काठमाडौँ । युवाहरूको नाम मतदाता सूचीमा संकलन गर्न अध्यादेश जारी गरिएको छ ।निर्वाचन आयोगले जनाए अनुसार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जारी गरिएको अध्यादेश सोही प्रयोजनले ल्याइएको हो ।
राष्ट्रपति पौडेलले मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेपछि मतदाता नामावली संकलनको बाटो खुला भएको हो ।निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा मतदाता नामावलीमा नाम लेखाउन पाइँदैन ।जेनजी युवा आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले ताजा जनादेशका लागि आगामी फागुन २१ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।
मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ को २ मा भएको व्यवस्था संशोधनका लागि अध्यादेश ल्याइएको हो ।उक्त दफामा ‘निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन’ भन्ने उल्लेख व्यवस्था परिवर्तन गरिएको छ ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जनाए अनुसार अध्यादेश जारी भएपछि कानुन बमोजिम मतदान गर्न योग्यता पुगेकाहरुको नामावली संकलनको लागि बाटो खुलेको छ । त्यसका लागि निर्वाचन आयोगले आवश्यक निर्णय गर्ने छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij