काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा हल्का देखि मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको जनाएको छ। सोमबार दिउँसो जारी सूचना अनुसार मिति २०८२ साल कात्तिक १० गते रातीदेखि १२ गते बिहानसम्म यी प्रदेशहरूका साथै अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही भागमा वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको हो।
महाशाखाले विशेष गरी गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू(भागमा एक–दुई स्थानमा भारी हिमपात हुने सम्भावना रहेको उल्लेख गरेको छ। यसले दैनिक जीवन, पर्वतारोहण, कृषि र पर्यटन गतिविधिमा असर पार्न सक्ने भएकाले महाशाखाले सर्वसाधारण, यात्रु र सम्बन्धित निकायहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
यस्तै, महाशाखाले मौसम परिवर्तनका कारण यातायात, सडक तथा हवाई सेवा प्रभावित हुने सम्भावना भएकाले यात्राको योजना गर्दा पूर्वतयारीसहित सुरक्षित ढंगले अघि बढ्न सुझाव दिएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij