
काठमाडौं ।नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समितिलाई ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले कडा चेतावनी दिएको छ। आइतबार ओसिएका महानिर्देशक हुसेन अल मुसल्लमले समितिका संयोजक ध्रुवबहादुर प्रधानलाई पत्र लेख्दै ओसिको लोगो अनधिकृत रूपमा प्रयोग नगर्न सूचित गरेका हुन्।
पत्रमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र एनओसीलाई समेत बोधार्थ गरिएको छ। ओसिएले पत्रमार्फत लोगोको दुरुपयोग तत्काल बन्द नगरे कानुनी कारबाही अघि बढाइने चेतावनी दिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन र खेलकुदमन्त्री तेजुलाल चौधरीको पहलमा गत साउन २७ गते नौ सदस्यीय तदर्थ समिति गठन गरिएको थियो। समितिमा निलेन्द्रराज श्रेष्ठ र रवि राजकर्णिकारसहित अन्य खेल संघका पदाधिकारीहरु रहेका छन्।
तदर्थ समितिले जीवनराम श्रेष्ठ अध्यक्ष रहेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीलाई अवैधानिक ठहर गर्दै आफूहरूले नै नेपालमा ओलम्पिक अभियान सञ्चालन गर्ने दाबी गर्दै आएको छ। यसै क्रममा समितिले आगामी वर्ष जापानको नागोया र आइचीमा हुने २०औं एसियाली खेलमा नेपाली खेलाडी सहभागी गराउने दाबीसमेत गरेको छ।
तर यसअघि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट मान्यता प्राप्त एनओसीलाई अस्वीकार गर्दै गरिएको सरकारी पहल आयोजक समितिबाटै अस्वीकार भएको थियो। हाल तदर्थ समितिले २७ मध्ये २३ खेल संघ आफ्नो पक्षमा रहेको दाबी गर्दै आएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij