
काठमाडौं । आठ दिनपछि नेपाली बजारमा सुन र चाँदीको मूल्य पुनः सार्वजनिक गरिएको छ। सुनचाँदी व्यवसायीहरूको आन्दोलनका कारण असार १९ गतेदेखि सुनको दैनिक मूल्य निर्धारण रोकिएको थियो। बिहीबार सरकारले व्यवसायीहरूसँग गरेको ६ बुँदे सहमतिपछि शुक्रबारदेखि मूल्य पुनः सार्वजनिक गरिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार २७ गते, शुक्रबार छापावाल सुनको मूल्य प्रति तोला १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो मूल्य (असार १९ गते) भन्दा ३०० रुपैयाँले घटेको हो। यता चाँदीको मूल्यमा भने वृद्धि भएको छ। चाँदी प्रति तोला २ हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो मूल्यभन्दा ५० रुपैयाँले बढी हो।
व्यवसायीहरूको आन्दोलनको कारण मूल्य सार्वजनिकमा आठ दिनको अवरोध आएको थियो। आन्दोलनको पृष्ठभूमिमा सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट रहेको थियो, जसमा सुनको कारोबारमा २ प्रतिशत विलासिता कर र हिराजडित गहनामा १३ प्रतिशत भ्याट लागु गरिएको थियो। यसले उपभोक्ता र व्यवसायी दुवैलाई असर पार्ने भन्दै व्यवसायीहरूले कर फिर्ताको मागसहित आन्दोलन थालेका थिए।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij