Logo

Oct 29 2025 | २०८२, कात्तिक १२गते

Oct 29 2025 | २०८२, कात्तिक १२गते

images

रसुवामा आएको बाढी–पहिरोबाट बीमा क्षेत्रमा झन्डै १ अर्ब रुपैयाँको दाबी

रसुवामा आएको बाढी–पहिरोबाट बीमा क्षेत्रमा झन्डै १ अर्ब रुपैयाँको दाबी

  • काठमाडौं । गत असार २३ गते रसुवामा आएको भीषण बाढी र पहिरोले गरेको क्षतिको बीमाका लागि करिब १ अर्ब रुपैयाँ बराबरको दाबी परेको छ।

    नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार हालसम्म ११ वटा बीमा कम्पनीहरूमा ७८ वटा बीमा दाबी दर्ता भएका छन्, जसअनुसार कुल ९८ करोड ५९ लाख ८२ हजार १ सय ५६ रुपैयाँ बराबरको बीमा दाबी परेको हो।

    बीमा कम्पनीमध्ये हिमालयन एभरेस्ट इन्स्योरेन्समा सबैभन्दा धेरै क्षतिपूर्ति दाबी परेको छ। यस कम्पनीमा मात्र २ वटा बीमा दाबी मार्फत ५५ करोड रुपैयाँ बराबरको दाबी दर्ता भएको हो।

    शिखर इन्स्योरेन्समा १५ वटा दाबीमा १६ करोड ९६ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्समा १६ वटा दाबीमा ८ करोड ७३ लाख रुपैयाँ, सानिमा जीआईसीमा ६ वटा दाबीमा ६ करोड ८४ लाख रुपैयाँ, नेको इन्स्योरेन्समा ५ वटा दाबीमा ५ करोड ६७ लाख रुपैयाँ, र सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २ वटा दाबीमा २ करोड ६५ लाख रुपैयाँ बराबरको बीमा दाबी परेका छन्।

    यस्तै, अन्य बीमा कम्पनीहरूमा पनि साना तथा मध्यम आकारका दाबीहरू परेका छन्:

    • युनाइटेड अजोड इन्स्योरेन्स: ३ वटा दाबी – ९१ लाख रुपैयाँ

    • आईजीआई प्रुडेन्सियल: १० वटा दाबी – ७६ लाख ७० हजार रुपैयाँ

    • एनएलजी इन्स्योरेन्स: ६ वटा दाबी – ४७ लाख रुपैयाँ

    • सिद्धार्थ प्रिमियर इन्स्योरेन्स: ७ वटा दाबी – ३१ लाख रुपैयाँ

    • प्रभु इन्स्योरेन्स: ६ वटा दाबी – २८ लाख रुपैयाँ

    बीमा दाबीहरू विभिन्न बीमा श्रेणीअन्तर्गत दर्ता भएका छन्। सम्पत्ति बीमातर्फ मात्र ६ वटा दाबीमा ६१ करोड ४७ लाख रुपैयाँ, सामुद्रिक बीमातर्फ २२ करोड ४ लाख रुपैयाँ, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमातर्फ ५ करोड ९५ लाख रुपैयाँ, निजी मोटर बीमातर्फ ५ करोड ५८ लाख रुपैयाँ, र सार्वजनिक मोटर बीमातर्फ ३ करोड ५५ लाख रुपैयाँ बराबरको बीमा दाबी दर्ता भएको बीमा प्राधिकरणले जनाएको छ।

    असार २३ गतेको बाढी–पहिरोले रसुवाका बस्ती, पूर्वाधार, उद्योग–व्यवसाय र सवारीसाधनमा व्यापक क्षति पुर्‍याएको थियो। बीमा कम्पनीहरूले अहिले क्षतिको मूल्यांकन गरी दाबी प्रक्रिया अघि बढाइरहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij