
काठमाडौँ । भाटभटेनी व्यावसायिक समूहद्वारा साढे नौ करोडको लागतमा त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) महराजगञ्जमा निर्माण गरिएको भवन शिक्षण अस्ताललाई हस्तान्तरण गरिएको छ ।सोमबार त्रिवि शिक्षण अस्पतालमा ४३औँ वार्षिकोत्वसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा अस्पताल भवन हस्तान्तरण गरिएको हो ।
भाट भटेनी सुपरमार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले अस्पताललाई भवन हस्तान्तरण गरे । ईएचएस भवन हस्तान्तरण गर्दै अध्यक्ष गुरुङले भाटभटेनी समूहले स्व.पिता वृषबहादुर गुरुङ र स्व. माता धनमाया गुरुङको स्मृतिमा भवन निर्माण गरी अस्पताललाई हस्तान्तरण गरेको जनाए । समृद्ध नेपाल र सुखी नेपाली बनाउन भाटभटेनीको तर्फबाट अग्रपंक्तिमा रहेर देश र जनताको सेवा गर्न आफू तयार रहेको वाचा गरे ।
प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताललाई हस्तान्तरण गरिएको भवनमा विस्तार गरिएको सेवा भवनको उद्घाटन गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल सरकारले ‘निरोगी नेपाल’को नाराका साथ काम गरेकाले सकभर बिरामी नहुने गरी आहार, बिहार र आराममा ध्यान दिने र बिरामी भइहालेमा गुणस्तरीय र सुलभ रूपमा सेवा दिनुपर्ने बताए । उनले दुःख गरेर धन कमाएर सामाजिक काममा दान गर्ने भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ र सावित्री गुरुङको उच्च प्रशंसा गरे ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij