छ। विशेष गरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामान्य बदली तथा बाँकी क्षेत्रमा आंशिक बदलीको अवस्था छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा, र कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij