काठमाडौँ । अन्तरिम सरकारले विभिन्न २० वटा आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको सूचीमा समावेश गरेको छ । मन्त्रिपरिषद् बैठकले देशभर निर्माणाधीन अवस्थामा रहेका २० वटा आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको सूचीमा राखेको हो ।
समावेश गरिएका आयोजनाहरूमा औद्योगिक ग्राम, आद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह, पेट्रोलियम पाइप लाइन तथा निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजना छन् ।
सरकारले राजपत्रमा सूचना जारी गरी यसबारे जनाए अनुसार औद्योगिक ग्राम अन्तर्गत बराह क्षेत्र औद्योगिक ग्राम, सुनसरी, जोरायल औद्योगिक ग्राम डोटीलाई प्राथमिकतामा प्राप्त आयोजनाका रुपमा सामेल छन् ।
सोही गरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अन्तर्गतका दमक औद्योगिक क्षेत्र, मयपुर औद्योगिक क्षेत्र, शक्तिखोर औद्योगिक क्षेत्र, लक्ष्मीपुर औद्योगिक क्षेत्र, मोतिपुर औद्योगिक क्षेत्र, नौवस्ता औद्योगिक क्षेत्र र दैजी औद्योगिक क्षेत्रलाई सो सूचीमा सामेल गरिएको छ ।विशेष आर्थिक क्षेत्र प्राधिकरण अन्तर्गतका आयोजनामा पाँचखाल विशेष आर्थिक क्षेत्र र हरैया विशेष आर्थिक क्षेत्र सामेल गरिएका छन् ।
यस्तै दोधारा चाँदनी सुक्खा बन्दरगाह, भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्मको पेट्रोलियम पाइप लाइन तथा ग्रिन फिल्ड टर्मिनल निर्माण आयोजना र अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार तथा ग्रिन फिल्ड टर्मिनल निर्माण आयोजनालाई पनि सामेल गरिएको छ । निजी क्षेत्रबाट सञ्चालित सत्यवती दर्शन प्रालि सानो पाथिभरा केबलकार, सिक्लेश अन्नपूर्ण केबलकार प्रालि, ड्रिम्स हिल्स प्रालि, सुपा देवराली केबलकार र सूर्यकुण्ड गोसाईकुण्ड केबलकार प्रालिलाई राष्ट्रिय प्राथमिकता प्राप्त सूचीमा सामेल गरिएको छ ।
सरकारले विस्तृत आयोजना प्रतिवेदन तयार भएको, स्रोत लगानी सुनिश्चित भएको, चालु आवधिक योजनाले राष्ट्रिय प्राथमिकता निर्धारण गरेको क्षेत्रभित्र परेको, आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न भएको र सम्बन्धित मन्त्रालयको सचिवस्तरीय निर्णय भएको आयोजनालाई यो सूचीमा राख्ने व्यवस्था गरेको छ । यस्ता आयोजनाका लागि बैंकले पनि सहजै ऋण लगानी गर्ने गरेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij