Logo

Sep 11 2025 | २०८२, भदौ २६गते

Sep 11 2025 | २०८२, भदौ २६गते

images

नेपाल राष्ट्र बैंकको लचिलो मौद्रिक नीति सार्वजनिक, शेयर बजार र सम्पत्ति क्षेत्रमा सकारात्मक सन्देश

नेपाल राष्ट्र बैंकको लचिलो मौद्रिक नीति सार्वजनिक, शेयर बजार र सम्पत्ति क्षेत्रमा सकारात्मक सन्देश

  • काठमाडौं।नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र सन्तुलित मौद्रिक नीति सार्वजनिक गरेको छ। हालको सुस्त अर्थतन्त्रलाई गति दिन तथा लगानी वातावरण सहज बनाउन नीति ल्याइएको राष्ट्र बैंकले जनाएको छ। नीति सार्वजनिक भएपछि शेयर बजार, घरजग्गा क्षेत्र र समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

    यस पटकको मौद्रिक नीतिमा व्यक्तिगत मार्जिन कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड पुर्याइएको छ। यो व्यवस्थाले शेयर बजारमा तरलता थप्ने विश्वास गरिएको छ। यस्तै, व्यक्तिगत आवास कर्जाको सीमा पनि २ करोडबाट ३ करोड पुर्याइएको छ, जसले घरजग्गा कारोबारमा सक्रियता ल्याउने अनुमान गरिएको छ।

    नीतिगत रुपमा पनि दरहरूमा उल्लेखनीय कटौती गरिएको छ।

    • बैंक दर ०.५ प्रतिशत बिन्दुले घटाएर ६ प्रतिशत बनाइएको छ।

    • नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत पुर्याइएको छ।

    • स्थायी निक्षेप संकलन दर ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत बनाइएको छ।

    राष्ट्र बैंकले निजी क्षेत्रमा कर्जा प्रवाह १२ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ। साथै, लघुवित्त संस्थाहरूले वितरण गर्ने १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) सम्बन्धी व्यवस्थालाई पनि पुनरावलोकन गरिने भएको छ।

    शेयर बजारका लगानीकर्ताले यस पटकको नीति सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्।
    नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्, “शेयर धितो कर्जाको सीमा बढाउनु सकारात्मक छ। अबका दिनमा यो सीमा पूर्णरूपमा हट्ने विश्वास छ।”

    शेयर लगानीकर्ता संघका अध्यक्ष तारा फुल्लेल ले पनि नीति स्वागतयोग्य रहेको बताउँदै बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा लगानी गर्न सहज बनाउने माग अझै बाँकी रहेको बताए।

    नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे का अनुसार, मौद्रिक नीति समग्रमा बजार अनुकूल छ। तरलता व्यवस्थापन, घरजग्गा कर्जा विस्तार र कर्जा प्रवाह वृद्धिको व्यवस्था आर्थिक गतिविधि चलायमान बनाउन मद्दत पुग्नेछ।

    सरोकारवालाहरूको प्रतिक्रिया अनुसार, अब शेयर बजारमा आशावादी लहर थपिने विश्वास गरिएको छ। तथापि, उनीहरूले लगानी गर्दा सुझबुझपूर्ण निर्णय लिनु पर्ने सुझाव पनि दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij