Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

संस्थापक सेयरलाई छुट्टै ISIN दिने प्रस्तावप्रति इप्पानको गम्भीर आपत्ति, लगानीमैत्री वातावरणमा खतरा

संस्थापक सेयरलाई छुट्टै ISIN दिने प्रस्तावप्रति इप्पानको गम्भीर आपत्ति, लगानीमैत्री वातावरणमा खतरा

  •  

    काठमाडौं, साउन १३ – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सीडीएस एन्ड क्लियरिङ लिमिटेड (CDSC) द्वारा गरिएको संस्थापक सेयरलाई छुट्टै अन्तर्राष्ट्रिय पहिचान नम्बर (ISIN) दिनेसम्बन्धी प्रस्तावप्रति गम्भीर ध्यानाकर्षण र आपत्ति जनाएको छ। इप्पानको भनाइमा, यो प्रस्तावले धितोपत्र बजारको पारदर्शिता, लगानीकर्ताको मनोबल तथा भविष्यको लगानी योजना सबैमा नकारात्मक असर पार्नेछ।

    सीडीएससीले हालै सूचीकृत हुन लागेका कम्पनीहरूको संस्थापक सेयरलाई अभौतीकरण गर्ने क्रममा सर्वसाधारण सेयरभन्दा अलग ISIN दिनु पर्ने प्रस्ताव नेपाल धितोपत्र बोर्डमा पठाएको थियो। तर इप्पानको ठहरमा, यस्तो प्रस्तावले निजी क्षेत्र, वैदेशिक लगानीकर्ता र आम लगानीकर्ताबीच अन्योलता, आशंका र निराशा सिर्जना गरिरहेको छ।

    इप्पानले चेतावनी दिएको छ कि प्रस्ताव लागू भएमा नेपालको वर्तमान कानुन, अन्तर्राष्ट्रिय मान्यता र बजार अभ्यास विपरीत कार्य हुनेछ। अहिले सम्म संस्थापक र सर्वसाधारण सेयर एउटै ISIN अन्तर्गत रहँदा बजार सरल र चलायमान रहँदै आएकोमा, प्रस्ताव कार्यान्वयनले सेयर खरिद–बिक्री प्रक्रिया जटिल बनाउने स्पष्ट उल्लेख गरिएको छ।

    इप्पानले थप भनेको छ कि यस्तो निर्णयले:

    • पुँजीगत लाभकरमा गिरावट ल्याउने
    • धितोपत्र दलाल कम्पनी र नेप्सेको आम्दानीमा कमी ल्याउने
    • बजारको तरलता कमजोर बनाउने
    • सेयर बजारमा अविश्वास फैलाउने

    नेपाल सरकारले आगामी १० वर्षमा २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित करिब ६१ खर्ब रुपैयाँ लगानी जुटाउने योजना अघि सारेको छ। जसमा करिब ४० खर्ब निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, गैरआवासीय नेपाली तथा वैदेशिक लगानीबाट उठाउने लक्ष्य छ। तर, इप्पानको भनाइमा सीडीएससीको प्रस्तावले यस्तो स्रोतबाट लगानी आकर्षित गर्न कठिन बनाउनेछ।

    इप्पानले सम्बन्धित निकायहरूलाई उक्त प्रस्ताव खारेज गर्न र लगानीमैत्री नीति तथा सहजीकरणको वातावरण कायम गर्न आग्रह गर्दै, यस्तो असन्तुलित निर्णयले ऊर्जा क्षेत्रको दीर्घकालीन विकासमा बाधा पुर्‍याउने स्पष्ट पारेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij