
काठमाडौँ । पोखरा विश्वविद्यालयले ललितपुरको च्यासलस्थित श्रमिक शान्ति क्याम्पसलाई अंगीकरण गरेको छ ।त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त सामुदायिक क्याम्पसलाई पोखरा विश्वविद्यालयले पूर्ण रूपमा आफ्नो आङ्गिक क्याम्पसको रूपमा गाभेको जनाएको हो ।
शुक्रवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन प्रा. बुद्धिराज जोशीले काठमाडौँमा पहिलो आङ्गिक क्याम्पसको रूपमा श्रमिक शान्ति क्याम्पसलाई लिएको बताए ।उनले त्रिभुवन विश्व विद्यालयको समेत स्वीकृतिमा उक्त क्याम्पसमा पोखरा विश्वविद्यालयको नयाँ शैक्षिक कार्यक्रमहरू सुरु गर्न लागेको बताए ।
यो शैक्षिक सत्रबाट तीन वटा नयाँ र रोजगारमूलक कार्यक्रमहरू सञ्चालन गर्न लागेका जनाइयो । जसमा नयाँ र व्यवहारिक शिक्षाको लागि कृत्रिम बुद्धिमत्ता र डेटा विज्ञानमा स्नातक, कला स्नातक र विधान कानुन स्नातक र कम्प्युटर प्रणाली तथा सूचना प्रविधिमा स्नातक कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य लिएर एआई, डेटा साइन्स र कानुन जस्ता विषयहरूको शिक्षा सञ्चालन गर्न लागिएको उनले जनाए ।
पत्रकार सम्मेलनमा विश्वविद्यालय आइटी शाखाका दिपान्जल श्रेष्ठले पछिल्लो टेक्नोलोजीको विकाससँगै आएको परिवर्तनलाई हेरेर त्यही खालका जनशक्ति उत्पादन गर्ने हिसाबले पहिलो पटक एआई कोषमा शैक्षिक कार्यक्रम ल्याइएको जनाए ।उनका अनुसार डाटा विज्ञानको विषयमा ठुलो जनशक्ति माग भएकाले उक्त आवश्यकतालाई हेरेर नयाँ कोष सञ्चालनमा ल्याउन लागेको छ ।अबको विश्व एआई र टेक्नोलोजीको भएको र अहिलेको पुस्ताले त्यसलाई क्यास गर्नु पर्ने भएकाले विश्व विद्यालयले नयाँ ढङ्गले कार्यक्रम ल्याएको उनको दाबी थियो ।
तीन वटा कार्यक्रममा विश्वविद्यालयले ८० प्रतिशत सिटमा शुल्क तिरेर पढ्ने र २० प्रतिशत सिटमा छात्रवृत्तिको व्यवस्था गरेको छ । छात्रवृत्तिका लागि सरकारी तथा सामुदायिक विद्यालयबाट ६ देखि १० कक्षासम्म अध्ययन गरेका विद्यार्थीहरूलाई पहिलो प्राथमिकता दिइने जनाइएको छ ।
कुल छात्रवृत्ति कोटाभित्र पनि द्वन्द्वपीडित, विपन्न, जनजाति, मधेसी र पिछडिएका वर्गका लागि सिट आरक्षण गरिएको छ । विद्यार्थीलाई सर्वसुलभ रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले शुल्कलाई न्यूनतम राखिएको विश्वविद्यालयले जनाएको छ ।
चार वर्षे कोषमा एआई डेटा विज्ञान अध्ययनको लागि ४ लाख ९८हजार, बीए एलएलबी कोष अध्ययनको लागि ४ लाख ३० हजार र कम्प्युटर प्रणाली तथा सूचना प्रविधि कोष अध्ययनको लागि ४ लाख ९२ हजार रुपैयाँ शुल्क विश्वविद्यालयले तोकेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij