काठमाडौँ । चालु आवको पहिला दुई महिनामा आयात १६ प्रतिशत र निर्यात ८८ प्रतिशतले बढेको देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा साढे ३ खर्ब रुपैयाँ बढीको वैदेशिक व्यापार हुँदा आयात निर्यातको यस्तो अवस्था देखिएको हो ।
भन्सार विभागका अनुसार भदौ मसान्तसम्म ३ खर्ब ५२ अर्ब ४७ करोड २७ लाख ६१ हजार बराबरको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आव सोही अवधिको तुलनामा २२.५४ प्रतिशत बढी हो । गत आव भदौसम्म २ खर्ब ८७ अर्ब ६३ करोड बराबरको वैदेशिक व्यापार भएको थियो ।
दुई महिनामा वस्तु आयात ३ खर्ब बढीको भएको छ । भदौसम्म ३ खर्ब ५ अर्ब १५ करोड बराबरको वस्तु आयात भएको भन्सार प्रतिवेदनमा देखिन्छ । जुन अघिल्लो आवको तुलनामा १६.२३ प्रतिशत बढी हो । अघिल्लो आव २ खर्ब ६२ अर्ब ५४ करोड बराबर वस्तु आयात भएको थियो ।
दुई महिनामा निर्यात भने ८८.५७ प्रतिशतले वृद्धि भएको छ । भदौसम्म ४७ अर्ब ३१ करोडको वस्तु निर्यात भएको छ । अघिल्लो वर्ष भदौसम्म २५ अर्ब ९ करोडको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ ।
दुई महिनाको तथ्यांक हेर्दा व्यापार घाटा २ खर्ब ५७ अर्ब ८३ करोड रुपैयाँ छ । कुल वैदेशिक व्यापार २२.५४ प्रतिशत बढ्दा पनि व्यापार घाटा भने ८.५९ प्रतिशत मात्र बढेको छ ।
कुल वैदेशिक व्यापारमा आयात हिस्सा ८६.५८ प्रतिशत छ । जुन अघिल्लो आवको तुलनामा ५.१५ प्रतिशत घटी हो । निर्यात हिस्सा १३.४२ प्रतिशत छ । जुन अघिल्लो आवको तुलनामा ५३.८८ प्रतिशतले बढी भएको देखिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij