
काठमाडौँ । दुई महिनादेखि अवरुद्ध रहेको अरनिको राजमार्गको कोदारी खण्ड सडक दुई दिनभित्र खुलाउन निर्देशन दिइएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारी समेत सम्हालेका कुलमान घिसिङले दुई महिनादेखि अवरुद्ध रहेको अरनिको राजमार्गको कोदारी खण्ड सडक दुई दिनभित्र खुलाउन निर्देशन दिएका हुन् ।
सडक विभागका महानिर्देशक डा. विजय जैशीलाई आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गरी सडक दुई दिनभित्र खुलाउन मन्त्री घिसिङले निर्देशन दिए । उनले महानिर्देशक जैशीलाई फिल्डमा खटेर भएपनि सडक खुलाउन निर्देशन दिएका हुन् ।विभागका उपमहानिर्देशक प्रभातकुमार झाले जानकारी सार्वजनिक गरे अनुसार मन्त्री घिसिङले स्थानीयसँग आफूले कुरा गरेको भन्दै सडक चाँडो खुलाउनका लागि निर्देशन दिएका छन् । निर्देशक जैशी आफै जाने भएका छन् ।
कोदारी क्षेत्रका स्थानीयका तर्फबाट भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले सडक दीर्घकालीनरुपमा संचालन हुने गरी बनाउन ध्यानाकर्षण पत्र बुझाएलगत्तै मन्त्री घिसिङले यस्तो निर्देशन दिए । सडक डिभिजन कार्यालय चरिकोटका इन्जिनियर सुरज महर्जनले जनाए अनुसार कोदारीमा २५० मिटर सडकमा पहिरोको समस्या छ। त्यसमध्ये मुख्य समस्या भएको सडक ३५ देखि ४० मिटर मात्रै रहेको छ ।
कोदारी क्षेत्रको सडक अवरुद्ध भएको दुई महिना भित्र बडो मुस्किलले २५ दिन मात्र सडक खुलेको जनाइएको छ। कोदारी खण्ड अवरुद्ध हुँदा तातोपानी नाका बन्द छ। व्यवसायीले दसैंका लागि मगाएका सामान चीनतर्फ अड्किएर राजधानी ल्याउन नसकेका हुन् ।व्यवसायीहरुका अनुसार उनीहरुले दसैंका लागि मगाएका सामान बोकेका १३०० भन्दा धेरै ट्रक र ४०० भन्दा धेरै कन्टेनर खासामा रोकिएका छन्।
३५ मिटरको बाटो नबन्दा ९०० किलोमिटर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । कोदारीमा ३५ मिटर बाटो बनाउन नसक्दा व्यवसायीले सामान ल्याउनका लागि ९०० किलोमिटर लामो बाटो प्रयोग गर्नुपरेको हो ।चीनसँगको मुख्य व्यापारिक नाका दुई देशलाई जोड्ने पुल बगेका कारण असार २४ देखि बन्द छ भने अर्को नाका तातोपानी पनि कोदारी क्षेत्रको सडकमा पहिरोका कारण साउनदेखि नै बन्द रहेको छ।
दुई नाका बन्द भएपछि सरकारले विकल्पका रुपमा गत साताबाट कोरला नाका सञ्चालनमा ल्याएको छ। व्यवसायीहरुले बाध्य भएर अहिले कोरला नाकाबाट सामान ल्याउन थालेका छन्।कोरोला नाका हुँदै सामान ल्याउन व्यवसायीलाई सहज छैन। कोरोला नाका हुँदै सामान ल्याउन चीनतर्फको बाटो राम्रो भए पनि नेपालतर्फको बाटोमा सवारी साधन चलाउन सजिलो भने छैन् ।
चीनको न्यालम पोर्टबाट कोरोला नाका करिब ९०० किलोमिटरको दूरीमा छ। जबकि केरुङ र तातोपानी नाका नजिकै पर्छन्। व्यवसायीहरुका अनुसार न्यालमबाट कोरोला नाकासम्म सामान ल्याउन कम्तीमा ३ दिनको समय लाग्छ। कोरलाबाट काठमाडौं ल्याउन सजिलो छैन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठले कोदारी क्षेत्रको सडक नबन्दा व्यवसायीहरुले सामान ल्याउन धेरै कठिनाइ भएकोमा चिन्ता व्यक्त गरे ।अध्यक्ष श्रेष्ठका अनुसार रसुवातर्फ पुल बगेर नाका बन्द भएको दुई महिना नाघ्यो। सरकार चीनको मुख ताकेर बस्यो। आफ्नो तर्फबाट केही काम गरेन। तातोपानीतर्फ जाबो ३५ मिटर सडक बनाउन सकेको छैन। कोदारीमा स्थानीय जनप्रतिनिधिको एउटा र सरकारको अर्को कुराले बाटो बनाउने काममा प्रगति हुन सकेन। त्यसको मार व्यवसायीलाई परेको छ । कतिपयले भरियालाई बोकाएर सामान ल्याइरहेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij