
काठमाडौँ ।नेपाल एसबिआई बैंक लिमिटेडले आज (असार ३० गते) देखि नयाँ ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ। बैंकले ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ नामक १० वर्षे अवधिको ऋणपत्र वार्षिक ७ प्रतिशत ब्याजदरमा जारी गर्न लागेको हो।
बैंकले प्रतिऋणपत्र १,००० अंकित मूल्यमा कुल ३० लाख कित्ता ऋणपत्र अर्थात् ३ अर्ब रुपैयाँ बराबरको निष्काशन गर्नेछ। यसमध्ये ६० प्रतिशत (१ अर्ब ८० करोड रुपैयाँ बराबर) व्यक्तिगत लगानीकर्तालाई बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत (१ अर्ब २० करोड रुपैयाँ बराबर) सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणमा बाँडफाँट हुने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि आरक्षित गरिएको छ।
ऋणपत्रमा न्यूनतम आवेदन २५ कित्ताका लागि दिनुपर्नेछ भने इच्छुक लगानीकर्ताले अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन गर्न सक्नेछन्। आवेदन प्रक्रिया चाँडोमा साउन १ गतेबाट सुरु भएर ढिलोमा साउन १२ गतेसम्म खुला रहनेछ।
नेपाल एसबिआई बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको भूमिका नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले सम्हाल्नेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा प्रणाली अन्तर्गत सहभागी बैंक तथा वित्तीय संस्थाहरु, तिनका शाखा कार्यालयहरु वा ‘मेरो शेयर’ सफ्टवेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
ऋणपत्रको क्रेडिट रेटिङ्ग इक्रा नेपालले डबल ए प्रदान गरेको छ, जसले बैंकले वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमता उच्च सुरक्षित रहेको संकेत गर्दछ। ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम र दोस्रो अर्धवार्षिक अवधि समाप्त भएपछि कर कट्टा गरी भुक्तानी गरिने व्यवस्था छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij