काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज कात्तिक १७ सोमबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू..
एमालेको महाधिवेशनमा ४० वर्षमुनिका युवालाई प्रतिनिधि बनाइने
काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा ४० वर्षमुनिका युवालाई प्रतिनिधि बनाइने भएको छ ।
देशभरबाट करिब दुई हजार एक सय जना प्रतिनिधि सहभागी हुने महाधिवेशनमा ४० वर्षमुनिका युवा पनि प्रतिनिधिका रुपमा सहभागी हुने भएका हुन् ।
एमाले केन्द्रीय सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट चार जना प्रतिनिधि चयन हुनेमा एक जना अनिवार्य भनिएको छ । जसमा दुई जना खुला, एक जना महिला र एक जना ४० वर्षमुनिका युवा गरेर चार जना प्रतिनिधि छनोट हुनेछन् ।
कार्यवाहक राष्ट्रपति यादव र जर्मन राजदूत भोल्जबीच शिष्टाचार भेट
काठमाडौँ। कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत उदो युगेन भोल्जले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटका अवसरमा दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहयोग, विकास साझेदारी, लगानी, व्यापार तथा पर्यटन प्रवर्द्धनलगायतका विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । कार्यवाहक राष्ट्रपति यादवले नेपाल र जर्मनीबीच सन् १९५८ मा दौत्य सम्बन्ध स्थापना भएयता कायम रहेको आपसी विश्वास र सहयोगप्रति सन्तोष व्यक्त गर्नुभएको थियो । उहाँले उच्चस्तरीय भ्रमण, विकास साझेदारी, जनस्तरको सम्बन्ध, लगानी तथा पर्यटन क्षेत्रलाई दुई देशबीचको सम्बन्धका आधारस्तम्भका रूपमा उल्लेख गर्नुभयो । जेनजी आन्दोलनपछि नेपालको लोकतान्त्रिक यात्राले नयाँ गति लिएको उल्लेख गर्दै कार्यवाहक राष्ट्रपति यादवले उत्तरदायी, जवाफदेही र भ्रष्टाचारमुक्त शासनप्रति जनआकाङ्क्षा राष्ट्रिय एजेण्डाका रूपमा स्थापित भएको बताउनुभयो । उहाँले आगामी ५ मार्च २०२६ मा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने सरकारको प्राथमिकताबारे समेत जानकारी दिनुभयो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले मौद्रिक तथा वित्तीय क्षेत्रका अन्तरदेशीय सरोकारका विषयमा समाधानका लागि नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंक बीचको संयुक्त समन्वय संयन्त्र प्रभावकारी रूपमा कार्यरत रहेको बताएका छन्।जेटीसीसीको नवौं बैठकलाई सम्बोधन गर्दै गभर्नर पौडेलले मौद्रिक नीति, विदेशी विनिमय व्यवस्थापन, नियमन, सुपरिवेक्षण र भुक्तानी प्रणालीमा उत्कृष्ट अभ्यासको आदानप्रदानका साथै प्राविधिक क्षमता अभिवृद्धि र नीति तर्जुमाको प्रभावकारिता बढाउन यस संयन्त्रले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।
भदौ २३ र २४ का प्रदर्शनमा मृत्यु भएकामध्ये ४५ जनालाई सहिद घोषणा गर्ने सरकारी निर्णय
काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते देशभर भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। सरकारी तथ्यांक अनुसार ती दुई दिनको आन्दोलनका क्रममा ७२ जनाको मृत्यु भएको थियो। सहिद घोषणा गरिएका व्यक्तिका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउने विषयमा पनि सरकार छलफलमा रहेको बताइएको छ।
दोलखाको यलुङरी हिमालमा हिमपहिरो : एक विदेशी र दुई नेपालीको मृत्यु , आठ बेपत्ता
दोलखा ।गौरीशङ्कर गाउँपालिका–९ स्थित गौरीशङ्कर तथा रोल्वालिङ हिमशृङ्खलाअन्तर्गत आरोहणका लागि गएका विदेशीसहित स्वदेशी पथप्रदर्शक रोल्वालिङ क्षेत्रमा रहेको यलुङरी हिमालको आधारशिविर नजिकै आज बिहान हिमपहिरोमा परेका छन् । हिमपहिरोमा परेर एक विदेशीसहित दुई नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आरोहणका लागि गएका १५ विदेशीसहित स्वदेशी पथप्रदर्शकको समूह आज बिहान ९ः०० बजेतिर यलुङरी नजिकै हिमपहिरोमा परेको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिनुभयो । उनीहरूको अवस्था अझै एकिन हुनसकेको छैन ।
डेडिकेटेड र ट्रङ्कलाइन विवाद : एक किस्तालाई विवादित रकम मान्नुपर्ने प्रस्ताव
काठमाडौँ।लामो समयदेखि सुल्झिन नसकेको डेडिकेटेड फिडर र ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता विवाद सुल्झाउनका लागि नेपाल उद्योग वाणिज्य महासङ्घले मध्यमार्गी प्रस्ताव गरेको छ । उक्त विवादबारे आज प्रधानमन्त्री सुशीला कार्कीले अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिल सिन्हा, मुख्य सचिव एकनारायण अर्याल, विभिन्न मन्त्रालयका सचिवहरू र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालसँग छलफल गर्नुभएको थियो ।
प्रधानमन्त्री कार्कीको निर्देशन : सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नुस्
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न र सार्वजनिक कोषको प्रभावकारी एवं नतिजामूलक उपयोग गर्न निर्देशन दिनुभएको छ । उहाँले नयाँ पुस्ताले सुम्पेको समृद्धि, विकास, सुशासन, समानता र भ्रष्टाचारविहीन शासकीय प्रबन्धको सुनिश्चितता गर्न निर्देशन दिनुभएको हो । वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्यप्रगतिको विवरण दिन आज आयोजित मन्त्री र सचिवहरूको बैठकमा प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावनाबमोजिम नतिजामुखी हुन मातहतका निकायलाई निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ । “भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र प्रभावकारी सेवा प्रवाहका उल्लेख्य सुधार भएको सबै नागरिकले प्रत्यक्ष अनुभूति गर्नेगरी सबै मन्त्रालयहरूले ‘ब्लुप्रिन्ट’ तयार गरी कार्यान्वयन गर्नुहोस्”, प्रधानमन्त्री कार्कीले भन्नुभयो, “निजी क्षेत्रको मनोबल वृद्धि गरी औद्योगिक वातावरणमा सुधार गर्न आवश्यक संवाद, सहजीकरण र सहकार्य गर्नुहोस् ।”
एमालेले मंसिर २७ गते काठमाडौंमा विशाल जनसभा गर्ने, महासचिव पोखरेलको दाबी — ‘यो नेपालको इतिहासकै सबैभन्दा ठूलो हुनेछ’
काठमाडौँ । नेकपा ९एमाले० का महासचिव शंकर पोखरेलले पार्टीले आगामी मंसिर २७ गते काठमाडौंमा विशाल जनसभा आयोजना गर्ने घोषणा गरेका छन्। सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले सो जनसभा नेपालको इतिहासकै सबैभन्दा ठूलो सभा हुने दाबी गरेका हुन्।
नेपाल प्रहरीमा नयाँ नेतृत्वः पाँच एसएसपी डीआईजीमा बढुवा
काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीमा व्यापक प्रशासनिक रूपान्तरण गर्दै पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवा गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको मन्त्रिस्तरीय निर्णय अनुसार भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्लेलाई डीआईजीमा पदोन्नति गरिएको हो।
एन्ड्र्यु–एपस्टिन प्रकरणमा बेलायती शाही परिवारप्रति ‘नराम्रो’ महसुस भएको राष्ट्रपति ट्रम्पको अभिव्यक्ति
एयर फोर्स वन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतका राजा चाल्र्स तृतीयका भाइ पूर्व राजकुमार एन्ड्र्यु र दिवङ्गत यौन अपराधी जेफ्री एपस्टिनबीचको अपमानजनक सम्बन्ध प्रकरणप्रति दुःख प्रकट गर्नुभएको छ । उहाँले उक्त घटनाका कारण बेलायती शाही परिवारप्रति ‘नराम्रो महसुस’ भएको बताउनुभयो ।
दक्षिणी भारतमा सडक दुर्घटनाः ट्रक बसमा ठोक्किँदा कम्तीमा २० जनाको मृत्यु, दर्जनौँ घाइते
हैदराबाद ।दक्षिणी भारतको तेलङ्गाना राज्यमा सोमबार बिहान भएको एक भीषण सडक दुर्घटनामा कम्तीमा २० जनाको मृत्यु भएको र करिब दुई दर्जन व्यक्ति घाइते भएको पुष्टि भएको छ । कङ्क्रिट ढुङ्गा बोकेको ट्रक यात्रुबसमा ठोक्किँदा यो दुःखद घटना भएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।
माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर नेप्सेमा सूचीकृत, भोलीदेखि नियमित कारोबार शुरु
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमबार माबिलुङ्ग इनर्जी लिमिटेड (MABEL) को शेयर सूचीकृत गरेको छ। यसअन्तर्गत कम्पनीका ३८ लाख ५८ हजार २४० कित्ता शेयर नेप्सेमा सूचीकृत भएका छन्।
आईपीओ बाँडफाँट भएको करिब साढे दुई महिनापछि कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको हो। माबिलुङ्ग इनर्जीको आईपीओ गत भदौ ८ गते बाँडफाँट गरिएको थियो। सूचीकृत शेयरमध्ये १८ लाख ९० हजार ५३० कित्ता सर्वसाधारण लगानीकर्ताका लागि र १९ लाख ६७ हजार ७१० कित्ता संस्थापक शेयरधनीका लागि रहेको नेप्सेले जनाएको छ।
निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त
काठमाडौँ ।निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकमा निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ । आयोगको कार्यालयमा आज राष्ट्रिय समाचार समिति (रासस) को व्यवस्थापन र राससकर्मीसँग आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका सन्दर्भमा छलफल गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले विकट क्षेत्रका हरेक पेसाका नागरिकसम्मलाई सही सूचना दिएर निर्वाचनको महत्त्व र आवश्यकताबारे प्रचारप्रसार गर्न आग्रह गर्नुभयो ।
स्रोत नखुलेको २८ लाख बढी नगदसहित दुई भारतीय पक्राउ
धनगढी । प्रहरीले कैलालीमा स्रोत नखुलेको २८ लाख रुपैयाँ नगद सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरी जनाए अनुसार पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी पलिया बस्ने बर्ष २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्ता रहेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई धनगढी उप–महानगरपालिका–३ स्थित मिलनचोकबाट नियन्त्रणमा लिएको हो ।
सुनको मूल्य सोमबार स्थिर भई प्रतितोला २ लाख ३९ हजार ७ सय कायम
काठमाडौँ । सोमबार सुनको मूल्यमा कुनै बदलाव भएको छैन् । सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँ सोमबार कायम भएको छ । कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनकै मूल्य तय गरेको हो ।
प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार हुने छ । अन्तर्राष्ट्रिय बजारको मूल्यमा सामान्य उतारचढाव रहेपछि यहाँ मूल्य स्थिर रहेको हो । चार दिनमा सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ ।
एनआइसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा शाक्य नियुक्त
काठमाडौं । सुजित कुमार शाक्य एनआइसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा नियुक्त भएका छन्। बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले शाक्यलाई सीइओमा नियुक्त गरेको हो । शाक्य अहिले नबिल बैंकको वरिष्ठ डेपुटी सीइओमा कार्यरत छन ।
वीरगञ्ज नाका हुँदै तीन महिनामा आठ अर्ब ७० करोडका सवारीसाधन भित्रियो
वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा रु आठ अर्ब ७० करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनामा सवारीसाधनको आयातबाट रु सात अर्ब ७७ करोड राजस्व सङ्कलन भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij