
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज भदौ १७ मंगलबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
शेयर बजार : नेप्से परिसूचक १९.८९ अंकले घटेर २,७४१.९७ बिन्दुमा, ४ अर्ब ४३ करोड बढीको कारोबार
काठमाडौँ । आज मंगलबार शेयर बजारमा नेप्से परिसूचकसँग कारोबार पनि झरेको छ । मंगलबार १७.७६ बिन्दुको गिरावट भई २७४४.०९ बिन्दुमा नेप्से झरिरहेका बेला कुल कारोबार करिब एक अर्बले घटेर ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार ८सय १२ रुपैयाँ ७१ पैसा बराबर भएको छ ।
मंगलबार १ करोड ५ लाख ३५ हजार ८७४ कित्ता शेयरको खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।
नबिल म्युचुअल फण्ड अन्तर्गतको एन आई ३१ योजनाको इकाई बाँडफाँट सम्पन्न
काठमाडौं ।नबिल बैंक लिमिटेड कोष प्रबर्द्धक र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित नबिल म्युचुअल फण्ड अन्तर्गतको एन आई ३१ नामक खुलामुखी योजनाको इकाई बाँडफाँट सम्पन्न भएको छ।
नबिल इन्भेष्टमेन्टले प्रतिएकाई १० रुपैयाँ अंकित मूल्यका दरमा कुल २ करोड ५० लाख इकाईमध्ये पहिलो चरणमा १ करोड ५० लाख इकाई साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको थियो। सोमध्ये १५ प्रतिशत अर्थात् ३७ लाख ५० हजार इकाई योजना व्यवस्थापकका लागि सुरक्षित राखी बाँकी १ करोड १२ लाख ५० हजार इकाई सर्वसाधारण लगानीकर्तामाझ वितरण गरिएको हो।
दैलेखको पेट्रोलियम अन्वेषण : नमूनाको विस्तृत प्रतिवेदनका पर्खाइमा
जलजले । पेट्रोलियम अन्वेषणका क्रममा चिनियाँ र नेपाली प्राविधिकको निकै चहलपहल रहेको दैलेखको भैरवी गाउँपालिका–१ को जलजले क्षेत्र आजकल सुनसान छ । पेट्रोलियम ड्रिलिङ गरिएको क्षेत्रलाई सशस्त्र प्रहरी बल नेपालले सुरक्षा दिइरहेका छन् । दैलेखमा पेट्रोलियम पदार्थको ठूलो भण्डारण पुष्टि भएको खबरबाट सिङ्गो मुलुक उत्साहित छ ।
खानी तथा भूगर्भ विभागको नेतृत्वमा चीनको जिओलोजिकल सर्भे कम्पनीले थालेको अन्वेषणबाट जलजले क्षेत्रमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको विशाल भण्डारणस्थल रहेको पुष्टि भइसकेको छ । विसं २०७८ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो ड्रिलिङ कार्य चार हजार १३ मिटर गहिराइमा पुर्याइएको थियो । यसबाट सङ्कलन गरिएका नमूनाको परीक्षणमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पाइएको छ ।
सागर डिष्टिलरीले भदौ २५ देखि आईपीओ निष्काशन गर्ने
काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आगामी भदौ २५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरेको कम्पनीले अब सर्वसाधारणलाई पनि सेयर जारी गर्न लागेको हो।
कम्पनीले कुल ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ९० हजार ६४० कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई उपलब्ध गराउनेछ। यस आईपीओमा आवेदन भदौ २९ गतेसम्म दिन सकिनेछ भने सो अवधिमा पर्याप्त आवेदन नपरेमा असोज ८ गतेसम्म अवधि लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
सुनको मूल्यमा निरन्तर किर्तीमान,सुन तोलाको २ लाख ६ हजार पुग्यो
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य लगातार नयाँ कीर्तिमान तोड्दै अघि बढिरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर २ लाख ६ हजार नजिक पुगेको हो। यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा २ हजार ४७० रुपैयाँ रहेको चाँदी मंगलबार १५ रुपैयाँले वृद्धि भई २ हजार ४८५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ।
सङ्घसंस्था ऐनको मस्यौदामाथि नागरिक समाजको असहमति, थप छलफलको माग
काठमाडौँ ।गृह मन्त्रालयले सार्वजनिक गरेको सङ्घसंस्था ऐन २०८२ को मस्यौदाप्रति नागरिक समाज र सरोकार भएका निकायले गम्भीर असहमति जनाउँदै समावेशी छलफलको माग गरेका छन् ।
आज राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स) द्वारा आयोजित छलफल कार्यक्रममा मानव अधिकार एलायन्सका अध्यक्ष विदुर सुवेदीले राष्ट्रिय निर्देशन ऐन २०१८, संस्था दर्ता ऐन २०३४ र समाजकल्याण परिषद् ऐन २०४९ लाई एकीकृत गरी ल्याइएको नयाँ मस्यौदाले संविधानमा सुनिश्चित नागरिक स्वतन्त्रता सङ्कुचित गर्ने खतरा रहेको बताउनुभयो ।
सङ्घ, संस्थालाई नागरिक समाज संस्था सहजीकरण प्राधिकरणमार्फत व्यवस्थित गर्न गृहमन्त्रीसमक्ष माग
काठमाडौँ।सङ्घ, संस्थालाई निजामती कर्मचारी रहने विभाग मातहत नराखी नागरिक समाज संस्था सहजीकरण प्राधिकरणमार्फत व्यवस्थित गर्न गृहमन्त्री रमेश लेखकसँग माग गरिएको छ । दुई दर्जन बढी नागरिक समाजका संघ संस्थाका प्रतिनिधिले आज गृहमन्त्री लेखकलाई यहाँ मन्त्रालयमा भेटगरी ज्ञापनपत्रसहित यस्तो माग गरिएको सामुदायिक सारथी संस्थाका ताराबहादुर भण्डारीले जानकारी दिनुभयो । ज्ञापनपत्रमा नागरिक समाज संस्था तल्लो तहसम्म पुग्ने लोकतन्त्रका खम्बा भएकाले यी संस्थालाई नियमन गरिनुपर्ने तर नियन्त्रण गर्न नहुनेमा जोड दिएको उहाँले सुनाउनुभयो ।
काठमाडौँ । नेपाल र चीनबीचका दुई प्रमुख व्यापारिक नाका तातोपानी र रसुवागढी बाढी र वर्षाका कारण विगत दुई महिनादेखि बन्द हुँदा यसपालिको दशैंमा आवश्यक सामान आयातमा समस्या परेको व्यवसायीहरुले बताएका छन्।
बाढीपछि सडक र मितेरी पुल अवरुद्ध
२०८२ असार २४ मा आएको बाढी तथा त्यसपछिका निरन्तर वर्षाले सडकमार्ग भत्किनुका साथै मितेरी पुल पूर्णरुपमा बगाएको थियो। त्यसपछि तातोपानी र रसुवागढी भन्सार नाकाहरु ठप्प भएका छन्। अस्थायी रूपमा सञ्चालन गर्न खोजिए पनि वर्षा सुरु हुनेबित्तिकै सडकमार्ग फेरि अवरुद्ध हुने गरेको अधिकारीहरुले बताएका छन्।
दशैंका लागि खरिद गर्न चाहनेहरूका लागि खसी, बोका र च्याङ्ग्राको अनलाइन बुकिङ खुला
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि खरिद गर्न चाहनेहरूका लागि खसी, बोका र च्याङ्ग्राको अनलाइन बुकिङ खुला गरेको छ । कम्पनीका अधिकारीहरूका अनुसार मंगलबार बिहानदेखि सो बुकिङ खुला गरिएको हो ।
अनलाइन बुकिङ ३० भदौसम्म जारी रहने जनाइएको छ । उपभोक्ताले कम्पनीको अनलाइन पोर्टलमा गएर आफूलाई चाहिएको खसी, बोका वा च्याङ्ग्रा छनोट गर्न सक्नेछन् । बुकिङ गर्दा एक पटकमा अधिकतम १० वटासम्म छनोट गर्न सकिने व्यवस्था गरिएको छ ।
धौलागिरी लघुवित्तको संस्थापक र कर्मचारीतर्फको शेयरको लकइन भदौ १९ गतेपछि सकिँदै
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापकतर्फको २ लाख १ हजार कित्ता र कर्मचारीतर्फको २ हजार कित्ता शेयरको लकइन अवधि यही भदौ १९ गतेपछि समाप्त हुने भएको छ।
कम्पनीसँग मर्जर भएको साविक खप्तड लघुवित्त वित्तीय संस्थाले २०७९ भदौ ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको थियो भने भदौ २० गते बाँडफाँट गरेको थियो। सो मितिबाट तीन वर्षसम्म यी शेयर लकइनमा रहेका थिए।
कार्यवाहक प्रधानमन्त्री सिंह र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
काठमाडौँ।कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र विश्बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच भेटवार्ता भएको छ । सहरी विकास मन्त्रालयमा आज भएको उक्त भेटमा विश्व बैंक र मन्त्रालयबीच नयाँ परियोजनामा सहकार्यका बारेमा छलफल भएको छ । बृहत्तर लुम्बिनी क्षेत्र विकास आयोजना र काठमाडौँमा सहरी भौतिक पूर्वाधार निर्माण, फोहरमैला व्यवस्थापन, नदी स्वच्छतालगायत विषयमा छलफल भएको छ । भेटमा उपाध्यक्ष जुटले मन्त्रालयले दुई स्थानमा केन्द्रित भएर योजना अघि बढाउन खोज्नु राम्रो भएको भन्दै सहकार्यका लागि विश्व बैंक सकारात्मक रहेको बताउनुभयो ।
अर्थमन्त्री पौडेल र विश्व बैंक क्षेत्रीय उपाध्यक्ष जुटबीच शिष्टाचार भेट
काठमाडौँ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच शिष्टाचार भेटघाट भएको छ । अर्थ मन्त्रालयमा आज भएको उक्त भेटमा उहाँहरुबीच समग्र अर्थतन्त्र, सहरी तथा भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरणलगायत विषयमा छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ । भेटका क्रममा अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सूचकमा उल्लेखनीय सुधार आएको उल्लेख गर्दै नेपालले नीतिगत, संरचनागत र कार्यान्वयन प्रक्रियामा सुधार गरेको बताउनुभयो । उहाँले विश्व बैंकले आगामी छ वर्षका लागि तयार पारेको ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क’ नेपालमा विकासको आवश्यकता र सरकारको प्राथमिकतासँग तादम्य रहेको उल्लेख गर्दै फ्रेमवर्कअनुसारका आयोजना तथा कार्यक्रम तर्जुमा गर्न सरकार विश्व बैंकसँग मिलेर काम गर्न चाहेको बताउनुभयो ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिदर १६५ रुपैयाँ तीन पैसा र बिक्रीदर १६५ रुपैयाँ ७३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९० रुपैयाँ ४७ पैसा र बिक्रीदर १९१ रुपैयाँ २८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ तीन पैसा र बिक्रीदर १७६ रुपैयाँ ७८ पैसा कायम गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij