Logo

Sep 05 2025 | २०८२, भदौ २०गते

Sep 05 2025 | २०८२, भदौ २०गते

images

चीनसँग जोडिएका दुई प्रमुख नाका बन्द, दशैंमा आयात प्रभावित

चीनसँग जोडिएका दुई प्रमुख नाका बन्द, दशैंमा आयात प्रभावित

  • काठमाडौँ । नेपाल र चीनबीचका दुई प्रमुख व्यापारिक नाका तातोपानी र रसुवागढी बाढी र वर्षाका कारण विगत दुई महिनादेखि बन्द हुँदा यसपालिको दशैंमा आवश्यक सामान आयातमा समस्या परेको व्यवसायीहरुले बताएका छन्।

    बाढीपछि सडक र मितेरी पुल अवरुद्ध

    २०८२ असार २४ मा आएको बाढी तथा त्यसपछिका निरन्तर वर्षाले सडकमार्ग भत्किनुका साथै मितेरी पुल पूर्णरुपमा बगाएको थियो। त्यसपछि तातोपानी र रसुवागढी भन्सार नाकाहरु ठप्प भएका छन्। अस्थायी रूपमा सञ्चालन गर्न खोजिए पनि वर्षा सुरु हुनेबित्तिकै सडकमार्ग फेरि अवरुद्ध हुने गरेको अधिकारीहरुले बताएका छन्।

    तातोपानी भन्सारमा राजश्व संकलन प्रभावित

    तातोपानी भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८२/०८३ मा २४ अर्ब ४७ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको भए पनि नाका बन्द भएपछि लक्ष्य पुरा गर्न कठिन भएको छ। प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालका अनुसार, साउन–भदौ महिनामा २ अर्ब ४४ करोड राजश्व संकलन गर्ने लक्ष्य राखिए पनि १ अर्ब ४७ करोडमात्र संकलन भएको छ।

    लत्ता कपडा र खाद्य सामग्री अभाव

    तातोपानी नाका बन्द हुँदा लत्ता कपडाजन्य वस्तु आयातमा व्यवसायीहरुले समस्या भोगिरहेका छन्। कतिपय व्यापारीहरुले भने दशैंअघि तरकारी र फलफूल बोकेर वा भरियाको सहायतामा भन्सार पास गराउन थालेका छन्। ठूला मालबाहक गाडी चल्न नसक्दा सामान्य आयात पनि प्रभावित भएको छ।

    रसुवागढी नाका पनि ठप्प

    तातोपानी मात्र होइन, रसुवागढी नाकासमेत डेढ महिनादेखि बन्द छ। चालु आवमा झन्डै ४० अर्ब राजश्व संकलन गर्ने लक्ष्य राखिएको रसुवा भन्सार कार्यालयले साउन र भदौ महिनामा नगन्य मात्रामा मात्र राजश्व संकलन भएको जनाएको छ।

    दशैंअघि नाका नखुल्ने

    रसुवा भन्सारका सूचना अधिकारी रविन्द्रप्रसाद प्याकुरेलका अनुसार, मितेरी पुलमा पानीको बहाव बढेकाले बेलिब्रिज निर्माण ढिलाइ भइरहेको छ। यस कारण दशैंअघि नाका सुचारु हुने सम्भावना न्यून रहेको र अहिले भन्सार जाँचपासलगायतका काम ठप्प रहेको जानकारी दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij