
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ सूचनामार्फत सार्वजनिक स्थलहरूमा वाईफाई हटस्पट सेवा सञ्चालनसम्बन्धी कडाइ गरेको छ। अबदेखि आधारभूत दूरसञ्चार सेवा, मोबाइल टेलिफोन सेवा वा टेलिफोन सेवाको अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरूलाई मात्र यस्ता हटस्पट सेवा दिन पाइनेछ। यस निर्णयसँगै, इन्टरनेट सेवा प्रदायक कम्पनीहरू—जसले यस्तो अनुमति लिएका छैनन्—ले सार्वजनिक स्थलहरूमा २४ सै घण्टा निःशुल्क वाईफाई हटस्पट सेवा दिन नपाउने भएका छन्। यिनीहरूले अब निश्चित स्थान तथा समयसीमामा मात्र हटस्पट सञ्चालन गर्न पाउनेछन्।
प्राधिकरणको फ्रिक्वेन्सी, सेवा गुणस्तर तथा सेवा प्रवाह अनुगमन शाखाले जारी गरेको सूचनामा “वाईफाई हटस्पट सञ्चालनसम्बन्धी विनियमावली, २०७५” अनुसार सेवा सीमित गर्नुपर्ने उल्लेख गरिएको छ। साथै, रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिद्वारा तोकिएको पावर लिमिट, ब्याकहलरब्याकबोन सन्दर्भमा लगाइएका शर्तहरू पालना गर्नुपर्नेछ। त्यस्ता सेवा सञ्चालनमा प्रयोग गरिने उपकरणहरू पनि प्राधिकरणबाट अनुमति प्राप्त भएको हुनुपर्नेछ। यिनमा उल्लंघन भएमा प्रचलित कानुन अनुसार कडा कारबाही गरिने प्राधिकरणले चेतावनी दिएको छ।
यो निर्णयबाट हाल काठमाडौं उपत्यकासहित विभिन्न होटल तथा रेस्टुरेन्टहरूमा सार्वजनिक वाईफाई हटस्पट सेवा दिँदै आएको वर्ल्डलिंक कम्युनिकेशनजस्ता कम्पनीहरू प्रत्यक्ष रूपमा प्रभावित हुने देखिन्छ। वर्ल्डलिंकले मोबाइल वा टेलिफोन सेवा अनुमति नलिई आफ्ना ग्राहकलाई घरबाहिर पनि निःशुल्क इन्टरनेट सेवा दिँदै आएको थियो। तर, नेपाल टेलिकम र एनसेलजस्ता टेलिकम सेवा प्रदायकहरूले यस्तो हटस्पट सेवाका कारण आफ्ना डेटा सेवा आम्दानीमा गिरावट आएको गुनासो गर्दै यसमा कडाइ गर्न प्राधिकरणसँग पटक–पटक माग गरेका थिए।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij