Logo

Sep 01 2025 | २०८२, भदौ १६गते

Sep 01 2025 | २०८२, भदौ १६गते

images

पर्यटन प्रवर्द्धनगर्न जनकौली वनमा जिप सफारी

पर्यटन प्रवर्द्धनगर्न जनकौली वनमा जिप सफारी

  • नारायणगढ (चितवन)। चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहाको आडैमा अवस्थित जनकौली मध्यवर्ती सामुदायिक वनमा जिप सफारी सेवा सुरु गरिएको छ । पर्यापर्यटन प्रवर्द्धन र स्थानीय समुदायको जीवनस्तर उकास्ने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको हो । सौराहा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई एकसिङ्गे गैँडा, बाघ, जङ्गली हात्ती, भालु, चितुवा, चित्तल, जरायोजस्ता दुर्लभ वन्यजन्तुको अवलोकन गराउने लक्ष्यसहित सफारी सुरु गरिएको वनका अध्यक्ष जोगेन्द्र महतोले बताउनुभयो । विसं २०६० देखि मध्यवर्तीसँग जोडिएको यस सामुदायिक वन करिब एक सय छ हेक्टर क्षेत्रफलमा फैलिएको छ । झण्डै दुई हजार उपभोक्ता रहेको वनमा २०६६ सालदेखि यहाँ रहेको ढुङ्ग्रेखोलामा डुङ्गा सेवा पनि सञ्चालनमा रहेको महतोले जानकारी दिनुभयो । उहाँका अनुसार सफारीका लागि रुटमा पर्यटकले डेढदेखि दुई घण्टासम्म जङ्गल डुल्न सक्ने व्यवस्था मिलाइएको छ ।

    प्रत्येक जिपका लागि रु आठ सय प्रवेश शुल्क र रु पाँच सय संरक्षण शुल्क तोकिएको छ । हाल बिहान र बेलुका गरेर १४ वटा जिप रहेका छन् । जिप सफारीको सुरुआतसँगै चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत गणेश पन्तले जनकौलीको जिप सफारी अन्य मध्यवर्ती क्षेत्र विशेषतः बरण्डाभारको सफारीभन्दा छोटो र फरक प्रकृतिको भएको उल्लेख गर्दै यसले पर्यटकीय सम्भावना अझ विस्तार गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा आउने ६० प्रतिशतभन्दा बढी पर्यटक संरक्षित क्षेत्रको भ्रमण गर्दछन् । यस क्षेत्रमा पनि त्यसअनुसारको सम्भावना छ । मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई न्यूनमा झार्ने प्रयास गर्दै, व्यवस्थित रूपमा गतिविधि सञ्चालन गर्न आवश्यक छ ।” पन्तले राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र फरक प्रकृतिका संरचना भएको उल्लेख गर्दै सामुदायिक वनमा सञ्चालन हुने पर्यटकीय गतिविधिका लागि मध्यवर्ती क्षेत्रको कानुन संशोधन आवश्यक रहेको औँल्याउनुभयो ।

    उहाँले सोहीअनुसार हाल वन तथा वातावरण मन्त्रालयले कार्यदल गठन गरी ‘मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली’ संशोधन प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो । सामुदायिक वनमा जिप सफारीबाट रोजगारी, आयआर्जन र दीर्घकालीन वन्यजन्तु संरक्षणसँग जोडेर अगाडि बढाउनुपर्नेमा जोड दिँदै वरिष्ठ संरक्षण अधिकृत पन्तले आवश्यक सहयोग प्रदान गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका अन्य केही मध्यवर्ती सामुदायिक वनमा यसअघि नै जिप सफारी सञ्चालन भइसकेका छन् । –––

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij