Logo

Jul 31 2025 | २०८२, साउन १५गते

Jul 31 2025 | २०८२, साउन १५गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् साउन १४ बुधबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् साउन १४ बुधबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन १४ बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू...

    कर्णाली डेभलपमेन्ट बैंक घोटाला: १०९ जनाविरुद्ध ३ अर्ब २० करोडको मुद्दा दायर(सूची सहित)

    काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकमा भएको ३ अर्ब २० करोड रुपैयाँको ठूलो घोटाला प्रकरणमा १०९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। सरकारी वकिलको कार्यालय, बाँकेले उच्च अदालत तुलसिपुरको नेपालगञ्ज इजलासमा मुद्दा दायर गरेको हो।

    नेपाल राष्ट्र बैंकले २०८१ पुस १० गतेदेखि कर्णाली डेभलपमेन्ट बैंकको सम्पूर्ण व्यवस्थापन आफ्नो प्रत्यक्ष नियन्त्रणमा लिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानले बैंकमा गम्भीर आर्थिक अनियमितता भएको निष्कर्ष निकाल्दै करिब ३ अर्ब २० करोड बराबरको घोटाला भएको पुष्टि गरेको थियो।

     

    प्रकरणमा सम्लग्नहरूमा तत्कालीन सिइओहरू दिनेह कुमार रावत, निरज विक्रम शाह, विष्णु प्रसाद कक्षपति, र नेपालगञ्ज शाखा प्रमुख दीपा थापा लगायत रहेका छन्। मुद्दा दायर गरिएका १०९ जना प्रतिवादीमध्ये ४ जना पक्राउ परेका छन्, २ जनाको मृत्यु भइसकेको छ भने १०३ जना अझै फरार रहेका छन्।

    राष्ट्रिय वाणिज्य बैंकको '७% आरबिबिएल डिबेञ्चर २०८८'नेप्सेमा सूचीकृत, साउन १५ देखि कारोबार खुल्ने

    काठमाडौं ।  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्कासन गरेको ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ नामक ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। बैंकले यो ऋणपत्र गत वैशाख ७ गतेदेखि १२ गतेसम्म बिक्रीका लागि खुला गरेको थियो भने वैशाख २१ गते बाँडफाँट सम्पन्न गरिएको थियो।

    कुल २५ लाख कित्ता ऋणपत्र निष्कासन गरिएको यो योजना ७ वर्ष अवधिको हो, जसमा वार्षिक ७ प्रतिशत ब्याजदर कायम गरिएको छ। नेप्सेमा यस ऋणपत्र “७% आरबिबिएल डिबेञ्चर २०८८” नाम र स्टक संकेत 'आरबिबिडीट'८८' बाट सूचीकृत गरिएको हो

    शेयर बजार : नेप्से परिसूचकमा ५२.८७ अंकले घटेर २९४९.१९ विन्दुमा ,१६ अर्ब ४४ करोड रुपैयाँ भन्दा बढीको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज मङ्गलवार भारी गिरावट देखिएको छ। कारोबारको अन्त्यमा नेप्से परिसूचक ५२.८७ अङ्कले घटेर २,९४९.१९ मा कायम भएको छ, जुन १.७६ प्रतिशतको गिरावट हो। आज बजार खुल्ने बेलामै थोरै समयको लागि हरियाली देखिए पनि दिनभरि बजार ओरालो लाग्ने क्रममै रह्यो।

     

    आजको दिन कुल ३६ लाख ४१ हजार ७४२ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम १६ अर्ब ४४ करोड १३ लाख रुपैयाँभन्दा बढी पुगेको छ। यति ठूलो कारोबार हुँदाहुँदै पनि बजारमा लगानीकर्ताको मनोविज्ञान कमजोर देखिएको छ।

    कुल २४९ कम्पनीमध्ये २२५ कम्पनीको सेयर मूल्य घट्यो, २३ कम्पनीको सेयरमात्र वृद्धि भयो, भने कुनै कम्पनीको सेयर मूल्य स्थिर रहेन। बजारमा यति धेरै संख्यामा कम्पनीको सेयर घट्नुले नकारात्मक प्रवृत्ति हाबी भएको स्पष्ट देखिन्छ।

    नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ संकलन गर्ने तयारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि पुनः २५ अर्ब रुपैयाँ संकलन गर्न लागिएको छ। यसका लागि आज दिउँसो ३ बजे राष्ट्र बैंकले बोलकबोल प्रक्रिया सञ्चालन गर्ने जनाएको छ।

    बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि सुरु गरेर पाँच करोड रुपैयाँको गुणकमा भाग लगाएर बोलकबोल गर्न सक्नेछन्, जसमा बाँकी रकम निस्कन्छ। बोलकबोल प्रक्रिया बहुब्याजदरमा पनि गर्न सकिने व्यवस्था रहेको छ। यस कार्यक्रममा ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।

    आरम्भ चौतारी लघुवित्तको ९ करोड ४४ लाख नाफा, इम्पेरमेन्ट चार्ज फिर्ताले नाफामा उल्लेखनीय वृद्धि

    काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ९ करोड ४४ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ। अघिल्लो वर्ष सोही अवधिमा मात्र ६ लाख ८० हजार रुपैयाँ नाफा कमाएको कम्पनीको यस वर्षको नाफा वृद्धि इम्पेरमेन्ट चार्ज वापत २ करोड ३८ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता हुनुले सम्भव भएको हो।

    साथै, कम्पनीको कुल सञ्चालन आम्दानीमा करिब ३२ प्रतिशतको वृद्धि भएको छ, जसले नाफालाई थप बल पुर्‍याएको छ।

    हिमालयन लघुवित्तको ९ करोड १७ लाख खुद नाफा, घाटाबाट मुनाफातर्फ उल्लेखनीय सुधार

    काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो वर्षको घाटाबाट गदै चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म ९ करोड १७ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनी २० लाख रुपैयाँभन्दा बढी नोक्सानीमा थियो, जसको तुलनामा यो वर्षको नाफा द्रुत सुधारको संकेत हो।

    नाफा वृद्धिको प्रमुख कारणहरूमा इम्पेरमेन्ट चार्ज वापत ३० लाख रुपैयाँभन्दा बढी रकम फिर्ता हुनु, र कुल सञ्चालन आम्दानीमा करिब ५३ प्रतिशतको वृद्धि हुनु प्रमुख मानिन्छ। यी दुवै पक्षहरूले कम्पनीको आम्दानीमा सकारात्मक प्रभाव पारेका छन्।

    श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति, ३२ लाख कित्ता सर्वसाधारणलाई उपलब्ध

    काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन ९क्ष्एइ० ल्याउने अनुमति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्ड (सेवोन) बाट कम्पनीले साउन १३ गते अनुमति पाएको हो।

    सेवोनले कम्पनीलाई प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यका ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरका ३२ लाख ६२ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो। कम्पनीले यो निष्कासन आफ्ना उद्योग प्रभावित स्थानीयबासी र सर्वसाधारण लगानीकर्ताहरूलाई लक्षित गर्दै ल्याउन लागेको हो।

    झापा इनर्जी लिमिटेडद्वारा आईपीओ निष्कासन सुरु, आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित

    काठमाडौं । झापा इनर्जी लिमिटेडले बुधबारदेखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) सार्वजनिक गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आईपीओ निष्कासन थालेको हो।

     

    कम्पनीले आफ्नो जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत, अर्थात ३ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका ३ लाख ८० हजार १९० कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि छुट्याएको छ।

    गुल्मीका २२ हजार बढी नागरिक बाढीपहिरोको उच्च जोखिममा

    तम्घास । वर्षायाम सुरू भएसँगै पहाडी जिल्लामा बाढीपहिरोको जोखिम बढेको छ । त्यसैअन्तर्गत गुल्मी पनि पहिरोको उच्च जोखिममा छ । जिल्लामा गतवर्ष मात्रै मालिका गाउँपालिका–६ अर्जैमा एकैपरिवारका पाँच, मुसिकोटमा पनि एकै परिवारका चार जनाको पहिरोबाट मृत्यु भयो । 

     

    त्यसैगरी विसं २०७६ मा पहिरोबाटै सत्यवतीमा १३ जनाको मृत्यु भयो भने सयौँ नागरिक विस्थापित भए । उनीहरूको पुनःस्थापनाको काम अझै सकिएको छैन् । २०६४ सालमै मुसिकोटमा छ जनाको पहिरोमा परी मृत्यु भयो । यसवर्ष पनि यहाँका नागरिक बाढीपहिरोको उच्च जोखिममा छन् । जिल्ला विपद् व्यवस्थापन समितिले सार्वजनिक गरेको तथ्याकङ्अनुसार जिल्लामा यसवर्ष २२ हजार ४०० नागरिक बाढीपहिरोको जोखिममा छन् । सबैभन्दा धेरै मुसिकोट नगरपालिकाका १० स्थानमा बाढी र १६ स्थानमा पहिरो गरी कूल २६ स्थानका नागरिक जोखिममा छन् । मुसिकोटको समुद्र, कालीरहलगायतका स्थान बडिगाढ नदीको बाढीको जोखिम छ ।

    चीनमा बस दुर्घटनाः १० जनाको मृत्यु, चार जना अझै बेपत्ता

    बेइजिङ ।चीनको उत्तरी शान्सी प्रान्तमा आइतबार बिहान बेपत्ता भएको बसमा सवार १० जनाको मृत्यु पुष्टि भएको छ । सरकारी सञ्चार माध्यमका अनुसार, घटनाको खोजी तथा उद्धार कार्य जारी रहँदा अझै ४ जना हराइरहेका छन् ।

     

    उक्त बस डाटोङ सहरमा मुसलधारे वर्षाको बीच हराएको थियो । सिन्ह्वा समाचार एजेन्सीका अनुसार, एक जनाको शव पहिले नै घटनास्थलभन्दा तलतिरको क्षेत्रमा फेला परेको थियो भने अन्य शवहरू पछिल्ला खोजीहरूमा भेटिएका हुन् ।

    यो साता उत्तरी चीनमा परेको भीषण वर्षा र बाढीका कारण हालसम्म ४८ जनाको ज्यान गएको छ भने हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीका कारण सडकहरू अवरुद्ध भएका छन्, गाउँहरू अन्धकारमा डुबेका छन् र सयौं घरमा पानी पसेको छ ।

    तराईमा ५०० डिपबोरिङ खन्ने काम सुरु, सिँचाइका लागि विद्युत् शुल्क प्रतियुनिट ३ रुपैयाँ मात्र

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिँचाइका लागि प्रतियुनिट तीन रुपैयाँ मात्र विद्युत् शुल्क तोकिएको जानकारी गराउनु भएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत सुक्खाग्रस्त मधेश प्रदेशमा ५०० बोरिङ खनिँदै गरेको समेत जानकारी गराउनुभयो ।
     
    “तराईमा ५०० वटा डिपबोरिङ खन्ने काम सुरु भएको छ । सिँचाइका लागि किसानलाई प्रति युनिट बिजुलीको तीन रुपैयाँ मात्र लाग्ने छ,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

     

    राजस्व अनुसन्धान विभागद्वारा कस्मेटिकको ठुलो कारोबार गर्ने मख्खनस्थित जेडी इन्टरनेशनलमा छापा

    काठमाडौँ । राजस्व अनुसन्धान विभागले कस्मेटिकको ठुलो कारोबार गर्ने इन्द्रचोकको मख्खनस्थित जेडी इन्टरनेशनलमा छापा हानेको छ ।  विभागले उक्त फर्ममा यसै हप्ता छापा हानेको हो । कस्मेटिक तथा कस्मेटिकजन्य वस्तुहरूमा  राजस्व चुहावट गरेको आशंकामा  छापा हानेको राजस्व अनुसन्धान विभाग स्रोतले बताएको छ ।

     

    जेडी इन्टरनेशनललगायतको कारोबारस्थल र गोदाममा छापा हानेर सिल गरेको राजस्व अनुसन्धान विभागले मालवस्तुको  स्टक लिइरहेको बताइएको छ । जेडी इन्टरनेशनल कस्मेटिक कारोबारको  ठुलो आयातकर्ता र कारोबारी मानिन्छ । 

    खानी र गुणस्तर विभागलाई परिणाममुखी नतिजा सुनिश्चित गर्न मन्त्री भण्डारीको निर्देशन

    काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले खानी तथा भू–गर्भ विभाग र नेपाल गुणस्तर तथा नापतौल विभागलाई काममा परिणाममुखी नतिजा सुनिश्चित गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयमा आयोजित विशेष छलफलमा दुवै विभागका महानिर्देशक तथा महाशाखा प्रमुखहरूलाई मन्त्री भण्डारीले यी निकायहरूको प्रभावकारी कार्य सम्पादनले राष्ट्रको समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने भएकाले छिटो र प्रभावशाली परिणाम देखिने गरी योजना कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।

    \
    छलफलमा दुवै विभागले चालु आर्थिक वर्षका लागि तयार पारेका योजनाहरू मन्त्री समक्ष प्रस्तुत गरेका छन् ।

    वीरगञ्ज नाकाबाट एक वर्षमा ६८ हजारभन्दा बढी सवारीसाधन आयात, राजस्व १७ अर्ब नाघ्यो

    वीरगञ्ज । गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट ६८ हजार ७४३  सवारीसाधन भित्रिएका छन् ।  

     

    वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकलदेखि क्रेनलहरीसम्मका ६८ हजार ७४३ वटा सवारीसाधन आयात भएका हुन् । सवारीसाधनको आयातबाट दोस्रो धेरै राजस्व सङ्कलन हुँदै आइरहेको छ । गत आवभरिमा इन्धनबाट चल्ने सवारीसाधनबाट मात्र रु १७ अर्ब ३१ करोड राजस्व सङ्कलन भएको छ ।

    रुसमा शक्तिशाली ८.८ म्याग्निच्युडको भूकम्प: प्रशान्त क्षेत्रमा व्यापक सुनामीको असर, हजारौं स्थानान्तरण

    टोकियो ।अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एउटा रुसको कम जनसङ्ख्या भएको सुदूर पूर्वमा बुधबार बिहान गएको छ । भूकम्पका कारण प्रशान्त महासागरमा चार मिटर ९१२ फिट० सम्म सुनामी आएको थियो र हवाईदेखि जापानसम्मका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको थियो ।

     

     

    अमेरिकी भौगर्भिक सर्वेक्षण (युएसजिएस) का अनुसार रुसको दुर्गम कामचटका प्रायद्वीपमा पेट्रोपाभ्लोभस्कबाट बिहान ८ः२४ बजे (२३)४ जिएमटी मङ्गलबार) ८.८ म्याग्निच्युडको भूकम्प गएको थियो र यो रेकर्ड गरिएको १० मध्ये सबैभन्दा ठूलो थियो ।

    बुधबार सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढेर प्रतितोला १ लाख ९३ हजार रुपैयाँ कायम

    काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९३ हजार रुपैयाँ कायम भएको छापावाल सुन बुधबार बढेर तोलामा १ लाख ९४ हजार ४०० रुपैयाँ पुगेको हो ।

     

    यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा २ हजार ३०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार ३१० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    गण्डकीका पहाडी भेगमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

    काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ । साथै मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास नै रहेको जनाएको छ ।

     

    महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका धेरै स्थान तथा बाँकी प्रदेशका साथै तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति देशका पहाडी भूभागमा साधारणतया बदली रही तराई भेगमा आंशिक बदली हुनेछ । पहाडी भूभागका केही स्थान तथा तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

     

     
     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij