Logo

Nov 01 2025 | २०८२, कात्तिक १५गते

Nov 01 2025 | २०८२, कात्तिक १५गते

images

तिहारपछि नेप्सेमा उत्साहजनक वृद्धि, परिसूचक करिब ४ प्रतिशतले उक्लियो

तिहारपछि नेप्सेमा उत्साहजनक वृद्धि, परिसूचक करिब ४ प्रतिशतले उक्लियो

  • काठमाडौं । तिहारपछिको पहिलो साता नेप्से परिसूचकमा उल्लेखनीय वृद्धि भएको छ। तिहारअघि २५०३.८५ विन्दुमा बन्द भएको नेप्से सूचक यस साता ३.८६ प्रतिशत अर्थात ९६.५३ अंकले बढेर २६००.३८ विन्दुमा पुगेको छ।

    यस साता चार कारोबार दिन बजार खुलेको थियो, जसमा तीन दिन नेप्से बढेको र एक दिन घटेको देखिएको छ। सेन्सेटिभ इण्डेक्स १५.२१ अंक, फ्लोट इण्डेक्स ६.६७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.६६ अंकले उक्लिएका छन्।

    नेप्सेसँगै कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ। तिहार अघिको अन्तिम कारोबार दिन २ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएको बजारमा यस साता दैनिक औसत ५ अर्ब ५ करोड रुपैयाँको शेयर किनबेच भएको छ। यस साता दैनिक औसत शेयर संख्या १११.१० प्रतिशत र कारोबार संख्या ५५.३७ प्रतिशतले बढेको छ।

    कुल बजार पूँजीकरण पनि करिब ४ प्रतिशतले बढ्दै ४३ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो साता ४१ खर्ब ८५ अर्ब रुपैयाँ थियो।

    उपसमूहगत विश्लेषणमा १२ उपसमूहको परिसूचक बढेको र एक उपसमूह स्थिर रहेको देखिन्छ। जलविद्युत उपसमूहले सबैभन्दा उच्च वृद्धि ६.३४ प्रतिशत गरेको छ। अंकका हिसाबले जीवन बीमा उपसमूहको परिसूचक ६६८.२३ अंकले बढेको छ भने म्युचुअल फण्ड उपसमूह स्थिर रहेको छ।

    यस साता एनएलजी इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडका बोनस शेयरहरू नेप्सेमा सूचीकृत भएका छन्, जसको संख्या ५६ लाख २५ हजार ६६४ कित्ता छ।

    व्यक्तिगत कम्पनीहरूको हिसाबमा राधी विद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक २०.०३ प्रतिशतले बढेर ७६७ रुपैयाँ पुगेको छ। त्यसपछि खानी खोला जलविद्युत १९ प्रतिशतभन्दा बढी र बुटवल पावर कम्पनी १७ प्रतिशतभन्दा बढीले बढेका छन्।
    विपरीत, तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य ९.५५ प्रतिशतले घटेको छ भने भगवती हाइड्रोपावरको मूल्य साढे ८ प्रतिशतले घटेको छ।

    फ्लोरसिट विश्लेषण अनुसार नेपाल दूरसञ्चार कम्पनी, शुभम पावर कम्पनी र स्वाभिमान लघुवित्त ‘मोस्ट पपुलर बाइ स्टक’ सूचीमा रहेका छन्। त्यस्तै, मानुषी लघुवित्त, सुपर माइ हाइड्रोपावर र समृद्धि फाइनान्स ‘मोस्ट पपुलर सेल स्टक’ सूचीमा परेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij