
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन १२ सोमबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....
सागर डिस्टिलरीलाई आईपीओ निष्कासनको स्वीकृति, सर्वसाधारणका लागि १४ लाख कित्ता सेयर जारी हुने
काठमाडौं । सागर डिस्टिलरी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ ल्याउन लागेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा दिएको निवेदन साउन १२ गते स्वीकृत भएको हो। अब कम्पनीले रु. १०० अंकित मूल्यमा १४ करोड ५२ लाख बराबरको १४ लाख ५२ हजार कित्ता साधारण सेयर सर्वसाधारणमा जारी गर्नेछ।
कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत हिस्सा सर्वसाधारणमा निष्कासन गर्न लागेको हो। यस आईपीओ बिक्री व्यवस्थापनको जिम्मा मुक्तिनाथ क्यापिटललाई दिइएको छ।
सार्वजनिक स्थलमा वाईफाई हटस्पट सेवा सञ्चालनमा नयाँ नियमन, वर्ल्डलिंकसहितका आईएसपीहरू प्रभावित
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ सूचनामार्फत सार्वजनिक स्थलहरूमा वाईफाई हटस्पट सेवा सञ्चालनसम्बन्धी कडाइ गरेको छ। अबदेखि आधारभूत दूरसञ्चार सेवा, मोबाइल टेलिफोन सेवा वा टेलिफोन सेवाको अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरूलाई मात्र यस्ता हटस्पट सेवा दिन पाइनेछ। यस निर्णयसँगै, इन्टरनेट सेवा प्रदायक कम्पनीहरू—जसले यस्तो अनुमति लिएका छैनन्—ले सार्वजनिक स्थलहरूमा २४ सै घण्टा निःशुल्क वाईफाई हटस्पट सेवा दिन नपाउने भएका छन्। यिनीहरूले अब निश्चित स्थान तथा समयसीमामा मात्र हटस्पट सञ्चालन गर्न पाउनेछन्।
नबिल इन्भेष्टमेन्टलाई खुलामुखी लगानीकोष योजना सञ्चालनको अनुमति, २.५ करोड इकाई निष्कासन हुनेछ
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई खुलामुखी सामूहिक लगानीकोष योजना सञ्चालन गर्न अनुमति दिएको छ। साउन ८ गते बोर्डले 'एन आई ३१' नामक योजना सञ्चालनका लागि स्वीकृति प्रदान गरेको हो।
यस योजनाअन्तर्गत प्रति इकाई १० रुपैयाँ अंकित मूल्यमा २ करोड ५० लाख इकाई निष्कासन गर्न बोर्डले अनुमति दिएको छ। यद्यपि बोर्डको वेबसाइटमा पहिले १ करोड ५० लाख इकाई निष्कासनको माग देखिएको थियो, सेवोनले सोभन्दा बढी इकाई निष्कासन गर्न स्वीकृति दिएको हो।
शेयर बजार : नेप्से परिसूचकमा १२.१३ अंकले बढेर २९७६.३३ विन्दुमा ,१९ अर्ब ३६ करोड रुपैयाँ भन्दा बढीको कारोबार
काठमाडौं । साउन १२ गते सोमबार, नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.१३ अङ्कले बढ्दै २,९७६.३३ विन्दुमा पुगेर बन्द भएको छ। यो ०.४० प्रतिशतको वृद्धि हो।
आजको कारोबारमा कुल १९ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने ४४ लाख १२ हजार ४९४ कित्ता सेयर किनबेच भएका छन्।
हिमालयन बैंकको एफपीओ साउन १३ गते बाँडफाँट हुने
काठमाडौं । हिमालयन बैंक लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) साउन १३ गते, मंगलवार बिहान ९ बजे बाँडफाँट हुने भएको छ। विक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेडका अनुसार एफपीओ बाँडफाँट कार्यक्रम तय भइसकेको हो।
कम्पनीले असार ३२ गतेदेखि साउन ४ गतेसम्म कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सार्वजनिक रुपमा निष्कासन गरेको थियो। प्रतिकित्ता मूल्य १५७ रुपैयाँ ९अर्थात प्रिमियमसहित० तोकिएको यस एफपीओमा सीडीएस एण्ड क्लियरिङ लिमिटेड ९सीडीएससी० का अनुसार १७ लाख ८६ हजार ७८२ जनाबाट आवेदन परेको थियो।
एमबीएल इक्विटी फण्डको प्रतिफलमा सुधार : असारमा ५ करोडभन्दा बढी नाफा
काठमाडौं — एमबीएल सामूहिक लगानीकोषअन्तर्गत सञ्चालित एमबीएल इक्विटी फण्डले असार महिनामा उल्लेखनीय प्रगति गरेको छ। जेठ मसान्तसम्म ९ रुपैयाँ ९९ पैसा रहेको फण्डको प्रति इकाई खुद सम्पत्ति मूल्य असार मसान्तसम्ममा बढेर १० रुपैयाँ ४४ पैसा पुगेको हो।
२०८१ साल चैत १४ गतेदेखि सञ्चालनमा आएको यो १२ वर्षे बन्दमुखी योजना हो, जसअन्तर्गत १२ करोड १६ लाख २५ हजार ३३० इकाई जारी गरिएको छ।
रिज लाइन इनर्जी लिमिटेडको वार्षिक सभा भदौ ४ गते, आईपीओ निष्कासन प्रस्ताव पारित गरिने
काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित चौथो वार्षिक साधारण सभा भदौ ४ गते बोलाएको छ। कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा ललितपुरको कुपण्डोलस्थित होटल हिमालयनमा अपरान्ह ३ बजे आयोजना गर्ने निर्णय गरेको हो।
सभामा आईपीओ निष्कासनको प्रस्ताव पारित गरिनुका साथै कम्पनीले ७ करोड ७८ लाख ३५ हजार रुपैयाँभन्दा बढी नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पेश गर्नेछ।
मुख्यमन्त्री शाहले यही साउन १५ गते विश्वासको मत लिने
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यही साउन १५ गते प्रदेशसभाको बैठकमा विश्वासको मत लिने हुनुभएको छ ।
आज नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रदेशसभाको बैठकमा दलका नेता एवं मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन सर्वसम्मत निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
यसैबीच कांग्रेस संसदीय दलको बैठकपछि प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित रही मुख्यमन्त्री शाह पक्षमा मतदान गर्न ह्विप जारी गरिएको छ ।
सुन व्यवसायीहरू बीचको विवाद उत्कर्षमा , ऋद्धिसिद्ध ज्वेलर्समा राजस्वको छापा
काठमाडौँ । राजस्व अनुसन्धान विभागले काठमाडौँको विशाल बजारस्थित ऋद्धिसिद्ध ज्वेलर्समा छापा हानेको छ । विभागको टोलीले आज ऋद्धिसिद्धि ज्वेलर्समा छापा हानेको हो ।
राजस्व अनुसन्धान विभाग स्रोतका अनुसार ऋद्धिसिद्ध ज्वेलर्समा छापा हानी कागजपत्र र कम्प्युटर नियन्त्रणमा लिइएको छ । विभागले खरिद बिक्री विवरण चुस्तदुरुस्त नराखेको , राजस्व छलेकोलगायतको गुनासो आएपछि अनुसन्धानका लागि छापा हानिएको विभाग स्रोतले बताएको छ ।
सिन्धुलीको गोलञ्जोर-६ बाट एकै परिवारका १६ जना बेपत्ता, खोजी कार्य जारी(नामावलीसहित)
सिन्धुली — सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिकैको भण्डास बिप्पर कटेरी भन्ने स्थानबाट एकै परिवारका १६ जना सदस्य अचानक सम्पर्कविहीन भएका छन्। शुक्रबारदेखि बेपत्ता भएका उनीहरूको हालसम्म कुनै जानकारी नभएको जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले जनाएको छ।
बेपत्ताहरूको खोजीका लागि प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। साथै, उनीहरूको मोबाइल फोन ‘ट्रयाकिङ’ गरेर अवस्थिति पत्ता लगाउने प्रयाससमेत जारी रहेको प्रमुख जिल्ला अधिकारी ९सीडीओ० दिनेश सागर भुसालले जानकारी दिनुभयो।
अमेरिकाले लगाउने भन्सार शुल्कले बङ्गलादेशको अर्थतन्त्रमा गम्भीर असर पर्ने : एसियाली विकास बैंक
ढाका । एसियाली विकास बैंक (एडिबी) ले बङ्गलादेशको अर्थतन्त्रमा अमेरिकाबाट लगाइने नयाँ भन्सार शुल्कका कारण गम्भीर असर पर्न सक्ने चेतावनी दिएको छ ।
मनीलास्थित यस बहुपक्षीय वित्तीय संस्थाले सार्वजनिक गरेको एशियाली आर्थिक दृष्टिकोणमा बङ्गलादेशको आर्थिक वर्ष सन् २०२५ जुलाईदेखि २०२६ जुनसम्मको आर्थिक वृद्धि दर घटाइएको उल्लेख गरिएको छ ।
नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५वटा नयाँ सवारी साधनहरु लन्च हुँदै
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) द्वारा आयोजना गर्न लागिएको "नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ "को पत्रकार सम्मेलन सोमबार सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रमको सञ्चालन नाइमाका कार्यकारी निर्देशक, राज कुमार दुलालले गरेका थिए भने अटो एक्स्पो समितिका सदस्य गैरव सारडाले उद्घाटन मन्तव्यमा एक्स्पोको विशेषता, लक्ष्य तथा दृष्टिकोणबारे जानकारी दिदै कार्यक्रममा उपस्थित पत्रकार, प्रायोजक, सदस्य, तथा साझेदारहरुलाई धन्यवाद ज्ञापन गरे।
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई कान्तिपुर डेन्टलमा दाँत उपचार गर्दा १५ प्रतिशतसम्म छुट
काठमाडौँ । एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) प्रालिबीच यस बैंकका ग्राहक महानुभावहरुलाई दाँतको उपचार सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि यस बैंकका ग्राहक महानुभावहरुले विभिन्न ठाउँमा रहेका कान्तिपुर डेन्टलका शाखाहरुमा दाँत उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।
ग्राहकहरुले जनरल हस्पिटल सेवाहरु (Lab test, Bed Charge, ICU, Post up Bed Charge) मा १५ प्रतिशत, फिजिओथेरापी तथा आई ग्लास र जनरल डेन्टल सेवाहरु (Dental filling, Dental Scaling, RCT and Extraction ETC) मा १० प्रतिशत छुटका साथै दाँतको विशेष उपचार सेवा (Dental Implants, Veneer, Braces Aligner, Dermatologist) मा ७ प्रतिशत छुट उपभोग गर्न सक्ने जनाइएको छ ।
नगदमा बोनस बाँड्न प्रोत्साहन गर्ने नीति ल्याउँदै राष्ट्र बैंक
काठमाडौँ । नगदमा बोनस बाँड्न प्रोत्साहन गर्ने नीति ल्याउन सरोकारवाला निकाय सक्रिय भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नगद लाभांश बाँड्न पाउने व्यवस्था गर्न नीतिगत लचकता अपनाउन लागेको बुझिएको हो ।बैंक तथा वित्तीय संस्थाहरुको पुँजीकोष बलियो बनाउन र लगानी क्षमता बढाउने उद्देश्यले बोनस सेयरलाई प्रोत्साहित गर्दै आएको केन्द्रीय बैंकको नीतिगत व्यवस्थामा अब नगद लाभांश बाँडन प्रोत्साहन गर्ने लचकता अपनाउन लागिएको छ ।
उपल्लो मुस्ताङ पुगेका विदेशी पर्यटकबाट २९ करोड राजस्व
मुस्ताङ ।आर्थिक वर्ष २०८१/८२ मा उपल्लो मुस्ताङ भ्रमण गरेका विदेशी पर्यटकबाट नेपाल सरकारले रु २९ करोड ११ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ ।
त्यहाँ चार हजार दुई सय १९ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेवापत नेपाल सरकार अध्यागमन विभागले उक्त राजस्व सङ्कलन गर्न सफल भएको हो ।
यातायात व्यवस्था कार्यालय झापाबाट गत वर्ष १ अर्ब ६ करोड राजस्व संकलन
भद्रपुर (झापा)। यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षकमा रु एक अर्ब ६ करोड १७ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८०/८१ को तुलनामा रु १२ करोड ९५ लाख ३३ हजार बढी राजस्व सङ्कलन गरेको हो । यातायात व्यवस्था कार्यालयका सूचना अधिकारी राजु ओलीका अनुसार आव २०८०/८१ मा रु ९३ करोड २१ लाख ६६ हजार राजस्व सङ्कलन भएको थियो ।
ट्रंक र डेडिकेटेड लाइनको बक्यौताको पुनरावलोकन गर्ने समितिको म्याद थप
काठमाडौँ ।नेपाल विद्युत् प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइनका उपभोक्तासँग असुली गर्न बाँकी रहेको बक्यौताको पुनरावलोकन गर्न गठन गरिएको प्रशासकीय पुनरावलोकन समितिको म्याद थप गरिएको छ ।प्राधिकरणको सञ्चालक समितिको गत बुधबार ऊर्जा मन्त्रालयमा बसेको बैठकले उक्त पुनरावलोकन समितिको म्याद ३५ दिन थप गरेको हो ।
समितिका संयोजक श्यामकिशोर यादव प्राधिकरण सञ्चालक समितिका सदस्य पनि हुन् । उनको नेतृत्वमा प्राधिकरण संचालक समितिले गत बैशाखमा प्रशासकीय पुनरावलोकन समिति गठन गरेको थियो ।
काठमाडौँसहित ठाउँठाउँमा वर्षा, तराईमा आज पनि परेन
काठमाडौँ । आज बिहादेखि काठमाडौँलगायत विभिन्न क्षेत्रमा वर्षा भएको छ । केही ठाउँमा भारी वर्षा मापन भएको छ भने धेरै ठाउँमा भारी वर्षाको नजिक (मध्यम) वर्षा भएको छ । तर तराई क्षेत्रमा अझै वर्षा भएको छैन ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिट ढकालले हाल देशभर साधारणतया बदली रहेको जानकारी दिनुभयो । उहाँका अनुसार तराईका उत्तरी भूभागमा थोरै वर्षा भएको छ । दक्षिण क्षेत्रमा पनि हल्का पानी परेको तर पर्याप्त नभएको बताउनुभयो । अहिलेको प्रणाली त्यति ठूलो नरहेको पनि उहाँले बताउनुभयो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij