
काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारले प्रस्तुत गरेको नयाँ कर व्यवस्थाविरुद्ध जारी आन्दोलन करिब एक महिना पछि ६ बुँदे सहमति गर्दै स्थगित गरेको छ। बिहीबार अर्थ मन्त्रालयमा भएको वार्तापछि महासंघले शुक्रबार (असार २८) देखि देशभरका सुनचाँदी पसलहरू नियमित रूपमा सञ्चालनमा आउने जानकारी दिएको छ।व्यवसायीहरू आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुनको कारोबारमा २ प्रतिशत विलासिता कर र हीरा जडित गहना तथा आभूषणमा १३ प्रतिशत भ्याट लगाउने प्रावधानको विरोधमा आन्दोलनरत थिए। उनीहरूले यो कर संरचनाले उपभोक्ता र व्यवसायी दुवैलाई असर पार्ने भन्दै भ्याट फिर्ता गर्न माग गरेका थिए।
सहमति पत्रमा अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, नेपाल राष्ट्र बैंक, र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।वार्तामा पूर्वमन्त्रीहरू छबिलाल विश्वकर्मा र मीनबहादुर विश्वकर्मा समेत सहभागी थिए। महासंघका द्वितीय उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले विरोधका सम्पूर्ण कार्यक्रमहरू स्थगित भएको जानकारी दिँदै शुक्रबारदेखि सुनचाँदी व्यवसाय पुनः सञ्चालनमा आउने बताएका छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij