Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् कात्तिक १९ बुधबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् कात्तिक १९ बुधबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज कात्तिक १९  बुधबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू...

    महशुल नतिरेका १५ उद्योग अन्धकारमा, प्राधिकरणले लाइन नजोड्ने अडान

    काठमाडौँ । ट्रंक तथा डेडिकेटेड महशुलबापतको अतिरिक्त प्रिमियम शुल्क नतिरेपछि १५ वटा उद्योग अहिले पनि अन्धकारमा परेका छन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार, यसअघि विद्युत् लाइन काटिएका २५ वटामध्ये महशुल बुझाउने १० वटा उद्योगमा मात्र लाइन पुनःजोडिएको हो।

    प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार, महशुलबापतको किस्ता रकम नबुझाउने १५ वटा उद्योगमा हालसम्म पनि विद्युत् लाइन जोडिएको छैन। उनका भनाइमा, किस्ता तिर्न नआएकाले ती उद्योगमा लाइन काटिएकै अवस्थामा रहेको हो।

    गुराँस लघुवित्तको नाफा ४२.५७% ले वृद्धि, खुद ब्याज आम्दानीमा उल्लेखनीय सुधार

    काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सो अवधिमा संस्थाले १ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको १ करोड १ लाख रुपैयाँ नाफाको तुलनामा ४२.५७ प्रतिशतले बढी हो।

    नवगठित नेकपाले पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने, २० प्रतिशत जेनजी सहभागिता सुनिश्चित

    काठमाडौँ ।विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली कम्युनिष्ट पार्टी’ले नेतृत्व विकास र हस्तान्तरणको वैज्ञानिक विधि स्थापित गर्दै पार्टी पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने भएको छ । 

     

     

    आज आयोजित पार्टी एकता घोषणा तथा एकताको राष्ट्रिय सम्मेलनमा प्रस्तुत घोषणापत्रमा पार्टीका सबै कमिटीमा ३५ प्रतिशत महिला, २० प्रतिशत जेनजी नवयुवा तथा युवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुस्लिम समुदायबाट प्रतिनिधित्व गराइने उल्लेख छ ।

    निजी क्षेत्रको अवस्था, लगानीको अवसर र चुनौतीबारे चेम्बर र विश्व बैंकबीच छलफल

    काठमाडौं ।  नेपाल चेम्बर अफ कमर्स र विश्व बैंक समूहबीच नेपालको निजी क्षेत्रको अवस्था, लगानीका अवसर र बर्तमान चुनौतीबारे उच्चस्तरीय छलफल भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा अयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल, पदाधिकारी, विभिन्न समितिका सभापति तथा उद्योगी–व्यवसायीहरु एवं विश्व बैंक समूहका साउथ एसिया लिड इकोनोमिस्ट मर्चिन पियाट्कोस्की नेतृत्वको टोलीले सहभागिता जनाएको थियो ।

    ग्लोबल आइएमई बैंक र नास–आईटीबिच अन्तरक्रिया कार्यक्रम

    काठमाडौँ ।  ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल एशोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) का सदस्यहरुसँग बैंकको कर्जा दायरा विस्तार, नवीन बैंकिङ्ग सेवा तथा व्यवसाय वृद्धिसम्बन्धी विषयहरुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

     

    कार्यक्रममा बैंकले कर्जाका प्रकार, प्रक्रिया र आवश्यकता, आईटी क्षेत्रको लागि बैंकको कर्जा योजनाहरु, बैंकिङ्ग सेवा, डिजिटल/नविनतम बैंकिङ्ग सेवाहरु, बैंकिङ्ग विवरण सुरक्षित राख्ने उपायहरु लगायत विभिन्न विषयमा छलफल गरेको थियो ।

    वैदेशिक विभागद्वारा धरौटी अध्यावधिक गर्नेसम्बन्धी सूचना

    काठमाडौँ। वैदेशिक रोजगार विभागले जेनजी प्रदर्शनका क्रममा भएको आगजनीका कारण जलेर नष्ट भएका धरौटी तथा बैंक ग्यारेन्टी रकमको अभिलेख अद्यावधिक गर्न आवश्यक प्रमाण पठाउन सरोकार भएका सबैलाई सूचना जारी गरेको छ । विभागले गत भदौ २४ गतेको आगजनीमा जलेर नष्ट भएका धरौटी तथा बैंक ग्यारेन्टी रकमको अभिलेख अद्यावधिक गर्न आवश्यक प्रमाण उपलब्ध गराउन वैदेशिक रोजगार व्यवसायी र अन्य संस्थालाई सूचना प्रकाशित गरी ध्यानार्कषण गराएको हो । वैदेशिक रोजगारसम्बन्धी व्यवसाय गर्ने म्यानपावर कम्पनीहरूको शाखा विस्तार, अभिमुखीकरण तालिम सञ्चालन, घरेलु कामदार पठाउने, न्यायिक धरौटीलगायत प्रयोजनका लागि विभागले धरौटी लिँदै आएको छ । उक्त रकम विभागले वैदेशिक रोजगार ऐन तथा नियमावलीबमोजिम मुद्दती खातामा एकमुष्ट रूपमा जम्मा गर्ने गरेको छ ।

    शेयर बजार : नेप्से परिसूचक १२.१७ अंकले बढेर  २६०७. ४२ बिन्दुमा,कारोबार पौने पाँच अर्ब मुनि

    काठमाडौँ । आज बुधबारको नेप्से बजारमा दोहोरो अंकको वृद्धि भई नेप्से  परिसूचक  १२.१७ अंकले बढेर  २६०७. ४२मा पुगेको छ ।

     

    आजको कारोबारमा कुल  ४ अर्ब ६८  करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  ९२ लाख कित्ता शेयरको खरिद बिक्री भएको छ ।

    पुँजीगत खर्चमा भारी गिरावट, साधारण खर्चमा वृद्धि

    काठमाडौँ । चालु आर्थिक वर्ष (आव)मा पुँजीगत खर्चमा बढ्नुको साटो भारी गिरावट देखिएको छ । गत आवको  तुलनामा चालु आवको हालसम्ममा सरकारले गर्नुपर्ने  पुँजीगत खर्च घटेको देखिएको हो ।अर्थ मन्त्रालय मातहतको   महालेखा नियन्त्रक कार्यालयकाअनुसार चालु कार्तिक १८ गते (मङ्गलवार) सम्म २२ अर्ब पुँजीगत खर्च भएको छ । छुट्टाइएको पुँजीगत शीर्षकमा ४ खर्ब ७ अर्ब बजेट विनियोजन मध्ये  २२ अर्ब खर्च भएको छ । गत आवको  सोही अवधिमा ३२ अर्ब ५६ करोड खर्च भइसकेको थियो ।

    पोखरास्थित सहकारीका ८८ करोड रुपैयाँभन्दा धेरै हिनामिनामा संलग्न भएकाहरू पक्राउ

    काठमाडौँ । प्रहरीले  पोखरा बचत तथा ऋण सहकारी संस्थाको ८८ करोड रुपैयाँभन्दा धेरै रकम हिनामिनामा संलग्न भएकाहरूलाई पक्राउ गरेको छ ।  सहकारीको रकम संस्थाका व्यवस्थापकसहित कर्मचारी र पदाधिकारीको गठजोडमा ८८ करोड ७० लाख रुपैयाँ रकम हिनामिना भएको पाइएपछि संलग्न भएको आशंका गरिएकाहरूलाई पक्राउ गरिएको हो । 

     

    पोखरा नयाँबजारमा प्रमुख कार्यालय रहेको सहकारीको रकम अध्यक्ष सुरेन्द्रबहादुर गोदार, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, वर्तमान सुपरभाइज मार्केट प्रमुख वेदीप्रसाद सुवेदी, सचिव दिलबहादुर केसी खत्री, ऋण संयोजकसमेत रहेका कोषाध्यक्ष हिरामणि दाहालसहितको कार्यसमिति, पूर्वपदाधिकारी तथा सञ्चालकले व्यक्तिगत स्वार्थअनुसार रकम हिनामिना गरेको पाइएको जनाइएको छ ।प्रहरी स्रोतले जनाए  अनुसार    उनीहरूसँगै   सञ्चालक समितिका पूर्वसचिव ईन्द्रप्रसाद  र सञ्चालक समिति सदस्य दोर्जे तामाङ पनि पक्राउ परेका छन् ।

    सुनको मूल्य घटेर बुधबार प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ  कायम

    काठमाडौं । सुनको मूल्य घटेर बुधबार प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ  कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ तोकेको हो ।  अघिल्लो दिन २ लाख ३८ हजार ३ सय रुपैयाँ थियो । अघिल्लो दिन पनि सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटेको थियो ।

    नेपाल र भारतबीच सात प्रसारण लाइन निर्माण गर्ने सहमति, १ हजार ५०० मेगावाटसम्म विद्युत निर्यात गर्न सकिने

    काठमाडौं । नेपाल -भारतबीच नेपाल र भारतबीच सात प्रसारण लाइन निर्माण गर्ने सहमति भएको छ । नेपाल-भारतको उर्जा क्षेत्रका सह(सचिव स्तरीय संयुक्त वार्ता टोलीले विभिन्न ७ बुँदे सहमति भएको हो ।  नेपाल-भारत सहसचिव स्तरीय संयुक्त प्राविधिक टोलीको १७औं बैठकले विभिन्न ७ बुँदे सहमति गरेका छन । 
    नेपालबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देव र भारतबाट केन्द्रीय विद्युत प्राधिकरणका प्रमुख इन्जिनियर भगवान सहाय बैरवाको सह-अध्यक्षतामा कात्तिक १७ र १८ गते पोखरामा बैठक सम्पन्न भएको थियो । उक्त बैठकमा दुवै देश बीचको विद्युत आदान(प्रदान, प्रसारण प्रणालीको सुदृढीकरण तथा नयाँ अन्तर्देशीय प्रसारण लाइन निर्माणका विषयमा विस्तृत छलफल भएको थियो  ।

    यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान

    काठमाडौँ ।हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

     

    आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुनेछ ।

     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij