Logo

Jul 31 2025 | २०८२, साउन १५गते

Jul 31 2025 | २०८२, साउन १५गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् साउन १२ मंगलबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् साउन १२ मंगलबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन १२ मंगलबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू...

    बंगलादेश, भुटान, भारत र नेपालबीच व्यापार प्रवर्द्धनका लागि पूर्वाधारमा लगानी अपरिहार्य : अध्यक्ष ढकाल

    काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बीबीआईएन (बंगलादेश, भुटान, भारत र नेपाल) राष्ट्रहरूबीच व्यापार प्रवर्द्धन गर्न भौतिक पूर्वाधारमा उल्लेखनीय लगानी आवश्यक रहेको बताएका छन्।

    ३१ औं कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फर्वार्डर्स एसोसिएसनद्वारा आयोजित 'नेपालको लजिस्टिक्स विकास र बीबीआईएन कनेक्टिभिटी' विषयक कार्यक्रममा अध्यक्ष ढकालले भौतिक, संस्थागत र क्षेत्रीय पूर्वाधारको समुचित विकासले मात्रै व्यापार र आर्थिक वृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

     

    उनका अनुसार नेपालमा सडक, रेल, विमानस्थल र गोदाम जस्ता लजिस्टिक्स पूर्वाधार अझै अपर्याप्त छन्, विशेषतः सीमा नाकाहरू र मुख्य व्यापार मार्गहरूमा लजिस्टिक्स हबहरूको आवश्यकता अत्यन्तै महत्त्वपूर्ण छ।

    संस्थापक समूहको शेयर अभौतिकरण गर्ने सम्बन्धमा सिडिएससीको प्रस्तावमाथि इप्पानको गम्भीर ध्यानाकर्षण,पुरानै व्यवस्था राख्न माग

    काठमाडौँ ।   सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)को सञ्चालक समितिले कम्पनीहरुको शेयर सूचीकरण गर्ने सम्बन्धमा गरेको पछिल्लो निर्णयप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को गम्भीर ध्यानाकर्षण भएको छ ।

     

    इप्पानले जनाए अनुसार  सिडिएससीले धितोपत्र बजारमा शेयरको सार्वजनिक निष्काशन गरी सूचीकृत हुने प्रक्रियामा रहेका कम्पनीहरुको संस्थापक समूहको शेयर अभौतिकरण (Dematerialization) प्रक्रिया लम्ब्याउँदै अन्तत सबै कम्पनीहरुको संस्थापक र सर्वसाधारणतर्फ जारी भएको शेयरको छुट्टाछुट्टै International Securities Identification Number -ISIN_ नम्बर जारी गर्नको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्रस्ताव पठाएको छ । सो प्रस्तावले संस्थापक लगानीकर्ता, निजी क्षेत्र, वैदेशिक लगानीकर्ता, शेयरमा लगानी गर्ने आम सर्वसाधारणमा थप अन्यौलता र अस्पष्टता पैदा मात्र भएको छैन, यसले उनीहरुमा निराशा पैदा हुने अवस्था सिर्जना भएको छ । यो प्रस्ताव कार्यान्वयन भएमा हालसम्म नेपालको पुँजी बजारमा लागू भईरहेको, प्रचलित कानून, अन्तर्राष्ट्रिय मान्यता र स्थापित ISIN अभ्यास विपरितको यो प्रस्तावले नेपालको पुँजी बजारमा दीर्घंकालनि प्रभावसँगै देशप्रति अर्न्तराष्ट्रिय जगतको दृष्टिकोणमा समेत नकारात्मक प्रभाव पार्ने निश्चित भने नेपाली निजी क्षेत्र तथा गैरआवासीय नेपाली समुदायको लगानीका साथै प्रत्यक्ष वैदेशिक लगानीमा समेत असर पर्ने गरी अघि बढाएको प्रस्तावले स्वदेशी पुँजी संकलन (Capital Formation), गैरआवासीय नेपालीहरुमार्फत आउने लगानी र विदेशी लगानी व्यवस्थापनमा समेत कठिनाई हुनेछ ।

    संस्थापक सेयरलाई छुट्टै ISIN दिने प्रस्तावप्रति इप्पानको गम्भीर आपत्ति, लगानीमैत्री वातावरणमा खतरा

    काठमाडौं, साउन १३ – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सीडीएस एन्ड क्लियरिङ लिमिटेड (CDSC) द्वारा गरिएको संस्थापक सेयरलाई छुट्टै अन्तर्राष्ट्रिय पहिचान नम्बर (ISIN) दिनेसम्बन्धी प्रस्तावप्रति गम्भीर ध्यानाकर्षण र आपत्ति जनाएको छ। इप्पानको भनाइमा, यो प्रस्तावले धितोपत्र बजारको पारदर्शिता, लगानीकर्ताको मनोबल तथा भविष्यको लगानी योजना सबैमा नकारात्मक असर पार्नेछ।

    सीडीएससीले हालै सूचीकृत हुन लागेका कम्पनीहरूको संस्थापक सेयरलाई अभौतीकरण गर्ने क्रममा सर्वसाधारण सेयरभन्दा अलग ISIN दिनु पर्ने प्रस्ताव नेपाल धितोपत्र बोर्डमा पठाएको थियो। तर इप्पानको ठहरमा, यस्तो प्रस्तावले निजी क्षेत्र, वैदेशिक लगानीकर्ता र आम लगानीकर्ताबीच अन्योलता, आशंका र निराशा सिर्जना गरिरहेको छ।

    शेयर बजार : नेप्से परिसूचकमा ३०.४९ अंकले बढेर ३००१.८० विन्दुमा ,१८ अर्ब ५२ करोड रुपैयाँ भन्दा बढीको कारोबार

    काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज परिसूचक ३०.४९ अंकले उकालो लाग्दै ३,००१.८० विन्दुमा बन्द भएको छ। यो १।०२ प्रतिशतको वृद्धि हो, जसले बजारमा सकारात्मक माहोल सिर्जना गरेको देखिन्छ।

    यस दिन कुल कारोबार रकम रू. १८ अर्ब ५२ करोड ९३ लाख नाघेको छ भने ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयर कारोबार भएका छन्, जुन हालसम्मकै उच्च व्यापारहरूमध्ये एक हो।

    राष्ट्र बैंकद्वारा २ अर्ब ९२ करोडको मुद्दती निक्षेप लगानी प्रस्ताव, साउन १५ अन्तिम म्याद

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब ९२ करोड रुपैयाँ बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपको रूपमा लगानी गर्न प्रस्ताव खुला गरेको छ। राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागले वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक तथा वित्त कम्पनीहरूलाई लक्षित गर्दै प्रतिस्पर्धात्मक प्रस्ताव माग गरेको हो।

    प्रस्ताव अनुसार, “क” वर्गका वाणिज्य बैंकलाई २ अर्ब ३४ करोड, “ख” वर्गका विकास बैंकलाई ४३ करोड ६७ लाख, र “ग” वर्गका वित्त कम्पनीलाई १४ करोड ६२ लाख रुपैयाँ बराबरको मुद्दती निक्षेप प्रस्ताव गरिएको छ।

    हिमालयन बैंकको एफपीओ बाँडफाँड सम्पन्न, ९ लाख बढीले पाए शेयर

    काठमाडौं ।हिमालयन बैंक लिमिटेडले जारी गरेको एफपीओ को बाँडफाँड आज (मंगलबार) सम्पन्न भएको छ। बाँडफाँड कार्यक्रम बैंकको कमलादीस्थित कर्पोरेट कार्यालयमा बिहान सम्पन्न गरिएको हो।

    बैंकले गत असार ३१ गतेदेखि साउन ४ गतेसम्म प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम थप गरी १५७ रुपैयाँमा कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ शेयर निष्कासन गरेको थियो।

     

    उक्त एफपीओमा १८ लाख २५ हजार ९२२ जना आवेदकले ३ करोड ८५ लाख ९१ हजार १६० कित्ता शेयरका लागि आवेदन दिएका थिए। तीमध्ये १७ लाख ४ हजार २७३ जनाको आवेदन मात्र स्वीकृत भएको हो भने बाँकी आवेदन विभिन्न कारणले रद्द गरिएको छ।

    पशुपति क्षेत्रमा ४५ वर्षपछि ऐतिहासिक लाखे झ्यालिन्छ नाच प्रदर्शन गरिँदै

    काठमाडौँ । पशुपति क्षेत्रमा ४५ वर्षदेखि हुन नसकेको ऐतिहासिक लाखे झ्यालिन्छ नाच यस वर्ष श्रावण शुक्ल पञ्चमीदेखि फेरि सुरू हुने भएको छ ।

     

     

    जयवागेश्वरी मन्दिर, देवपत्तनमा ऐतिहासिक लाखे झ्यालिन्छ नाचको पुनःरुत्थान गर्न लागिएको स्थानीय श्रीकृष्ण डङ्गोलले राससलाई जानकारी दिनुभयो । दथु त्वाः बाजं खलः र स्थानीय संस्कृति तथा सम्पदाप्रेमीहरूको सक्रियताबाट यो पौराणिक र नेवारी संस्कृति झल्काउने नाचलाई पुनर्जीवन दिन लागिएको उहाँले सुनाउनुभयो । श्रावण शुक्ल पञ्चमीदेखि भाद्र कृष्ण सप्तमीसम्म १७ दिन यो नाच सञ्चालन हुने जनाइएको छ । 

    दिसामा पाइने कीटाणु भेटिएपछि तालाबन्दी गरिएका पानी उद्योगको ताला खुल्यो

    भक्तपुर ।यहाँको झौखलेका केही खानेपानी उद्योगमा प्रदूषित पानी बिक्री गरेको पाइएपछि तालाबन्दी गरिएका उद्योग आजदेखि सञ्चालनमा आएका छन् । 

    बजारमा बिक्री हुँदै आएको पानीमा दिसामा हुने कीटाणु कोलिफार्म भेटिएपछि चाँगुनारायण नगरपालिकाले  बिक्री वितरणमा प्रतिबन्ध लगाउँदै नगरपालिका–३ झौखेलमा सञ्चालित पाँचवटा पानी उद्योगमा तालाबन्दी गरेको थियो । 

     

     

    नगर उपप्रमुख एवं अनुगमन समितिका संयोजक रमेश बुढाथोकीले त्यस्ता उद्योगलाई बिक्री वितरणमा प्रतिबन्द लगाउँदै तालाबन्दी गरिएकामा सम्पूर्ण रूपमा शुद्धता सुनिश्चित गरिएपछि आजदेखि सञ्चालन गर्न दिइएको बताउनुभयो ।

    चार सहसचिवको सरुवा, राजस्व अनुसन्धान विभागको महानिर्देशकमा चिलुवालको सम्भावना

    काठमाडौँ । सरकारले चार जना सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो । आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तीर्थराज चिलुवाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानिएको छ । आन्तरिक राजस्व विभागबाट तानिएका चिलुवाललाई राजस्व अनुसन्धान विभागमा रिक्त रहेको महानिर्देशकको जिम्मेवारीमा पठाउने तयारीको क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको सम्बद्ध स्रोतले जनाएको छ ।

    प्रधानमन्त्रीको बोरिङ घोषणापछि विद्युत प्राधिकरण सक्रिय, निर्देशक शाक्य स्वयं फिल्डमा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुख्खाग्रस्त मधेसका विभिन्न जिल्लामा तत्कालै ५ सय बोरिङ खन्ने घोषणा गरेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य स्वयं विद्युत आपूर्तिको अवस्था बुझ्न फिल्डमा खटिएका छन्।

    चितवनको आपूर्ति प्रणालीको निरीक्षणपछि शाक्य जनकपुरधाम पुगेका छन्, जहाँ उनले मधेस प्रदेशका विभिन्न वितरण केन्द्रका प्रमुखहरूसँग छलफल गरेका छन्। बैठकमा सिराहा, धनुषा, महोत्तरी, सप्तरी, सर्लाहीलगायत जिल्लाका प्राधिकरण कार्यालयका प्रमुखहरू सहभागी थिए।

     

    निर्देशक शाक्यका अनुसार, बोरिङ जडान हुने स्थानमा विद्युत आपूर्ति कसरी सुनिश्चित गर्ने भन्ने विषयमा रणनीतिक छलफल गरिएको हो। यद्यपि, कुन स्थानमा बोरिङ हुने, कति पम्प जडान हुने र ती पम्पहरूको क्षमता कस्तो हुने भन्ने स्पष्ट जानकारी सम्बन्धित निकायबाट अझै नआएको उनले बताए।

    एनआईसी एशिया बैंकले ८.१७% ब्याजदरमा सेयर धितो कर्जा दिने

    काठमाडौं । एनआईसी एशिया बैंकले निकै सस्तो ब्याजदरमा सेयर धितो कर्जाको स्किम ल्याएको छ ।  

     

    बैंकले औसत आधार दरमा १ प्रतिशत मात्र प्रिमियम थपेर आकर्षक कर्जा योजना सार्वजनिक गरेको हो । हालको दरअनुसार बैंकले ८.१७ प्रतिशत ब्याजदरमा यस्तो लोन उपलब्ध गराइने घोषणा गरेको छ । 

    बैंकले यो प्रडक्टलाई ‘NIC ASIA ATHOT Loan Against Share'  नाम दिएको छ ।  

     

    गतिशील बैंकिङ्गको अभ्यास गर्दै ग्राहकहरूको आवश्यकता, बजार तथा समयको मागहरूलाई सम्बोधन गर्दै बैंकले अर्थतन्त्रको एक मुख्य पिलरको रुपमा रहेको शेयरबजारलाई सम्बोधन गर्ने गरी प्रतिष्पर्धी ब्याजदर (औसत आधार दरमा १ प्रतिशत प्रिमियम थप)मा शेयर कर्जा योजना सार्वजनिक गरिएको बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ । 

    भिजिट भिसा छानबिनको क्रममा महाराजगञ्जस्थित एक ट्राभल्स कम्पनीमा प्रहरीको छापा

    काठमाडौं । प्रहरीले  भिजिट भिसामा स्पेन पठाएर मानव तस्करी गरेको आरोपमा छानबिनको क्रममा   एक ट्राभल्स कम्पनीमा  छापा मारेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले महाराजगञ्जमा रहेको भिजिट अबरोड टुर्स एन्ड ट्राभल्समा छापा मारेको हो ।

     

    सीआईबीका एसएसपी होविन्द्र बोगटी नेतृत्वको छानबिन समितिले उक्त ट्राभल्समा छापा मारेर केही कागजातहरू लिएको जनाइएको छ ।सीआईबी स्रोतका अनुसार केही कागजात र डिजिटल डिभाइसहरू नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको हो ।

    रसुवामा आएको बाढीबाट क्षतिपूर्तिका लागि ८४ करोड बढीको बिमा भुक्तानी दाबी

    काठमाडौँ । गत असार २३ गते मध्यरातमा रसुवामा आएको भिषण बाढी र पहिरोले पु¥याएको  क्षतिबापत् ८४ करोड रुपैयाँ भन्दा बढीको बिमा दाबी गरिएको छ । साउन ८ गतेसम्मबिमा प्राधिकरणका अनुसार गत साता गरिएको एक आकलन अनुसार विभिन्न ११ निर्जीवन बिमा कम्पनीहरूमा कुल ८४ करोड ३८ लाख १० हजार रुपैयाँको रुपैयाँ बराबरको ६८ वटा मागदाबी  गरिएको हो ।

     

    प्राधिकरणका अनुसार सबैभन्दा बढी  रकमको बिमा दाबी हिमालयन एभरेष्ट इन्स्योरेन्समा परेको छ । उक्त कम्पनीमा जम्मा २ वटा दाबी मार्फत ५५ करोड रुपैयाँ माग गरिएको छ । शिखर इन्स्योरेन्समा १२ वटा दाबी बापत् १६ करोड ८५ लाख १० हजार रुपैयाँ दाबी गरिएको छ ।

    हेटौंडा यातायात कार्यालयले ५७ करोड राजस्व संकलन, श्रम कार्यालयले ४८ बालश्रमिक उद्धार

    बागमती ।यातायात व्यवस्था कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८१/८२ मा रु ५७ करोड ४२ लाख ७६ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा नयाँ सवारीसाधन दत्र्ता, नविकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट उक्त राजस्व सङ्कलन भएको हो । यस अवधिमा साना र ठूला गरी ६ हजार ९५ नयाँ सवारीसाधन दत्र्ता भएका कार्यालय प्रमुख प्रविण श्रेष्ठले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा रु एक करोड ३५ लाख ५९ हजार बढी राजस्व तथा एक हजार ६९६ बढी नयाँ सवारीसाधन दत्र्ता भएका छन् । कार्यालयले आव २०८०/८१ मा नयाँ सवारीसाधन दत्र्ता, नविकरण तथा सवारी चालक अनुमतिपत्र बितरण लगायतका शिर्षकबाट रु ५६ करोड सात लाख १७ हजार राजस्व सङ्कलन गरेको थियो । उक्त आवमा कार्यालयले चार हजार ३९९ सवारीसाधन दत्र्ता गरेको प्रमुख श्रेष्ठले बताउनुभयो । आव २०८१/८२ मा सवारीसाधन चालक अनुमतिपत्र वितरणबाट रु नौ करोड ६२ लाख ८१ हजार, सवारी करबाट रु ३४ करोड ७९ लाख ९८ हजार, यातायात क्षेत्रको आम्दानीबाट रु आठ करोड ९५ लाख ९४ हजार, सङ्घीयतातर्फ रु चार करोड तीन लाख ९४ हजार तथा बेरुजुबाट रु आठ हजार राजस्व सङ्कलन भएको छ ।

    मंगलबार सुनको मूल्य ६०० रुपैयाँ  घटेर प्रतितोला  १ लाख ९३ हजार रुपैयाँ कायम

    काठमाडौँ । मंगलबार सुनको मूल्य ६०० रुपैयाँ  घटेर प्रतितोला  १ लाख ९३ हजार रुपैयाँ कायम  भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेर १ लाख ९३ हजार रुपैयाँ कायम भएको हो।  

     

    यअसघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम थियो । यस्तै चाँदीको मूल्य भने बढेको छ । सोमबार तोलामा २ हजार २९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  साथै मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

     

    महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र लुम्बिनीलगायत देशका पहाडी भूभागका धेरै स्थान तथा तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

    नागको पूजाआराधना गरी देशभर आज नागपञ्चमी पर्व धूमधामका साथ मनाइँदै

    काठमाडौँ ।नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ । 

     

     

    यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।

    आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ ।

     

    युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ २१ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपैयाँ ७० पैसा र बिक्रीदर १७३ रुपैयाँ ४५ पैसा कायम गरिएको छ ।

     

     
     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij