काठमाडौं । छठ पर्वको मुख्य दिन सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै देशभर भव्य रूपमा पूजाआराधना गरिएको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो महान् पर्व अन्तर्गत भक्तजनले काठमाडौंको गुह्येश्वरी गौरीघाट, कमलपोखरी, वागमती, नख्खु र विष्णुमती नदी किनारलगायत देशका विभिन्न जलाशयहरूमा सामूहिक रूपमा पूजाआराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेका हुन्।
छठका व्रतालुहरूले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान अपनाउँदै शुद्ध जीवनशैलीमा बस्ने परम्परा अनुसरण गर्छन्। धार्मिक ग्रन्थ महाभारत अनुसार द्रौपदीसहित पाँच पाण्डवले अज्ञातवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको उल्लेख पाइन्छ, जसै समयदेखि छठ पर्व मनाउने परम्पराको सुरुआत भएको विश्वास गरिन्छ। त्यस्तै, सूर्य पुराण अनुसार अत्रिमुनिकी पत्नी अनुसूयाले पहिलोपटक छठ व्रत गरी अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेकी थिइन्, भन्ने किम्वदन्ती प्रसिद्ध छ।
जनविश्वास अनुसार छठ व्रत गर्दा दुःख, दरिद्रता र संकटबाट मुक्ति मिल्ने तथा सूर्यदेव प्रसन्न भई व्रतालुका सन्तान र परिवारको कल्याण हुने विश्वास गरिन्छ। षष्ठीका रातभर जाग्राम बस्ने परम्परापछि सप्तमीका बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि पर्वको समापन गरिन्छ। यसरी श्रद्धा, शुद्धता र आस्थासँग मनाइने छठ पर्वले सामाजिक एकता र धार्मिक सौहार्दको सन्देश प्रसारित गरेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij