Logo

Sep 06 2025 | २०८२, भदौ २१गते

Sep 06 2025 | २०८२, भदौ २१गते

images

पूर्वराष्ट्रपति भण्डारीबिनै एमाले विधान महाधिवेशन सुरु, ओली–भण्डारी सम्बन्ध र नेतृत्व विवाद ‘हट केक’

पूर्वराष्ट्रपति भण्डारीबिनै एमाले विधान महाधिवेशन सुरु, ओली–भण्डारी सम्बन्ध र नेतृत्व विवाद ‘हट केक’

  • ललितपुर ।नेकपा एमालेको विधान महाधिवेशन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बिना नै सुरु भए पनि उनको प्रभाव महाधिवेशनकै मुख्य ‘हट केक’ बनेको छ। भण्डारीको पक्षबाट ईश्वर पोख्रेल र कर्ण थापाले अलग प्रतिवेदन पेश गर्ने तयारी गरेका छन् भने, भण्डारी स्वयंले प्रतिनिधिलाई पत्र पठाउँदै सदस्यता नवीकरण नगर्ने कारण स्पष्ट गरेकी छिन्। महाधिवेशन स्थलमै बाँडिएको उक्त पत्रले एजेण्डाभन्दा बढी ‘भण्डारी फ्याक्टर’ बारे चर्चा चलाएको देखिन्छ।

    पदाधिकारी बैठकमा यसअघि मौन रहेका रामबहादुर थापा बादल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायतका नेताहरु पनि भण्डारीको पक्षमा खुलेसँगै ओली पक्षधर मात्र होइन, अन्य प्रतिनिधिमा पनि मनोवैज्ञानिक दबाब परेको देखिन्छ। यसबीच महाधिवेशन नसकिँदै ओली–भण्डारीबीच सम्झौता हुने सम्भावना एमाले नेताहरुले व्यक्त गरेका छन्। ओली पक्षले ‘यो कार्यकालमा ओली अध्यक्ष, अर्कोमा भण्डारी अध्यक्ष’ भन्ने प्रस्ताव राखेको बताइए पनि महासचिव शंकर पोख्रेल भने असहमत छन्, किनकि उनले आफूलाई नै ओलीको वास्तविक उत्तराधिकारी ठानेका छन्।

    विश्लेषकहरूको भनाइमा, भण्डारीले आगामी महाधिवेशनमै अध्यक्ष बन्छु भन्ने संकेत नदिएको भए विवाद उत्पन्न नै नहुने थियो। ओलीको इगोमाथि चोट पुगेकाले पार्टीले उनलाई रोक्ने कदम चालिएको राजनीतिक विश्लेषक झलक सुवेदीको टिप्पणी छ। अहिले भने एमाले स्पष्ट रूपमा ओली पक्ष र भण्डारी पक्षमा दुई खेमामा विभाजित देखिन्छ, जसको असर २०८४ को निर्वाचनसम्म पर्न सक्ने चेतावनी विश्लेषकहरूले दिएका छन्। बाहिरबाट कडा आलोचना गरिरहे पनि ओली आन्तरिक रूपमा भण्डारीसँग सम्झौता खोजिरहेको बताइन्छ। अब आगामी दिनमा ओली–भण्डारीबीच सहमति हुन्छ कि भन्ने र सो अवस्थामा महासचिव पोख्रेलको भूमिकाबारे राजनीतिक वृत्त नै प्रतीक्षामा छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij