काठमाडौं । अमेरिकाले नयाँ सरकारबाट अमेरिकी सहयोगका परियोजनाबारे अन्तरिम सरकारबाट थप प्रतिबद्धता खोजेको छ । यस विषयमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्पसनले भेटवार्ता गरेका छन् ।सोमबार राजदूत थम्पसन अर्थमन्त्रालयमा मन्त्री खनालसँग भेटवार्ता गरेका हुन् ।
भेटमा अर्थमन्त्री खनालले नेपालको वर्तमान राजनीतिक र सामाजिक परिस्थितिबारे जानकारी दिँदै सरकारको प्राथमिकता निर्वाचन समयमै सम्पन्न गर्ने, पुन:निर्माण योजना कार्यान्वयन गर्ने र सहुलियत प्याकेजमार्फत निजी क्षेत्रको मनोबल उच्च राख्न रहेको बताए ।
अमेरिकी राजदूत थम्पसनले हालैका घटनामा ज्यान गुमाउने परिवारप्रति समवेदना व्यक्त गर्दै अमेरिकी सरकार नेपालका पक्षमा रहेको उल्लेख गरे । साथै एमसीसीको सहयोगमा सञ्चालित परियोजनाहरू समयमै सम्पन्न गर्न सरकारको थप प्रतिबद्धता आवश्यक रहेको जानकारी दिए ।
अर्थमन्त्री खनालले यी परियोजनाको सफल कार्यान्वयनमा ढिलाइ नहुने विश्वास दिलाउँदै अमेरिकी सरकारको निरन्तर सहयोगको उच्च सराहना व्यक्त गरे र भविष्यमा पनि सहयोग निरन्तर रहने अपेक्षा व्यक्त गरे ।
भेटमा अर्थसचिव घनश्याम उपाध्याय, वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्मा, परराष्ट्र मन्त्रालयका पदाधिकारी तथा अमेरिकी राजदूतावासका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij