
काठमाडौँ । मृत्यु भइसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरेर ७३ लाख रुपैयाँ अनियमितता गरेको अभियोगमा वडाध्यक्षसहितका आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीमा जानकी गाउँपालिका–९ को वडा कार्यालयले छ सय ८३ जना लाभग्राहीको आफैंले औंठा छाप लगाएर सामाजिक सुरक्षा भत्ता निकासा गरेर अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको हो ।
अख्तियारले जानकी गाउँपालिका–९ का वडाध्यक्ष खकेन्द्र भण्डारी समेतका आठ जनालाई प्रतिवादी बनाइएको भ्रष्टाचार मुद्दामा ७३ लाख ३७ हजार ६२७ रुपैयाँ बिगो माग दाबी गरेको छ ।
अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा जनाए अनुसार वडाध्यक्ष भण्डारी, वडा सचिव प्रेमबहादुर बुढा र कार्यालय सहयोगी सोनम कठरिया समेतको योजनामा मृत्यु समेत भइसकेका लाभग्राहीको प्रत्येक वर्ष नवीकरण गराएर, नवीकरण नभएकाहरुको हकमा समेत आफैं औंठा छाप लगाएर सामाजिक सुरक्षा भत्ता वितरण गरेर अनियमितता गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij