Logo

Nov 03 2025 | २०८२, कात्तिक १७गते

Nov 03 2025 | २०८२, कात्तिक १७गते

images

टीपीएस खारेज हुने भएपछि करिब ७ हजार नेपाली अमेरिकाबाट फर्किने

टीपीएस खारेज हुने भएपछि करिब ७ हजार नेपाली अमेरिकाबाट फर्किने

  • काठमाडौँ । अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुले पछि अमेरिकाबाट करिब ७ हजार नेपाली फर्किने भएका छन् ।

    अमेरिकाको संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनको पक्षमा निर्णय गरेपछि टीपीएस सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुला भएको हो ।यसबाट नेपालीहरूको हकमा करिब ७ हजार नेपाली अमेरिकाबाट फर्किनुपर्ने हुन्छ ।नेपालमा सन् २०१५ मा आएको विनाशकारी भूकम्पलाई कारण देखाउँदै अमेरिकी सरकारले त्यसबेला बिना कागजात बसेका नेपालीहरुलाई टीपीएस सुविधा दिएको थियो । त्यसबेला झण्डै १५ हजार नेपाली नागरिकले टीपीएस सुविधा लिएको बुझिएको थियो ।

    ट्रम्प प्रशासनले आप्रवासी र अवैध रुपमा बसोबास गरिरहेकाहरुप्रति कडा नीति लिइरहेका बेला अमेरिकाको होमल्याण्ड सेक्युरिटीले सुरुमा नेपाल, होन्डुरस र निकारागुआका नागरिकहरुको टीपीएस सुविधा  अन्त्य हुने निर्णय गरेको थियो । नेपाली नागरिकको अगष्ट ५ देखि तथा होन्डुरस र निकारागुआका नागरिकको सेप्टेम्बरदेखि टीपीएस सुविधान खारेज गर्ने निर्णय भएको थियो ।

    सो निर्णयविरुद्ध नेशनल टीपीएस एलायन्स र केही नेपालीहरुले अदालतमा मुद्दा दायर गरेका थिए । सो मुद्दामा गत महिना तल्लो अदालतले नेपाल, होन्डुरस र निकारागुआका नागरिकको टीपीएस सुविधा अन्त्य गर्ने ट्रम्प प्रशासनको निर्णयलाई कम्तीमा नोभेम्बर १८ सम्म स्थगित गर्न आदेश दिएको थियो । तर बुधबार पुनरावेदन अदालतले त्यो फैसलालाई स्थगित गरेकाले टीपीएस सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाधा हटेको हो ।

    अमेरिकाको आप्रवासन प्रणाली अन्तरगत विशेष परिस्थितिमा दिइने सुविधा मध्ये एक टीपीएस सुविधा हो । यो सुविधा पाएका निश्चित देशका नागरिकहरुलाई अस्थायी रूपमा अमेरिकामा बस्न, काम गर्न र कहिलेकाहीँ अन्तरदेशीय यात्रा गर्न समेत अनुमति प्राप्त हुने गर्छ ।

    यो सुविधालाई अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटी (डीएचएस) अन्तरगत रहेको अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले व्यवस्थित गर्छ ।यो सुविधा ती देशका नागरिकलाई  दिइन्छ, जहाँ आन्तरिक वा बाह्य युद्ध, प्राकृतिक विपद् वा अन्य किसिमका गम्भीर मानवीय संकट आइपरेको छ । र, त्यहाँ उनीहरुको सामान्य जीवन सम्भव छैन । त्यहाँ उनीहरुलाई सुरक्षाको जोखिम छ ।

    यो सुविधा पाएका व्यक्तिहरुलाई अमेरिकी भूमिबाट निष्कासन गरिँदैन भने उनीहरूलाई वैध रूपमा काम गर्ने अनुमति पनि दिइन्छ । तर यो स्थायी बसोबासको सुविधा भने होइन । यसबारे लेखिएको सूचनामा नै निश्चित अवधि समाप्त भएपछि सम्बन्धित व्यक्ति अमेरिकामा बस्न योग्य नभए फर्किनुपर्ने भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij