Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

७८ लाख घुस प्रकरणमा रञ्जिता श्रेष्ठ पार्टी जिम्मेवारीबाट अलग

७८ लाख घुस प्रकरणमा रञ्जिता श्रेष्ठ पार्टी जिम्मेवारीबाट अलग

  •  

    कास्की । कास्कीको भूमि आयोग अध्यक्ष र मालपोत कार्यालय प्रमुखको सरुवामा ७८ लाख रुपैयाँ घुस लिएको अडियो प्रकरणमा जोडिएकी नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पार्टी जिम्मेवारीबाट आफूलाई अलग गर्ने घोषणा गरेकी छन्। उनले वरिष्ठ नेता शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी छिन्।

    श्रेष्ठले स्वास्थ्य असजिलो भएको जनाउँदै पार्टी गतिविधिमा सक्रिय रहन नसक्ने कारण देखाउँदै कार्यवाहक नियुक्ति गरेको बताइन्। तर, अडियो काण्डपछि पार्टीभित्र उनको चर्को आलोचना भइरहेकाले उनी दबाबमा परेको बुझिएको छ। पार्टी नेताहरुले श्रेष्ठलाई २४ घण्टे अल्टिमेटम दिँदै केन्द्रीय समिति बैठक बोलाउन माग गरेका थिए। बैठक नभए थप निर्णय लिने चेतावनीपछि श्रेष्ठले विधानअनुसार बास्तोलालाई जिम्मेवारी सुम्पिएको जनाएकी छन्।

    पत्रमार्फत श्रेष्ठले भनेकी छन्, “स्वास्थ्य अवस्था असहज रहेकोले पार्टीको दैनिक कामकाजमा संलग्न हुन असमर्थ छु। विधान २०७८ को धारा २० को उपधारा ९९० अनुसार बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी हुँ। मेरो स्वास्थ्यमा सुधार नभएसम्म वा अर्को व्यवस्था नभएसम्म उक्त जिम्मेवारी यथावत् रहनेछ।”

    तर श्रेष्ठको निर्णय एकलौटी भएको भन्दै पार्टीभित्र असन्तुष्टि देखिएको छ। केही नेताहरूले उक्त निर्णय अमान्य भएको बताएका छन्। संस्थापक नेता रेशम चौधरी भने पार्टीभित्र चर्किएको विवादबारे हालसम्म मौन छन्।

    यसबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री समेत रहेकी श्रेष्ठसँग बयान लिइसकेको छ। अडियो परीक्षणसमेत गरिएको छ। सोही प्रकरणमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिइसकेका छन् भने बिचौलिया भनिएका सुजन लामाको पनि बयान र भ्वाइस टेस्ट भइसकेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij