
काठमाडौँ । भारत र चीनबीचको सहमतिले नेपालको पर्यटन क्षेत्रलाई ठुलो धक्का लाग्ने भएको छ । भारतीय पर्यटकहरू नेपालको बाटो भएर कैलाश मानसरोवरको तीर्थाटनमा जाने गरेकोमा अब भारतबाट सिधा चीन जान पाउने सहमति भएको हो ।
यसबाट नेपालको पर्यटन व्यवसायमा धक्का पुग्ने भएको चिन्ता चासो यस क्षेत्रका पर्यवेक्षकहरूमा चल्न थालेको हो । नेपालतर्फ चल्तीमा रहेका रसुवागढी र हिल्सा नाका प्रयोग गर्दै यो वर्ष वर्ष २०,००० भन्दा बढी भारतीय पर्यटकलाई मानसरोवर पुर्याउने उद्देश्य रहेको थियो । त्यसबाहेक काठमाण्डूबाट ल्हासासम्म हुने सोझो उडानबाट पनि केही पर्यटकहरू त्यसतर्फ जान्छन्। यो वर्ष रसुवामा बाढी आएर मितेरी पुल बगाइ दिएकोले बाटो अवरुद्ध रहेको छ ।
पर्यटन व्यवसायीहरूका अनुसार रसुवागढीबाट कैलास मानसरोवर जाने पर्यटकहरूले यात्रा प्याकेजका लागि कम्तीमा २ लाख भारतीय रुपैयाँ र हवाई मार्गबाट हुम्ला हुँदै जानेहरूले कम्तीमा ३ लाख भारतीय रुपैयाँ खर्च गर्दै आएका छन्। नेपाली पर्यटन व्यवसायीहरूले करिब ५,००० डलरसम्मको यात्रा प्याकेज कैलास मानसरोवरका लागि रहेको बताउने गरेका छन्।
मे महिनादेखि सेप्टेम्बर महिनाबीचको समयलाई कैलास मानसरोवर तीर्थयात्रामा जाने समय मानिन्छ। सन् २०१९ मा झन्डै ५०,००० पर्यटकहरू नेपाल हुँदै त्यहाँ गएको पर्यटन व्यवसायीहरू बताउँछन्।
चीनमा आयोजित संघाई सहयोग संगठनमा भाग लिन पुगेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच दुई पक्षीय सम्बन्धको बारेमा भएको बैठकमा यस्तो सहमति भएको पुनपुषर््िट गरिएको छ । सन् २०२०मा गलवान उपत्यकामा दुवै देशका सेनाहरूबीच भएको भिडन्तपछि दुवै देशको सम्बन्धमा सुधार आएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट अमेरिका आयात गरिने सामानमाथि ५० प्रतिशत ट्यारिफ अर्थात् भन्सार लगाएपछि चीन र भारतबीचको सम्बन्धमा सुधार हुन पुगेको हो । सम्बन्ध सुधार भएयता प्रधानमन्त्री मोदीको यो चीन यात्रा सात वर्ष पछि भएको हो । दुई पक्षले जारी गरेको विज्ञप्तिमा विवरण विस्तृत रूपमा दिइएको छैन। तर दुवै पक्षले दुई देशमा बस्ने कुल २.८ अर्ब मानिसलाई लाभ पुग्ने गरी आफूबीच विद्यमान मतभेद समाधान गर्ने वाचा गरेका छन्।
उक्त बैठकमा मोदी र सी तत्काल लागु हुने गरी दुई देशबीच सीधा उडान गर्न र भिसा जारी गर्न प्रक्रिया सरल बनाउन सहमत भए। सहमत भएपनि यी दुई देशले हटाउनुपर्ने ठूला अवरोधहरू बाँकी नै छन्।
सन् २०१४ मा प्रधानमन्त्री बनेपछि मोदीले भारत–चीन सम्बन्ध सुधारका लागि व्यक्तिगत रुचि देखाए। उनले सन् २०१८ सम्म पाँच पटक चीनको भ्रमण गरेका थिए ।
तर सन् २०२० मा दुई देशको सीमामा भएको सैन्य झडपले त्यो गति बिथोलियो। फेरि चीन जान मोदीले सात वर्ष कुर्नुप¥यो।
मोदी–सी बैठकपछि भारत र चीनद्वारा जारी विज्ञप्तिमा सीमामा शान्ति कायम गर्ने र “मतभिन्नतालाई झगडामा परिवर्तन हुन नदिने”उल्लेख गरिएको छ ।मोदी र सीबीच भएका सहमतिमा लिपुलेक भएर दुई देशबीचको व्यापार र आवतजावत खुला गर्ने सहमतिले नेपालको पर्यटन क्षेत्रलाई धक्का पुग्ने देखिएको छ । सीसँगको दुईपक्षीय बैठकमा मोदीले कैलाश मानवसरोवर जान पाउने खुला बाटोको विषयमा चीनको प्रशंसा गरेका थिए । लिपुलेक बिन्दुबाट दुई देशबीचको व्यापार प्रबद्र्धन गर्ने प्रारम्भिक सम्झौता मोदीले सन् २०१४मा गरेको चीन भ्रमणका बेला गरेका थिए । त्यसलाई थप परिमार्जन गरिएको छ ।
भारतबाट मानवसरोवरमा तीर्थाटन गर्न जानेहरू नेपाल भएर जाने गरेका छन् । यसबाट नेपाल पर्यटन व्यवसायीहरूलाई लाभ हुने गरेको पर्यटन सम्बद्धहरूको भनाइ छ । तर भारत र चीनबीच भएको यो सम्झौताले पर्यटन क्षेत्रलाई धक्का लाग्ने भएपनि त्यसले कतिको क्षति हुने त्यसको यकिन हुन बाँकी रहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij