Logo

Oct 16 2025 | २०८२, असोज ३०गते

Oct 16 2025 | २०८२, असोज ३०गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् असोज २९ बुधबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् असोज २९ बुधबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असोज २९ बुधबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू....

    जलविद्युत् आयोजनाको विद्युत् खरिदको प्रतिस्पर्धी दर तय गरौँः मन्त्री घिसिङ

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए)को प्रतिस्पर्धी दर तय गर्न विद्युत् नियमन आयोगलाई आग्रह गर्नुभएको छ ।

     

     

    आयोगको गत आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन आज बुझ्दै मन्त्री घिसिङले जलविद्युत् आयोजनाबाट उत्पादित ऊर्जालाई थप सर्वसुलभ, प्रतिस्पर्धी र पारदर्शी बनाउन प्रतिस्पर्धी आधार दर तय गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । आयोगका अध्यक्ष रामप्रसाद धितालले प्रतिवेदन मन्त्री घिसिङसमक्ष पेस गर्नुभएको थियो ।

    एमाले केन्द्रीय कमिटी बैठकः ५० जना केन्द्रीय सदस्यको सुझाव प्रस्तुत

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठकको पहिलो दिनको बैठक सम्पन्न भएको छ । 

     

     

    ललितपुर, जावलाखेलको भनिमण्डलस्थित रामबाघ महलमा आजदेखि सुरु केन्द्रीय कमिटी बैठकमा पहिलो दिन ५० जना केन्द्रीय सदस्यले धारणा राख्नुभएको एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । 

     

    उहाँले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बैठकमा प्रस्तुत गर्नुभएको राजनीतिक परिस्थिति र हाम्रो नीतिसम्बन्धी प्रतिवेदनमाथि केन्द्रीय सदस्यले सुझाव राख्नुभएको बताउनुभयो ।

    शेयर निष्काशनमा ढिलाइ तत्काल हटाउन सरकारसँग इप्पानको आग्रह

    काठमाडौँ ।स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले धितोपत्र बोर्डद्वारा जलविद्युत् कम्पनीको आइपिओ र हकप्रद शेयर निष्काशनमा भएको ढिलाइले निजी क्षेत्रका लगानीकर्ता निरुत्साहित भएको उल्लेख गर्र्दै तत्काल समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।

     

    आज यहाँ आयोजित पत्रकार सम्मेलनमा इप्पानले विगत २८ महिनादेखि धितोपत्र बोर्डले जलविद्युत् कम्पनीका शेयर निष्काशनमा गरेको ढिलाइले ऊर्जा क्षेत्रको विकासमा गम्भीर असर परेको दाबीसमेत गरेको छ । 

     

    इप्पानका अध्यक्ष गणेश कार्कीले हालसम्म ९७५ मेगावाट बराबरका कूल ४३ कम्पनीको आइपिओ र सात वटा कम्पनीको हकप्रद शेयर निष्काशन गरी कूल रु २३ अर्ब २७ करोड आठ लाख बराबरको धितोपत्र निष्काशन हुन नसकेको बताउनुभयो । “आइपिओ र हकप्रद शेयर निष्कासन नहुँदा ऊर्जा क्षेत्रले रु एक खर्ब आठ अर्ब ५० करोड गुमाउनुपरेको छ । समयमै जारी नभएको कारण रु १२ अर्ब ४० करोड ५४ लाख ब्याज रकम बढेको छ भने रु २४ अर्ब ३० करोड ६७ लाख लागत बढेको छ । साथै, रु ७१ अर्ब ७८ करोड ८१ लाख राजस्व आम्दानी गुमेको छ”, उहाँले भन्नुभयो ।

    एनआईसी एशिया बैंकका ग्राहकहरूलाई  एशियन बुद्ध होटलमा १५ प्रतिशत छुट

    काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरूलार्ई  एशियन बुद्ध होटलमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले सिद्धार्थनगर, रुपन्देहीमा रहेको उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।  ग्राहकहरुले उक्त होटलमा कुनै पनि सेवा लिई डिजिटल भुक्तानी गर्दा उक्त छुट सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ ।   
    यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक  एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त होटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधा प्राप्त हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुन राज खनियाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    राजस्वद्वारा भोटेबहालको म्याक्स लाइटिङ इन्टरप्राइजेजमा छापा मारी कागजात नियन्त्रणमा

    काठमाडौँ । आन्तरिक राजस्वको टोलीले  काठमाडौंको भोटेबहालमा रहेको म्याक्स लाइटिङ इन्टरप्राइजेजमा राजस्व छलीको आशंकामा  छापा मारेको छ । आन्तरिक राजस्व कार्यालय न्युरोडले म्याक्समा बुधबार छापा मारी कागजात नियन्त्रणमा लिएको हो ।
    स्रोतका अनुसार म्याक्स लाइटिङ इन्टरप्राइजेजले कर छली गरेको उजुरी परेको र आन्तरिक छानबिनमा कैफियत पाइएपछि करदाताको फर्ममै गएर कागजात नियन्त्रणमा लिइएको हो ।  भोटेबहालमा रहेको म्याक्स लाइटिङ इन्टरप्राइजेजको कार्यालयमा छापा मारी कागजात र खाता नियन्त्रणमा लिएको हो ।

    अठारौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ सुरु

    पाटन (ललितपुर)। १८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ ललितपुरमा सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि सुरु भएको प्रदर्शनी कात्तिक २ गतेसम्म सञ्चालन हुने जानकारी गराइएको छ । प्रदर्शनीको उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर गोविन्दप्रसाद शर्माले नेपालको पुष्प व्यवसायको विकास, विस्तर र प्रवर्द्धनका लागि व्यवसायीहरूले उठाएको मुद्दा सम्बोधनका लागि नीतिगत विषयमा सहजीकरण गर्ने बताउनुभयो । “पुष्प व्यवसायको विकास र प्रवर्द्धनमा निजी क्षेत्रको मेहनतले आफ्नै प्रयासमा भए गरेको काम सराहनीय छ, पुष्प व्यवसायमा विश्वमा आएको परिवर्तन र अभ्यासलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ, गुणस्तरीय स्वनियमनलाई उद्यमीहरूले ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

    मन्त्री घिसिङसँग नेपालका लागि जर्मनीका राजदूतको भेट

    काठमाडौँ।ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा राजदूत भोल्जले मन्त्री घिसिङलाई जर्मनीका तर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । सो अवसरमा जर्मनी–नेपालबीचको आर्थिक सहकार्य, जर्मनीको सहायतामा सञ्चालित सौर्य, लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन आयोजना, ऊर्जा रूपान्तरणका लागि सहायताका सम्भावित क्षेत्रलगायतका विषयमा छलफल भएको थियो । मन्त्री घिसिङले जर्मनीले नेपाललाई पुर्‍याउँदै आएको सहायता बढाउन आग्रह गर्नुभयो । नेपाल र जर्मनीबीच आर्थिक सहायतामा लामो समयदेखि सहकार्य हुँदै आएको उल्लेख गर्दै राजदूतसँगको भेटमा मन्त्री घिसिङले जर्मनीको सहायतामा निर्माण भएका मध्यमर्स्याङ्दी र मस्र्याङ्दी जलविद्युत् आयोजना नेपालको ऊर्जा क्षेत्रमा लाइफ लाइन रहेको बताउनुभयो ।

    शेयर बजार : नेप्से परिसूचक २२.५८ अंकले घटेर २,५०५.५८ बिन्दुमा, ३ अर्ब १० करोड रुपैयाँको कारोबार

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार २२.५८ अङ्कले घटेर २,५०५.५८ बिन्दुमा बन्द भएको छ। यससँगै बजारमा ०.८९ प्रतिशतको गिरावट आएको छ।

     

    नेप्सेका अनुसार आज दिनभरमा करिब ३ अर्ब १० करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने ७६ लाख ११ हजार ६६० कित्ता सेयर खरिदबिक्री भएका छन्।

    आजको कारोबारमा ३१८ कम्पनीका सेयर कारोबार भएका छन्। तीमध्ये २०६ कम्पनीका सेयर मूल्य घटेका, ४० कम्पनीका सेयर मूल्य बढेका र ५ कम्पनीका सेयर मूल्य स्थिर रहेका छन्।

    चिनियाँ कम्पनीले २१अर्ब बराबरको ५० दरको नयाँ नोट छाप्ने पायो ठेक्का

    ठमाडौँ । चिनियाँ कम्पनीले  २१ अर्ब बराबरको ५० दरको नोट छाप्ने ठेक्का पाएको छ । नेपाल राष्ट्र बैंकले ५० दरका नयाँ नोट छाप्न चिनियाँ कम्पनीलाई  छनोट गरको हो ।चाइना बैंक नोट प्रिटिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई नयाँ नोट छाप्न  छनोट गरिएको छ। राष्ट्र बैंकले ४२ करोड थान नोट छाप्नका लागि बोलकबोल मार्फत उक्त कम्पनीलाई छनोट गरेको छ।

    तिहारमा लोडसेडिङ हुन नदिन विद्युत् प्राधिकरणको तयारी

    काठमाडौँ । तिहारमा लोडसेडिङ नहुने ढुक्कसँग जति मनलागे बत्ती बालेर तिहार मनाउन सकिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।तिहारमा लोडसेडिङले उज्यालोको पर्वमा खल्लो नपार्ने विश्वास समेत प्राधिकरणले दिलाएको हो ।

     

    प्राधिकरणका प्रवक्ता राजन ढकालले जनाए  अनुसार पहिले–पहिले तिहारमा लक्ष्मी पूजाको दिन अधिकतम लोड हुने गरेको आम बुझाइ   थियो । तर तिहारमा उद्योगधन्दा बन्द हुने र कामदारहरू घर जाने भएकाले औद्योगिक क्षेत्रको विद्युत खपत घट्ने गरेको थियो ।

    ऊर्जा उत्पादकहरूको समस्या समाधान गर्न सरकारलाई फेरि आग्रह गर्ने इप्पानको निर्णय

    काठमाडौँ । निशुल्क शेयरको मागले उत्पन्न समस्याको समाधानबारे ऊर्जा उत्पादकहरूको संस्था इप्पानले  चिन्ता व्यक्त गर्दै सरकार र सम्बन्धित निकायलाई सम्बोधनका लागि आग्रह गर्ने निर्णय गरेको छ ।इप्पानले एक पत्रकार सम्मेलनको आयोजना गरी बुधबार यस्तो यस्तो जनाएको हो ।

    कामपा-२६ मा ‘डिजिटल ठेगाना प्रणाली’ शुभारम्भ

    काठमाडौँ।काठमाडौँ महानगरपालिका-२६ ले ‘नियर फिल्ड कम्युनिकेसन’ (एनएफसी) प्रविधिमा आधारित ‘डिजिटल ठेगाना प्रणाली’को शुभारम्भ गरेको छ । कामपा-२६ ले आफ्नो वडालाई प्रविधिमैत्री बनाउने उद्देश्यले आजदेखि उक्त प्रविधिमा आधारित ‘डिजिटल ठेगाना प्रणाली’को शुभारम्भ गरेको हो । उक्त प्रविधिको शुभारम्भ गर्दै काठमाडौँ महानगरपालिका-२६ का वडाध्यक्ष एवं महानगरपालिका सुशासन समितिका संयोजक ख्यामराज तिवारीले यो प्रणाली जडान गरेसँगै वडाभित्रका सबै घरको विस्तृत विवरण थाहा पाउन सकिने बताउनुभयो । वडाध्यक्ष तिवारीले आज लैनचौरस्थित वडा कार्यालयमा डिजिटल नम्बर ‘०९ लक्ष द्रव्य ६१११’ कोड सहितको विवरण समावेश गरिएको सूचनापाटी (नम्बरप्लेट) जडान गर्नुभएको छ ।

    एनआईसी एशिया बैंकका ग्राहकहरुलाई  अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा १५ प्रतिशतसम्म छुट

    काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा उक्त होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले नवलपुरमा रहेको उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न  सक्ने जनाइएको छ ।यस बैंकका ग्राहक महानुभावहरुले उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा आवास सेवामा १५ प्रतिशत र खानामा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्ने छन् ।

    सुनको मूल्य बढेको बढ्यौ , बुधबार सुन तोलाको २ लाख ४८ हजार ९०० रुपैयाँ  कायम

    काठमाडौँ ।  बुधबार सुन तोलाको २ लाख ४८ हजार ९०० रुपैयाँ  कायम भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार बढेर तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको हो । 

     

    यस्तै छापावाल सुन १० ग्रामको २ लाख १३ हजार ३९० रुपैयाँ कायम भएको छ ।

    आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ ।
     
    यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ १६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०७ पैसा कायम गरिएको छ ।
     
    अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ५० पैसा र बिक्रीदर ९१ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७९ पैसा र बिक्रीदर १०१ रुपैयाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४२ पैसा तोकिएको छ ।

    काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आजदेखि राहदानी सेवा

    काठमाडौँ ।जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि  राहदानी आवेदनसम्बन्धी सेवा सुरु गर्न लागेको जनाएको छ ।

     

     

    जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना प्रकाशित गरी राहदानी आवेदनसम्बन्धी सेवा आज बिहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म दुई सिफ्टमा सञ्चालन हुने जनाएको हो ।  सीमित आवेदन स्टेशनबाट सुरु गर्न लागिएको सो सेवाका लागि आवेदन गर्न साँझ ५ः०० बजे अनलाइन स्लट खुल्नेछ ।

    महानगर र उपमहानगरभित्र घरजग्गाको कम्पनीमार्फत कारोबार गर्दा अनुमति लिनुपर्ने

    काठमाडौँ ।सरकारले रु तीन करोड मूल्यभन्दा माथिको घरजग्गा कारोबार कम्पनीमार्फत गर्दा अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । घरजग्गा कारोबारका लागि सीमा निर्धारण गर्दै सरकारले कम्पनी दर्ता र जग्गाको क्षेत्रफल जतिसुकै भएपनि हुने व्यवस्था गरेको हो ।

     

     

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत ऐन, २०३४ को दफा २६ ९क० र ९ख०को प्रयोजनका लागि नेपाल राजपत्रमा सूचना प्रकाशित गरेको छ । घरजग्गा कारोबार गर्ने क्षेत्रका रुपमा हाल छ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिका तोकेको छ ।

     
    विदेश पढ्न जानेले एक महिनामै लगे रु ३२ अर्ब ७६ करोड

    काठमाडौँ ।उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो मात्रामा रकम विदेशिएको पाइएको छ ।

     


    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो महिनाको आर्थिक विवरणअनुसार, भदौमा मात्रै विदेश जाने विद्यार्थीले रु ३२ अर्ब ७६ करोड लगेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम रु २८ अर्ब २० करोड थियो । 

     


    समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय नौ दशमलव छ  प्रतिशतले वृद्धि भई रु ४७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु ४३ अर्ब १८ करोड रहेको थियो ।

    मुस्ताङमा यस वर्ष रु एक अर्बभन्दा बढीको स्याउ उत्पादन

    मुस्ताङ।   मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्ष सात हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएकामा यस वर्ष सात हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन भएको छ।  

     

    गत वर्ष रु ९१ करोड ८६ लाख ७२ हजार बराबरको स्याउ बिक्री भएकामा यस वर्ष रु एक अर्ब १० करोड बराबरको स्याउ उत्पादन भएको केन्द्रले जनाएको छ।  कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्राविधिकहरुको स्थानीय किसानको फरक÷फरक बगैँचा अनुगमन तथा स्याउको क्रप कटिङसम्बन्धी स्थानीय तहका कृषि शाखा र यहाँका किसानका आधारमा स्याउको उत्पादन निकालिएको केन्द्रका प्रमुख राजेश गुरुङले बताए। 

    लगानीकर्तामैत्री सुधार लागू गर्दै सेबोन : अब एउटै नाममा धेरै डिम्याट खाता खोल्न सकिने

    काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजी बजारमा आम लगानीकर्ताको विश्वास र मनोबल वृद्धि गर्न प्रणालीगत तथा प्रक्रियागत सुधारका सुझाव तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ।

     

    बोर्डले पुँजी बजार सुधारसम्बन्धी अध्ययन प्रतिवेदनमा समावेश सुझावहरू कार्यान्वयनका लागि मंसिर १५ गतेभित्रको कार्यतालिका तयार पारेको जनाएको छ।

    कात्तिक मसान्तभित्र धितोपत्र दलाल व्यवसायीमार्फत मार्जिन कारोबार प्रणाली र सिडिएस एण्ड क्लियरिङ्गद्वारा प्रदान गरिने आइएसआईएन नम्बरमा एकरूपता ल्याउन मापदण्ड लागू गरिनेछ। साथै, कात्तिक १५ गतेभित्र लगानीकर्ताले दुई वा सोभन्दा बढी डिम्याट खाता खोल्न सक्ने व्यवस्था कार्यान्वयन गरिने भएको छ।

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij