
काठमाडौं ।दोस्रो बजारका चर्चित लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले केही दिनअघि आफ्नो फेसबुक पेजमा १५ मिनेटको Weighted Average मा नेप्सेको Closing Index नमिलेको भन्दै प्रश्न उठाएपछि बजारमा व्यापक चर्चा भएको छ। पौडेल मात्र नभई अन्य लगानीकर्ताले समेत सामाजिक सञ्जालमार्फत गणना विधि नमिलेको भन्दै विरोध जनाउँदै आएका छन्।
लगानीकर्ताले १५ मिनेटको भरित औसत खारेज गर्नुपर्ने माग गर्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र नेपाल धितोपत्र बोर्डमा समेत गुनासो दर्ता गराएका छन्। नेप्सेले भने आफ्नो गणना विधि सही रहेको र यसलाई खारेज गर्न नसकिने तर्क प्रस्तुत गरेको छ।
यता नेपाल धितोपत्र बोर्डले गुनासो दर्ता भएपछि तथ्य पत्ता लगाउन उप कार्यकारी निर्देशक दीपेश ताम्राकारको संयोजकत्वमा चार सदस्यीय अध्ययन समिति गठन गरेको छ। समितिले गणनामा के भएको हो भन्नेबारे अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ। त्यसपछि आवश्यक निर्णय गर्ने बोर्डका प्रवक्ता निरन्जय घिमिरेले जानकारी दिए।
लगानीकर्ताले भने हाल शेयर बजारमा देखिएको गिरावटको मुख्य कारण यही गणना विधि भएको दाबी गर्दै आएका छन्। उनीहरूको भनाइमा कारोबार अवधिभरको तल्लो बिन्दुभन्दा तल नेप्से क्लोजिङ हुन नसक्ने भए पनि अहिलेको प्रणालीले गलत परिणाम दिइरहेको छ।
नेप्सेले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त विधि प्रयोग गर्ने दाबी गरे पनि अझै पनि म्यानुअल गणनामा निर्भर रहँदा बारम्बार मानवीय त्रुटी (Human Error) आउने गरेको छ। सफ्टवेयर प्रणाली विकास नगरी क्यालकुलेटर र एक्सेलमार्फत गणना गर्ने चलनकै कारण लगानीकर्ताको असन्तोष बढेको हो।
यसैबीच, दोस्रो बजारका लगानीकर्ता सुभाषचन्द्र ढुङ्गानाले फेसबुकमार्फत अम्बिकाप्रसाद पौडेललाई मेन्सन गर्दै कम्पाउन्डिङ इफेक्टकै कारण सानो त्रुटीले ठूलो प्रभाव पार्न सक्ने बताएका छन्। उनले हालको बजार पुँजीकरण (४६ खर्ब) र सूचक (२७६६) अनुसार बजार १ अंक घट्दा करिब १ अर्ब ६७ करोडले पुँजीकरण घट्ने तथ्यांक पेश गर्दै २.३४ अंकको गणनात्मक फरक हुँदा झन्डै ४ अर्ब मूल्य स्वाह भएको दाबी गरे।
ढुङ्गानाको भनाइमा, सानो त्रुटी दोहोरिँदै गए बजार पुँजीकरण वर्षौंमै शून्य हुने खतरा रहन्छ। उनका अनुसार, समस्या सानो भए पनि सुरुमा नियन्त्रण गर्न सजिलो हुन्छ, ढिलो नगरी सुधार गर्न आवश्यक छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij