Logo

Jul 19 2025 | २०८२, साउन ३गते

Jul 19 2025 | २०८२, साउन ३गते

images

काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा आज, १६ हजारभन्दा बढी विद्यार्थीको सहभागिता

काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा आज, १६ हजारभन्दा बढी विद्यार्थीको सहभागिता

  • काठमाडौं।काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा छात्रवृत्तिका लागि प्रवेश परीक्षा आज शनिबार सञ्चालन गरिरहेको छ। परीक्षा बिहान ८ बजेदेखि १० बजेसम्म विभिन्न केन्द्रहरूमा सञ्चालन भइरहेको महानगरपालिकाले जनाएको छ।

    यस वर्ष छात्रवृत्तिका लागि १६ हजार १३७ जना विद्यार्थी परीक्षा दिनका लागि छनोट भएका छन्। गत वर्षको तुलनामा यसपालि आवेदन दिने विद्यार्थीको संख्या करिब ३० प्रतिशतले वृद्धि भएको छ। गत वर्ष १२ हजार विद्यार्थीले आवेदन दिएका थिए भने ३ हजार ८०१ जनाले छात्रवृत्ति प्राप्त गरेका थिए।

    छात्रवृत्ति प्राप्त गर्न इच्छुक विद्यार्थीका लागि असार १८ गते आवेदन खुला गरिएको थियो, जसमा १७ हजार ९२९ जनाले आवेदन दिएका थिए। तर, नागरिकता, जन्मदर्ता, विद्यालयको प्रमाणपत्र, स्थायी बसोबासको प्रमाणलगायत आवश्यक कागजात नपुगेका कारण १ हजार ९२ जना आवेदन अस्वीकृत गरिएको महानगरले जनाएको छ।

    महानगरको शिक्षा विभागका अनुसार परीक्षा दिने छात्रहरूको संकाय अनुसार विवरण यस्तो छ:

    • विज्ञान संकाय: ११,५९० विद्यार्थी

    • व्यवस्थापन संकाय: ४,१६४ विद्यार्थी

    • मानविकी संकाय: ३२ विद्यार्थी

    • शिक्षा संकाय: ९५ विद्यार्थी

    • कानुन संकाय: २५६ विद्यार्थी

    परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित रही १०० पूर्णाङ्कको बहुवैकल्पिक (MCQ) प्रश्नमा आधारित हुनेछ। अनिवार्य गणित, विज्ञान र अंग्रेजी विषयबाट ३०-३० प्रश्न तथा सामान्य ज्ञानबाट १० प्रश्न सोधिनेछ। परीक्षा पास गर्न न्यूनतम ४० प्रतिशत अंक अनिवार्य रहेको महानगरले जनाएको छ।

    महानगरपालिकाले परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन विशेष तयारी गरेको छ। केन्द्राध्यक्षहरूलाई अभिमुखिकरण प्रदान गरिएको छ र परीक्षा केन्द्रहरूमा सुरक्षा, सिट योजना, प्रश्नपत्रको गोप्यता र परीक्षार्थी परिचय प्रमाणीकरणका लागि कडा व्यवस्था गरिएको छ।

    छात्रवृत्ति परीक्षामा विद्यार्थीले पालना गर्नुपर्ने प्रमुख नियमहरू:

    • प्रवेशपत्र अनिवार्य ल्याउनुपर्नेछ।

    • परीक्षा सुरु हुनु एक घण्टा अगावै उपस्थित हुनुपर्नेछ।

    • परीक्षा सुरु भएको १५ मिनेटपछि प्रवेश निषेध।

    • मोबाइल, स्मार्ट वाच, क्यालकुलेटर, टिपेक्स, चिट, पर्स, इलेक्ट्रोनिक उपकरण लैजान नपाइने।

    • कालो जेल पेन अनिवार्य।

    • OMR sheet मा उत्तर बबल भर्नुपर्ने र सही set उल्लेख गर्नुपर्ने।

    • नक्कली परीक्षार्थी खडा गरेमा वा संकेत गरेमा परीक्षा रद्द र कानुनी कारबाही हुने।

    • उत्तरपुस्तिका तोकिएको स्थानबाहेक अन्यत्र लेखेमा परीक्षा रद्द हुनेछ।

    महानगरपालिकाले छात्रवृत्तिका लागि परीक्षा मेरिट आधारमा मूल्याङ्कन गरी नतिजा प्रकाशित गर्नेछ। छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरूलाई आफैँले रोजेको संस्थागत विद्यालयमा निःशुल्क अध्ययनको अवसर दिइनेछ।

    महानगरले यसपटक कम्तीमा ३ हजार ५ सय विद्यार्थीलाई छात्रवृत्ति दिन सकिने अनुमान गरेको छ। छात्रवृत्ति संख्याको निर्धारण विद्यार्थीको योग्यता र विद्यालयमा उपलब्ध सिट संख्याको आधारमा हुनेछ।

    महानगरको यो कार्यक्रमले आर्थिक रूपमा कमजोर तर शैक्षिक रूपमा मेधावी विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्राप्त गर्न सघाउने लक्ष्य लिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij