Logo

Jul 22 2025 | २०८२, साउन ६गते

Jul 22 2025 | २०८२, साउन ६गते

images

बङ्गलादेशद्वारा गहुँ आयातको लागि अमेरिकासँग सम्झौता

बङ्गलादेशद्वारा गहुँ आयातको लागि अमेरिकासँग सम्झौता

  • ढाका ।आगामी पाँच वर्षका लागि प्रतिस्पर्धी मूल्यमा अमेरिकाबाट वार्षिक सात लाख टन उच्च गुणस्तरको गहुँ आयात गर्न बङ्गलादेश र अमेरिकाबिच सम्झौता भएको छ ।

    जुलाईको अन्तिम हप्तामा बङ्गलादेश र अमेरिकाबिच तेस्रो चरणको शुल्क वार्ता अघि यो सम्झौतामा हस्ताक्षर भएको हो । अमेरिकाले शुल्क सम्झौतामा हस्ताक्षर गर्न निश्चित सुरक्षा सहयोग बढाउनका लागि शर्तहरू लगाएपछि दोस्रो चरणको वार्ता निर्णयविहिन भएको छ । 

    यसैबिच अमेरिकाले बङ्गलादेशसँग संयुक्त सैन्य अभ्यास जारी राख्ने घोषणा गरिसकेको छ ।

    गहुँ आयात गर्ने सहमति पत्रमा बङ्गलादेश सरकारको तर्फबाट खाद्य विभागका महानिर्देशक मोहम्मद अबुल हसनत हुमायूँ कबीर र संयुक्त राज्य अमेरिकाको तर्फबाट युएस गहुँ सङ्घका उपाध्यक्ष जोसेफ के सोवरले बङ्गलादेशका खाद्य सल्लाहकार अली इमाम मजूमदारको उपस्थितिमा हस्ताक्षर गर्नुभएको थियो । 

    हस्ताक्षर कार्यक्रममा बोल्दै खाद्य सल्लाहकार अली इमाम मजूमदारले एमओयूले बङ्गलादेश र संयुक्त राज्य अमेरिकाबिच आपसी व्यापार सहयोगको थप क्षेत्रहरू सिर्जना गर्न र अवसरहरू सिर्जना गरी दुवै देशका जनता लाभान्वित हुने बताउनुभएको छ ।  

    देशको समग्र खाद्य सुरक्षा, पोषण गुणस्तर र खाद्य आपूर्ति सुनिश्चित गर्न बङ्गलादेश र संयुक्त राज्य अमेरिकाबिच सम्झौता गरिएको बङ्गलादेशको अन्तरिम सरकारले  विज्ञप्ति मार्फत जनाएको छ । 

    यसअघि जुलाई ९ को समय सीमाभन्दा दुई दिन अगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बङ्गलादेशलाई ३५ प्रतिशत कर लगाउने पत्र जारी गर्दै यो शुल्क अगस्ट १ देखि लागु हुने बताउनुभएको थियो ।  

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij