
काठमाडौँ । सुनमा विलासिता कर अब उपभोक्ताबाट मात्र संकलन गरिने व्यवस्थालगायतका नयाँ व्यवस्था लागु गरिएको छ ।नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुन, चाँदी, रत्न तथा आभूषण व्यवसायमा लागू हुने विलासिता शुल्क सम्बन्धमा नयाँ व्यवस्था लागू भएको जानकारी दिँदै यस्तो जनाएको हो ।
महासंघले सोमबार जारी गरेको सूचना अनुसार अब विलासिता शुल्क उपभोक्ताबाट मात्रै संकलन गरिने व्यवस्था लागु गरिएको छ । यस अर्थमा व्यवसायी वा बैंक, होलसेलरबाट खरिद गर्दा शुल्क नलाग्ने भएको हो ।साथै उपभोक्ताले खरिद गरेको सुन फिर्ता गर्दा पनि कुनै शुल्क नलाग्ने महासंघले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।
महासंघले आफ्नो पत्रमार्फत सम्पूर्ण सदस्य व्यवसायीलाई नयाँ कार्यविधि अनुसार कारोबार संचालन गर्न अनुरोध गरेको छ। यस कार्यविधि अन्तर्गत मर्मतका लागि ल्याएको गरगहना शुल्कमुक्त हुनेछ । तर यदि सुन थप गरिएको भए थपिएको सुनमा मात्र शुल्क लाग्ने छ । यसैगरी विदेशबाट ल्याइएको सुन प्रमाण सहित मात्र खरिद गर्न सकिने छ भने विलासिता शुल्क मासिक आधारमा भुक्तानी गर्नुपर्ने र बिल तयार गरी प्रमाणित कार्यालयबाट प्रमाणीकरण गराउने व्यवस्था गरिएको महासंघका महासचिव निरबहादुर विश्वकर्माले विज्ञप्ति मार्फत् जानकारी दिएका छन् ।
यसैगरी कालिगढहरुले पान नम्बर लिएर मात्र गहना निर्माण र ओसारपसार गर्न सक्ने छन् । मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी नियमअनुसार ५० लाख रुपैयाँभन्दा बढी पत्थरको बिक्रीमा मात्रै दर्ता अनिवार्य हुने जनाइएको छ ।
विश्वकर्माले व्यवसायीहरूलाई नयाँ कार्यविधि अनुसार विलासिता शुल्क उपभोक्ताबाट संकलन गरी लागू गर्न अनुरोध गरेका छन्। यसअघि आर्थिक वर्ष २०८२÷०८३ को बजेटमार्फत सरकारले सुन तथा सुनका गहना कारोबारमा तहगत रूपमा २ प्रतिशत विलासिता कर लगाउनुका साथै हिरा तथा बहुमूल्य गहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरिएपछि व्यवसायीले विरोध प्रदर्शन र पसल बन्द गरी त्यसको विरोध गरेका थिए ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij