Logo

Sep 01 2025 | २०८२, भदौ १६गते

Sep 01 2025 | २०८२, भदौ १६गते

images

झुलाघाटमा पुल र पञ्चेश्वर परियोजना अगाडि बढ्छः मन्त्री भण्डारी

झुलाघाटमा पुल र पञ्चेश्वर परियोजना अगाडि बढ्छः मन्त्री भण्डारी

  • बैतडी।उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लिपुलेक व्यापारिक मार्ग बनाउने भारत–चीनको सहमतिप्रति नेपालको आपत्ति रहेको बताउनुभएको छ । आज गृह जिल्ला बैतडीको मेलौलीमा गौरापर्वको शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाटका क्रममा मन्त्री भण्डारीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा आपत्ति रहेको बताउनुभएको हो । “नेपालसँग कुनै परामर्श नगरी नेपाली भूमिमा व्यापारिक मार्ग बनाउने कुराको बारेमा कूटनीतिक रुपमा कुरा भइरहेको छ”, उहाँले भन्नुभयो, “नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा आपत्ति छ ।

    यो विषयमा चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा पनि राख्नुभएको छ । यो विषयमा चीनले सहयोग गर्ने कुरामा विश्वास छ ।” चीन भ्रमणपश्चात् प्रधानमन्त्रीको भारत भ्रमण पनि रहने र भारतमा पनि यो विषय प्राथमिकतामा रहने भण्डारीले बताउनुभयो । यस्तै उहाँले भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेबल पुल र पञ्चेश्वर परियोजना अगाडि बढ्ने तयारी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “एकीकृत महाकाली सन्धि, पञ्चेश्वर परियोजनाका बारेमा प्रधानमन्त्रीले कुरा राख्नुभएको छ । सम्भवत यो वर्ष सन्धिलाई कार्यान्वयन गरेर अगाडि बढ्नेछौँ । जसका लागि भारतकोे पनि सहमति आवश्यक पर्दछ ।”

    दोधारा चाँदनी सुक्खा बन्दरगाह, महाकाली करिडोरलगातयका विषय पनि प्राथमिकतामा रहेको मन्त्री भण्डारीले बताउनुभयो । यसका साथै उहाँले बैतडीको समग्र विकासका लागि आफू लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “बैतडीको विकासका लागि थुप्रै बजेट हुने गरेको भए पनि कार्यान्वयनमा समस्या हुँदै आएको छ । ठेकेदारले समयमै काम नगर्ने, स्थानीयबीचको विवादलगायतले समस्या देखिएको छ । यो समस्या समाधान स्थानीयस्तरबाटै गर्नुपर्छ ।” ---

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij