
भैरहवा । जिल्ला प्रहरी रुपन्देहीले कडाइ गरेपछि भन्सार छली गरेर भित्र्याइएका सामान धमाधम बरामद हुन थालेका छन्। चालु आर्थिक वर्षको साउनदेखि भदौ पहिलो सातासम्म प्रहरीले सवा चार करोड रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको हो।
जिल्ला प्रहरीका अनुसार गत साउन महिनामा मात्र २ करोड १७ लाख ८७ हजार ३ सय ५९ रुपैयाँ बराबरका सामान बरामद गरिएको थियो। त्यस्तै, भदौ पहिलो सातामात्रै १ करोड ९४ लाख ३८ हजार ५ सय रुपैयाँ बराबरका सामान र सवारी साधन नियन्त्रणमा लिइएको छ। प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार यसरी सामान ओसारपसारमा संलग्न केही व्यक्तिहरूलाई समेत पक्राउ गरिएको छ।
बरामद सामानमध्ये कपडा, हार्डवेयर, किराना, ब्रोइलर कुखुरा, रेडबुल, तार, विद्युतीय चुरोटसहितका वस्तु प्रमुख रहेका छन्। केही दिनअघि मात्रै लुम्बिनी क्षेत्रबाट पिकअप गाडीमा ल्याइँदै गरेका १ करोड ७१ लाख २५ हजार रुपैयाँ बराबरका सामान बरामद गरिएको थियो। यी सबै सामानहरूलाई भैरहवा भन्सार, पशु क्वारेन्टाइन कार्यालय र राजस्व अनुसन्धान कार्यालयमा थप कारबाहीका लागि बुझाइएको छ।
प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीका अनुसार साउन महिनामा मात्र १३ लाखका किराना, ८८ लाखका कपडा, २८ लाखका चल्ला तथा कुखुरा, ६९ लाखका सवारीसाधन लगायतका सामान बरामद भएका थिए। उनले थपे, यस अवधिमा गैरकानुनी क्रियाकलापमा संलग्न २२ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ भने ५६ वटा मोटरसाइकल, १ ट्रक र २ अटो नियन्त्रणमा लिइएको छ।
त्यसैगरी प्रहरीले अवैध माटो तथा बालुवा उत्खननमा प्रयोग भएका ४ वटा ट्र्याक्टर र ३ वटा टिपर नियन्त्रणमा लिएर सम्बन्धित पालिकामा पठाएको छ। साथै, भदौ पहिलो साता नक्कली शैक्षिक प्रमाणपत्र बनाउने एक नेपाली र एक भारतीय नागरिकलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij