Logo

Aug 26 2025 | २०८२, भदौ १०गते

Aug 26 2025 | २०८२, भदौ १०गते

images

कांग्रेस सांसद ईश्वरीदेवी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा उम्मेदवार

कांग्रेस सांसद ईश्वरीदेवी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा उम्मेदवार

  • काठमाडौँ । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा उम्मेदवारी दर्ता गरेकी छन्।

    मंगलबार तोकिएको समयमा उनले उम्मेदवारी दर्ता गरेको सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज राईले जानकारी दिए। न्यौपानेको उम्मेदवारीमा कांग्रेस सांसद रामहरि खतिवडा प्रस्तावक र एमाले सांसद कृष्णगोपाल श्रेष्ठ समर्थक रहेका छन्। खतिवडा यसअघि समितिका सभापति थिए तर कुलिङ पिरियडसम्बन्धी विवादपछि गत साउन २८ गते उनले राजीनामा दिएका थिए।

    यसअघि कांग्रेसका शीर्ष नेताहरूको बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार उनले संसदीय सुनुवाइ समिति (संयुक्त)बाट राजीनामा दिएकी थिइन्।

    न्यौपाने कांग्रेसबाट समानुपातिक सांसद हुन्। उनलाई यसअघि कांग्रेसले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवार बनाएको थियो तर उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरसँग पराजित भएकी थिइन्।

    राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचन बुधबार दिउँसो ३ बजे समितिको बैठकमै हुने कार्यतालिका संघीय संसद् सचिवालयले सार्वजनिक गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij