
काठमाडौँ ।मुख्यसचिव एकनारायण अर्यालले आसन्न चाडपर्वमा उपभोग्यवस्तुको सहज आपूर्तिका लागि बजार अनुगमन र मूल्यवृद्धि नियन्त्रणमा ध्यान दिन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ७१औँ बैठकमा उहाँले उपभोग्यवस्तु सुपथ मूल्यमा सहज रुपमा उपलब्ध गराउन साल्ट ट्रेडिङ कम्पनी लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई निर्देशन दिनुभएको हो ।
मुख्यसचिव अर्यालले भन्नुभयो, “चाडपर्वमा उपभोग्यवस्तुको सहज उपलब्धता, महँगी नियन्त्रण तथा नापतौलमा हुने ठगी नियन्त्रण गर्न संयुक्त बजार अनुगमन आवश्यक छ । यस वर्ष राज्यका सबै संयन्त्रले देखिने गरी काम गर्नुपर्छ । यसमा तपाईंहरु गम्भीर भएर लाग्नुस् ।”
उहाँले प्रमुख जिल्ला अधिकारी, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र व्यापार कम्पनीले संयुक्त अनुगमनका लागि तीन दिनभित्र आवश्यक व्यवस्थापन गर्न निर्देशन दिनुभयो । उहाँले बजार अनुगमन, कालोबजारी, अखाद्य वस्तुको बिक्रीवितरण रोक्न सरोकार भएका सबै निकायबीच प्रभावकारी समन्वय जरूरी रहेकामा जोड दिनुभयो । ‘अनलाइन’मार्फत बसको टिकट बिक्री प्रणाली र क्षमताका आधारमा मात्रै टिकट बिक्रीवितरणको व्यवस्था मिलाउन पनि यातायात व्यवस्था विभागलाई मुख्यसचिव अर्यालले निर्देशन दिनुभयो ।
उहाँले शान्तिसुरक्षाको भरपर्दो व्यवस्था गर्न तीनवटै सुरक्षा निकायलाई आग्रह गर्नुभयो । राजस्व छली नियन्त्रण तथा सार्वजनिक बिदामा पनि अत्यावश्यक सेवालाई निरन्तरता दिने व्यवस्था मिलाउन अर्यालले गृह मन्त्रालयलाई समन्वयका लागि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “राजस्व छली नियन्त्रण, वस्तु खरिदको वास्तविक बिल बीजकको सुनिश्चित गरिनुपर्छ । वीरगञ्जमा सामान ‘लोड’ हुन्छ । ठमेलमा बिल बन्छ, यो बदमासी कडाइका साथ नियन्त्रण हुनुपर्छ । व्यावसायिक प्रशासनको प्रत्याभूति दिनसक्नुपर्छ । सुनको बदमासीलाई पनि नियन्त्रण गरिनुपर्छ ।”
मुख्यसचिव अर्यालले प्रदेश र स्थानीय तहका प्रमुखले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर बजार अनुगमनलगायत क्रियाकलापमा सक्रियता देखाउनुपर्नेमा जोड दिनुभयो । बैठकबाट भएका निर्णयको कार्यान्वयनको प्रगति समीक्षा गर्न दसैँअगाडि बैठक बस्ने जानकारी दिँदै उहाँले आआफ्नो क्षेत्रमा इमान्दारिताका साथ क्रियाशील हुन सबैलाई सचेत गराउनुभयो ।
बैठकमा गृह सचिव गोकर्णमणि दुवाडीले चाडपर्वमा महँगी र कालोबजारी नियन्त्रणलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । उहाँले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न पनि आग्रह गर्नुभयो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले चाडपर्वलक्षित खाद्य सहजताका लागि देशभर सुपथ मूल्य पसल खोलिने र आपूर्ति व्यवस्थालाई सहज बनाइने विश्वास दिलाउनुभयो । उहाँले उपभोग्य वस्तुको आपूर्ति सहजता र बजार अनुगमनलाई प्रभावकारी बनाइने उल्लेख गर्नुभयो ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव केशवकुमार शर्माले वर्षाले अवरुद्ध सडक सञ्चालन गर्न र सवारी आवागमनलाई व्यवस्थित बनाउन लागिपर्ने बताउनुभयो । उहाँले दसैँमा बसको यात्रालाई व्यवस्थित बनाउन अनलाइन ‘टिकेटिङ’को व्यवस्था गरिने उल्लेख गर्नुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले जनताले अनुभूत गर्नेगरी सेवा प्रवाह गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटक व्यवस्थापन र सुरक्षा प्रणाली बलियो बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले चाडपर्वको समयमा यात्रु आगमनलाई सहज बनाउन विमानस्थलको उडान समयावधि बढाउने र उडान सङ्ख्या थपेर यात्रुलाई सहज रूपमा गन्तव्यमा पु¥याउन पहल गरिने बताउनुभयो ।
प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले चाडपर्वलक्षित सुरक्षा योजना बनाएर प्रभावकारी कार्यान्वयन गरिने बताउनुभयो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij