Logo

Jul 10 2025 | २०८२, असार २६गते

Jul 10 2025 | २०८२, असार २६गते

images

आषाढ शुक्ल पूर्णिमाः  गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमाः  गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

  • काठमाडौँ ।आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।

    ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । 

    यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ–

    गुरुर्ब्रह्मा  गुरुर्विष्णु  गुरुर्देवो  महेश्वर ः। 

    गुरु ः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम ः ।।

    माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।

    गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवम् सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् । 

    व्यास जयन्ती

    आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।

    व्यासले पुराण र उपपुराणका माध्यमबाट यस्तो सन्देश दिन खोज्नुभएको छ–

    ‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् । 

    परोपकार पुण्याय, पापाय परपीडनम्  ।।

      अर्थात् अरूको उपकार गरे धर्म हुन्छ, अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिनुभएको छ । पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गर्नुभएको हो । यस अवसरमा आज देशभरका विभिन्न गुरुकुल, शिक्षालय एवं सङ्घ संस्थाले पनि गुरु पूर्णिमा पर्व मनाउने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij