Logo

Sep 03 2025 | २०८२, भदौ १८गते

Sep 03 2025 | २०८२, भदौ १८गते

images

सङ्घसंस्था ऐनको मस्यौदामाथि नागरिक समाजको असहमति, थप छलफलको माग

सङ्घसंस्था ऐनको मस्यौदामाथि नागरिक समाजको असहमति, थप छलफलको माग

  • काठमाडौँ ।गृह मन्त्रालयले सार्वजनिक गरेको सङ्घसंस्था ऐन २०८२ को मस्यौदाप्रति नागरिक समाज र सरोकार भएका निकायले गम्भीर असहमति जनाउँदै समावेशी छलफलको माग गरेका छन् ।  

    आज राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स) द्वारा आयोजित छलफल कार्यक्रममा मानव अधिकार एलायन्सका अध्यक्ष विदुर सुवेदीले राष्ट्रिय निर्देशन ऐन २०१८, संस्था दर्ता ऐन २०३४ र समाजकल्याण परिषद् ऐन २०४९ लाई एकीकृत गरी ल्याइएको नयाँ मस्यौदाले संविधानमा सुनिश्चित नागरिक स्वतन्त्रता सङ्कुचित गर्ने खतरा रहेको बताउनुभयो ।   

    उहाँले संविधानको धारा १७ मा व्यवस्था गरिएको सङ्गठन निर्माण गर्ने, अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेला हुने अधिकारलाई मस्यौदाले चुनौती दिएको बताउनुभयो ।

      किडार्क नेपालकी अध्यक्ष सम्झना मल्ल शाहले मस्यौदामा सङ्घसंस्थाविरोधी प्रावधान रहेको उल्लेख गर्दै यसलाई संविधान अनुकूल बनाउन व्यापक परामर्श आवश्यक रहेको बताउनुभयो ।  

    नेपाल युवा संस्था सञ्जाल (आयोन) का महासचिव ललित ओझाले मस्यौदाले गैरसरकारी, नागरिक तथा सामुदायिक सङ्गठनको स्वतन्त्र कामकाजमा अवरोध ल्याउने, दर्ता तथा सञ्चालन प्रक्रियामा अनावश्यक प्रशासनिक झन्झट र सरकारप्रतिको निर्भरता बढ्ने अवस्था सिर्जना गर्ने टिप्पणी गर्नुभयो ।
      गैरसरकारी संस्था महासङ्घका अध्यक्ष अर्जुन भट्टराईले कानुन निर्माणमा हतार र परामर्शहीन प्रवृत्तिले लोकतन्त्र कमजोर हुने भन्दै दीर्घकालीन प्रभावको अध्ययन अनुसन्धान र पर्याप्त छलफल नगरी विधेयक ल्याउने कार्य खतरनाक भएको बताउनुभयो । उहाँले दशकौँको सङ्घर्ष र मेहनतले बनेको संविधान विपरीत हाल राजनीतिक दल र सांसदहरूको भूमिका कमजोर भएको भन्दै यस्ता प्रवृत्ति निरन्तर रह्यो दुर्भाग्य हुने जिकिर गर्नुभयो । 
    कार्यक्रमका अन्य सहभागीले सङ्घसंस्थालाई स्वतन्त्र र सहज वातावरणमा काम गर्ने सुनिश्चितताका लागि थप छलफल गर्नुपर्ने माग गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij