
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बीबीआईएन (बंगलादेश, भुटान, भारत र नेपाल) राष्ट्रहरूबीच व्यापार प्रवर्द्धन गर्न भौतिक पूर्वाधारमा उल्लेखनीय लगानी आवश्यक रहेको बताएका छन्।
३१ औं कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फर्वार्डर्स एसोसिएसनद्वारा आयोजित 'नेपालको लजिस्टिक्स विकास र बीबीआईएन कनेक्टिभिटी' विषयक कार्यक्रममा अध्यक्ष ढकालले भौतिक, संस्थागत र क्षेत्रीय पूर्वाधारको समुचित विकासले मात्रै व्यापार र आर्थिक वृद्धिमा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरे।
उनका अनुसार नेपालमा सडक, रेल, विमानस्थल र गोदाम जस्ता लजिस्टिक्स पूर्वाधार अझै अपर्याप्त छन्, विशेषतः सीमा नाकाहरू र मुख्य व्यापार मार्गहरूमा लजिस्टिक्स हबहरूको आवश्यकता अत्यन्तै महत्त्वपूर्ण छ।
ढकालले डिजिटल र प्रभावकारी लजिस्टिक्स प्रणालीले व्यवसाय तथा उद्योगको लागत घटाउने र सस्तो आपूर्ति श्रृंखला निर्माणमा सहयोग गर्ने बताए। उनले भूपरिवेष्टित मुलुक नेपालका लागि समुद्री पहुँच अझै महत्वपूर्ण हुने धारणा राखे।
निजी क्षेत्रको शतप्रतिशत लगानी रहेको यातायात तथा ढुवानी क्षेत्रको विकासका लागि सरकारको सक्रिय सहभागिता अपरिहार्य भएको भन्दै उनले सार्वजनिक(निजी साझेदारी मोडलमा कार्य गर्न निजी क्षेत्र तयार रहेको स्पष्ट पारे।
अन्त्यमा, उनले सरकारले कानूनमा गरेका संशोधन, बजेट तथा मौद्रिक नीतिमा उल्लेख भएका प्रावधानहरूको कार्यान्वयनमा देखिएको कमजोरीप्रति गुनासो गर्दै सरकारलाई विश्वासपूर्वक कार्यान्वयनमा लाग्न आग्रह गरे।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij