
काठमाडौँ । वास्तविक बिल बीजकको आधारमा भन्सार लिने प्रणाली सुरु गरिएको छ ।सन्दर्भ मूल्यका आधारमा लिँदै गरिएको भन्सार लिने प्रणाली सरकारले परिवर्तन गरेको हो ।अर्थमन्त्री तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनालले बुधबार विराटनगर गएर अनलाइन मूल्यांकन डेटाबेस सुरुवात गरेपछि वास्तविक बिल बीजकको आधारमा भन्सार लिने प्रणालीले औपचारिकता पाएको छ ।
विराटनगरबाट यो डेटाबेस कार्यान्वयनमा ल्याउने र त्यहाँको अनुभवका आधारमा देशका सबै भन्सारमा क्रमशः लागु गर्दै जाने योजना रहेको भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले जानकारी सार्वजनिक गरेका हुन् । अनलाइन भ्यालुएसन डेटाबेस प्रणाली भनेको आयातित वस्तुको भन्सार मूल्य घोषणा सम्बन्धी तथ्यांक संकलन, स्टोर र विश्लेषण गर्ने प्रणाली हो । यो प्रणालीले भन्सार कार्यालयलाई त्यस्ता वस्तुको कम मूल्यांकन हुने जोखिम घटाउन सहयोग गर्ने विश्वास गरिएको छ ।
अनलाइन भ्यालुएसन डेटाबेस संसारभरि नै भन्सार क्लियरेन्समा प्रयोग भएको प्रणाली हो । प्रयोग हुँदै आएको प्रणाली आशिकुडा प्रणालीमा आबद्ध हुने र यसले कुनै पनि वस्तुको ९० दिनको मूल्य गणना गरी आयातित वस्तुको वास्तविक मूल्य देखाउने जनाइएको छ ।
जनाइए अनुसार आयातकर्ताले वस्तु आयात गर्दा आफूले तिरेको मूल्य घोषणा ठिक हो कि होइन भन्ने यकिन अनलाइन भ्यालुएसन डेटाबेसले गर्छ । अनलाइन भ्यालुएसन डेटाबेस लागु भएपछि अहिलेको सन्दर्भ मूल्य प्रणाली क्रमिकरूपमा खारेज हुँदै जाने छ । यो प्रणालीबाट अन्तर्राष्ट्रिय बजारमा कुनै वस्तुको भन्सार मूल्य जान्न पाउने सुविधा प्राप्त हुनेछ । यसबाट भन्सारमा यथार्थ मूल्य जानकारीमा आई न्यून तथा अधिक बिजकीकरणको समस्या हल हुन गई यसले आयातकर्ता तथा भन्सार अधिकृत दुवैलाई सहज हुने विश्वास लिइएको छ ।
भन्सारमा २०६४ सालदेखि नै सन्दर्भ मूल्यको चलन भए पनि २०७५ मा ‘भन्सार मूल्यांकन निर्देशिका’ मार्फत यसलाई तत्कालीन अर्थमन्त्री युवराज खतिवडाको पहलमा अनिवार्य हुने गरी लागु गरिएको थियो । सन्दर्भ मूल्य लागु गरेदेखि नै व्यवसायीले यो खारेज हुनुपर्ने माग राख्दै आएका थिए । नयाँ अनलाइन डेटाबेस प्रणाली लागु गरेपछि त्यसले आयातकर्ताको मनोबल बढाउने पनि विश्वास गरिएको छ । चालु आर्थिक वर्षको बजेटमा समेत सन्दर्भ मूल्य हटाएर यथार्थ मूल्यांकन प्रणाली सुरु गर्ने व्यवस्था गरिएको छ ।विगतदेखि नै सरकारले सन्दर्भ मूल्य हटाएर यथार्थ मूल्यांकनका आधारमा भन्सार लिने प्रणाली लागु गर्न खोजे पनि अर्थमन्त्री खनाल बने लगत्तै यसलाई तीव्रता दिएको छ।
राम्रा आयातकर्तालाई छानेर विश्वासिला व्यापारीको (ट्रस्टेड ट्रेडर) सूची पनि बनाउन लागिएको छ । भन्सार विभागका महानिर्देशक भण्डारीले जनाए अनुसार सरकारको तिर्न बुझाउन बाँकी नभएको, समयमै राजस्व दाखिला गरेको लगायत सूचकका आधारमा ट्रस्टेड ट्रेडरको सूची बन्छ । यस्तो सूचीमा पर्ने व्यवसायीलाई आयात गर्दा भन्सारमा सहज बनाइनुका साथै अन्य सुविधा पनि दिइने जनाइएको छ । यस्तो व्यवसायीको सूचीमा पर्नेले अन्तर्राष्ट्रिय पहिचान पनि पाउने जनाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij