Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

नेपालका लागि चिनियाँ राजदूतले मन्त्री घिसिङसँग भेटेर चीन सहयोग गर्ने विश्वास दिलाए

नेपालका लागि चिनियाँ राजदूतले मन्त्री घिसिङसँग भेटेर चीन सहयोग गर्ने विश्वास दिलाए

  • काठमाडौँ  । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङसँग बुधबार सिंहदरबारमा भेटवार्ता गरेका छन् । 

    भेटमा राजदूत सोङले नवनियुक्त मन्त्री घिसिङलाई बधाई दिँदै चीनबाट सहयोग हुने विश्वास दिलाएका हुन् । नेपाल–चीनबीचको सडक तथा विद्युत् प्रसारण लाइन कनेक्टिभिटी, निर्माण व्यवसायीमार्फत सञ्चालन भइरहेका आयोजनाको प्रगति, ऊर्जा क्षेत्रमा सहकार्य, चिनियाँ सहयोगमा सञ्चालित आयोजनाको अवस्था र लगानीलगायतका विषयमा सोङले मन्त्री घिसिङसँग छलफल गरेका हुन् । 

    मन्त्री घिसिङले काठमाडौं–कोदारी (अरनिको) र स्याप्रुबेंसी–रसुवागढी सडकलाई नेपाल–चीन जोड्ने महत्वपूर्ण र संवेदनशील मार्गका रूपमा राजदूत सोङसमक्ष प्रस्तुत गरे ।  पहिरो र कमजोर भौगोलिक अवस्थाका कारण जोखिम बढेकाले चिनियाँ प्रविधि प्रयोग गरी स्थायी समाधानका लागि सहयोग गर्न मन्त्री घिसिङले राजदूत सोङलाई आग्रह गरे ।

    काठमाडौँ उपत्यका चक्रपथ विस्तारअन्तर्गत कलङ्की–बसुन्धरा खण्डको काम तत्काल सुरु गर्न र अरुण नदी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाका लागि किमाथाङ्काबाट अर्को अन्तरदेशीय प्रसारण लाइन अगाडि बढाउन आग्रह गर्दै मन्त्री घिसिङले चिनियाँ कम्पनीले ठेक्का लिएका कमला–कञ्चनपुर आयोजनाको निर्माण असन्तोषजनक रहेको जनाए । साथै उनले नारायणघाट–बुटवल र मुग्लिन–पोखरा सडक विस्तारलाई गतिशील बनाउन सहयोग गर्न आग्रह गरे । 

    राजदूत सोङले नेपालका प्राथमिकता प्राप्त क्षेत्रमा सहयोग गर्न चीन सँधै तयार रहेको जनाएका थिए । त्यस भेटवार्ताका बेला  मन्त्रालयका सचिव केशवकुमार शर्मा, विभागीय प्रमुख सुशीलबाबु ढकाल, सडक विभागका महानिर्देशक विजय जैशी, परराष्ट्र मन्त्रालयका उपसचिव मनहरी दङ्गाललगायतको सहभागिता थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij