
काठमाडौँ। नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) १२.७ प्रतिशतले बढेर तीन खर्ब ३३ अर्ब रुपियाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानी सर्वेक्षण प्रतिवेदन २०२४/२५ अनुसार विभिन्न ६० देशबाट लगानी भित्रिएको हो।
प्रतिवेदनअनुसार कुल लगानीमा चुक्ता पुँजी ५०.७%, रिजर्भ ३६.७% र ऋण १२.६% रहेको छ। हालसम्म नेपालमा सबैभन्दा धेरै वैदेशिक लगानी भारतबाट (३२.३%) आएको छ। भारतबाट मात्र एक खर्ब ७६ अर्ब रुपियाँ लगानी भित्रिएको छ भने चीनबाट ३४ अर्ब (१०.२%), सिङ्गापुरबाट २७ अर्ब (८.३%), आयरल्यान्डबाट २३ अर्ब (६.९%) र दक्षिण कोरियाबाट २० अर्ब (६.१%) लगानी भित्रिएको छ।
क्षेत्रगत हिसाबले औद्योगिक क्षेत्रले ५९.४% हिस्सा ओगटेको छ। यसमा विद्युत्, ग्यास, वाफ र एयर कन्डिसनिङ २९.५% र उत्पादन (म्यानुफ्याक्चरिङ) २९.३% छ। सेवा क्षेत्रको हिस्सा ४०.५% छ, जसमा वित्तीय तथा बिमा २४.४%, सूचना–सञ्चार ८.१% र आवास–खाद्य सेवा ६.५% रहेका छन्।
प्रतिवेदनअनुसार २०२४ जुलाईसम्म नेपालका एफडिआई कम्पनीहरूले प्रत्यक्ष लगानीकर्ताबाट ५९.९ अर्ब रुपियाँ बराबरको वैदेशिक ऋण लिएका छन्। यसमध्ये जलविद्युत् क्षेत्रमा मात्रै ३४.७ अर्ब रुपियाँ ऋण रहेको छ। उत्पादनमूलक कम्पनीहरूले आफ्नो क्षमता ४७.५% मात्र प्रयोग गरेका छन् भने २०२३/२४ मा तिनीहरूको नाफा दर १०.७% रहेको छ।
उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ६५ अर्ब प्रतिबद्धता आउँदा १२ अर्ब १ करोड भित्रिएको थियो भने २०८०/८१ मा ६९ अर्ब ८३ करोड प्रतिबद्धता आउँदा ८ अर्ब ४७ करोड मात्र भित्रिएको थियो। विभागका शाखा प्रमुख प्रशान्त बोहोराका अनुसार नीतिगत सुधार र कानुनी संशोधनका कारण पछिल्लो आवमा लगानी बढेको हो।
नेपालले वैदेशिक लगानीलाई सन् १९८०/८१ देखि छैटौँ पञ्चवर्षीय योजनासँगै प्राथमिकतामा ल्याएको थियो। हालसम्म उद्योग विभागमार्फत ७,३३६ परियोजनाबाट ६ खर्ब ७५ अर्ब ५२ करोड रुपियाँ प्रतिबद्धता आएको भए पनि वास्तविक लगानी प्रतिबद्धताभन्दा कम मात्र भित्रिने तथ्याङ्कले देखाएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij